कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अन्तर्राष्ट्रिय व्यापार मेला : भारतीयको मन लोभ्याउँदै नेपाली उत्पादन

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतीय बजारमा नेपाली उत्पादनहरूको बेग्लै पहिचान बनाएर प्रभावकारी प्रवर्द्धन गर्न सकेमा त्यसबाट कहालीलाग्दो व्यापार घाटा कम गर्न सघाउ पुग्ने नेपाली व्यापारीहरूले बताएका छन् । भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा सुरु अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी नेपाली व्यापारीहरूले उत्पादनको पहिचान र पर्याप्त ब्रान्डिङ खाँचो औंल्याए ।

अन्तर्राष्ट्रिय व्यापार मेला : भारतीयको मन लोभ्याउँदै नेपाली उत्पादन

गत वर्ष नेपालले भारतसँगको व्यापारमा ८५५ अर्बको घाटा व्यहोरेको थियो । नेपालको कुल वैदेशिक व्यापारमा भारतको हिस्सा ६५ प्रतिशतको हाराहारीमा छ । विशेषगरी नेपाली उत्पादनहरूमा गुणस्तरको भन्दा पनि पहिचानको समस्या भएको व्यवसायीको भनाइ छ । त्यसका लागि नेपाली उत्पादन भन्ने बित्तिकै चिनिने लोगो वा अन्य तरिकाको प्रवर्द्धन गर्नुपर्नेमा उनीहरूले जोड दिए ।


नेपाली पस्मिनाका उत्पादनलाई मेलामा राखेकी सीता कुशवाहाले भारतीयहरूले नेपाली उत्पादनमा अत्यन्त चासो देखाए पनि ‘चिनियाँ वा अन्य ठाउँबाट ल्याइएको हो’ भनेर आशंक गर्ने गरेको बताइन् । जसले गर्दा नेपाली उत्पादनको प्रवर्द्धनमा कठिनाइ भएको उनको भनाइ छ । ‘चाहे पस्मिना होस् वा अन्य उत्पादन कश्मीरी वा चिनियाँ हो भनेर शंका गर्छन् । धेरैलाई यी नेपालका मौलिक उत्पादन हुन् भन्ने नै विश्वास छैन,’ उनले भनिन् ।


भारतीयले पोतेलगायतका हस्तकलाका सामानहरूमा पनि रुचि देखाउने गरेका छन् । हिमाली क्षेत्रमा उत्पादन हुने कृषि उपजको समेत भारतमा ठूलो बजार छ । तर, क्वारेन्टाइनलगायत समस्याका कारण भारतीय बजारमा प्रवर्द्धनका लागि ल्याउन नसकिएको कुशवाहाले गुनासो गरिन् । ‘हिमाली र पहाडी भेगको चामलको पनि निकै माग छ । त्यस्तै अचार र टिमुरको छोप भनेपछि भारतीयहरू हुरुक्कै हुन्छन् तर क्यारेन्टाइन लगायतका समस्याले ती वस्तुको प्रवर्द्धन गर्न निकै कठिन छ,’ उनले भनिन् ।


केही वर्षअघि देहरादूनमा भएको व्यापार मेलामा नेपाली व्यवसायीहरूले नेपालको उच्च पहाडी भेगमा फल्ने चामल लग्न खोज्दा क्वारेन्टाइनका कारण सम्भव नभएको उनले सुनाइन् । अर्का नेपाली व्यापारी सोमप्रसाद मुडभरीले उद्योग वाणिज्य महासंघ र सरकारले नेपालको मौलिक उत्पादनको बजार विस्तारका लागि छिमेकी देशहरूसँग विशेष समन्वय गर्नुपर्ने बताए । उनले नेपालको खुकुरीको उदाहरण दिँदै भने, ‘खुकुरीको माग अत्यधिक छ तर भारतमा यसलाई हतियारका रूपमा मात्र लिइन्छ, यो त आकर्षक उपहार हो भन्ने बुझाउन सकिएको छैन । त्यसमा सरकारले भारतीय पक्षसँग पनि आवश्यक कुरा गर्नुपर्ने देखिन्छ ।’


मुडभरीले पनि केही वर्षदेखि भारतका विभिन्न ठाउँमा हुने व्यापार मेलाहरूमा भाग लिँदै आएका छन् । नेपाली उत्पादनहरूको प्रवर्द्धन नहुँदा भारतमा अपेक्षाकृत बजार पाउन नसकेको उनको गुनासो छ । ‘यति ठूलो बजार छ, नेपाली उत्पादन भन्ने नै भारतीयहरूले खुट्याउन सक्दैनन्, राम्रोसँग प्रवर्द्धन गर्न सके भारतसँगको व्यापार घाटाको चिन्ता लिनु पर्दैन, त्यसै घटेर जान्छ,’ उनले भने ।


नेपाली उत्पादनको उचित प्रवर्द्धन नहुँदा भारतीयहरूले इन्डोनेसियाको हो भनेर सोध्ने गरेको उनले बताए । प्रवर्द्धन गर्ने सवालमा उद्योग वाणिज्य संघदेखि सरकारसम्मको कमजोरी रहेको उनको बुझाइ छ । ‘मेरो अनुभवमा भारतमा नेपाली उत्पादनले बजार पाउन कुनै समस्या छैन, उचित प्रवर्द्धनको मात्र खाँचो छ,’ उनले भने । नेपाली उत्पादनमा टाढाबाट हेर्ने बित्तिकै प्रस्ट चिनिने मौलिक लोगो हुनुपर्ने उनी सुझाउँछन् । नेपालको रुद्राक्षलगायतको गुणस्तर विश्वमै उत्कृष्ट भए पनि राम्रो प्रवर्द्धन र पहिचान नहुँदा भनेजस्तो बजार विस्तार हुन नसकेको व्यवसायीहरू बताउँछन् । ‘नेपाली वस्तुको गुणस्तर नै चिनाउन गाह्रो छ, त्यसमा राज्यको सहयोगबिना सम्भव छैन,’ मुडभरीले भने ।


पहिलो पटक मेलामा सहभागी हुन ललितपुरबाट दिल्ली आएकी लजिना श्रेष्ठले बजार प्रवर्द्धनका लागि ढाकाका उत्पादनहरू ल्याएकी छन् । ढाकाबारे पनि भारतीयहरू अनभिज्ञ रहेको उनले पाइन् । हातले बुनेको भनिए पनि त्यस किसिमका उत्पादन भारतमै पाइने भएकाले त्यति धेरै चासो नदेखाएको हुन सक्ने उनले बताइन् । त्यसैले श्रेष्ठ नेपाली उत्पादनको ब्रान्ड प्रवर्द्धनको आवश्यकता देख्छिन् । ‘धेरेजसोले मन पराए पनि नेपालीभन्दा पनि मणिपुरलगायतका उत्तरपूर्वी क्षेत्रको हो भनेर सोध्ने गरेका छन्, नेपाली वस्तुहरूको अलग पहिचान निर्माण गर्न निकै मेहनत गर्नुपर्ने देखिन्छ,’ उनले भनिन् ।


व्यवसायीहरूले भनेजस्तो नेपाली उत्पादनलाई ब्रान्डिङको आवश्यकता रहेकामा व्यापार प्रवर्द्धन केन्द्रका निर्देशक सुयश खनाल पनि सहमत देखिन्छन् । व्यापार मेलामै भेटिएका उनले भने, ‘नेपाली उत्पादनप्रति भारतीयहरूको निकै रुचि रहेको पाइयो, अब ब्रान्डिङको भने खाँचो देखिन्छ ।’ खनालका अनुसार भारतमा ‘मेड इन इन्डिया’ भनेर ब्रान्डिङ गरिए जस्तै नेपाली उत्पादनहरूको पनि त्यसैअनुसार प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ । ‘राम्रोसँग नेपाली उत्पादनको ब्रान्डिङ गर्न सकेमा बजारको कुनै चिन्ता रहेनछ, किनकि नेपाली उत्पादनहरूप्रति भारतीयहरूको निकै चासो रहेको पाएँ,’ उनले भने । १४ नोभेम्बरदेखि सुरु भएको अन्तर्राष्ट्रिय व्यापार मेला २७ नोभेम्बरसम्म चल्नेछ ।

प्रकाशित : मंसिर ४, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?