कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डिजेल बोकेको ट्यांकर ‘गायब’

काठमाडौँ — अमलेखगन्ज डिपोबाट डिजेल भरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० हजार लिटर डिजल भरेर विराटनगरतर्फ जाँदै गरेको ना४ख ४१६३ नम्बरको ट्यांकर गायब भएको हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार ढुवानीकर्ताले निगमलाई ट्यांकर अपहरणमा परेको जानकारी गराएका छन् ।

‘हिजो चालक र सहचालकको हात बाँधेर ट्यांकर लगेको जानकारी पाएका छौं । चालक/सहचालक सम्पर्कमा भए पनि ट्यांकर बेपत्ता नै छ,’ पौडेलले भने, ‘ट्यांकर खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।’


निगमका अनुसार ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ‘अपहरण’ मा परेको लिखित जानकारी निगमलाई मंगलबार बिहान १० बजे गराएका थिए । अपहरणकारीहरूले चालक रामदेव यादव र सहचालक उमेश यादवलाई छाडेर ट्यांकर लगेको ढुवानीकर्ता गुप्ताको दाबी छ । उक्त ट्यांकर आइतबार राति लाहान पुगेको र विश्राम गर्नका लागि राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेको जनाइएको छ ।


गुप्ताका अनुसार चालक र सहचालकहरूलाई ६ देखि ८ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले आँखामा पट्टी बाँधेर बर्दिबास र लालबन्दीको बीचमा पर्ने जंगलमा पुर्‍याएर छाडेको र ट्यांकर भने उनीहरूले आफैंसँग लगेका छन् । ‘सोमबारदेखि नै खोजी कार्य जारी छ । अहिलेसम्म फेला परेको छैन,’ उनले भने, ‘२/३ वटा टोली बनाएर खोजी कार्य जारी छ ।’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले पनि ढुवानीकर्ताले ट्यांकर गायब भएको कुरा निगमलाई जानकारी गराएको बताए । उक्त डिजेल बिक्री गर्दा करिब साढे १९ लाख रुपैयाँ पर्छ । डिजेल निगमको भएकाले ढुवानीकर्ताले क्षतिपूर्ति व्यर्होनुपर्ने निगमका प्रादेशिक प्रमुख इन्जिनियर अशोक साहले बताए ।


‘निगमको तेल भएकाले डिपोसम्म पुर्‍याउने दायित्व ढुवानीकर्ताको हुन्छ । बीच बाटोमा केही भए क्षतिपूर्ति ढुवानीकर्ताले नै व्यर्होनुपर्छ,’ साहले भने, ‘ट्यांकर फेला परेपछि डिजेलको परिमाणअनुसार क्षतिपूर्ति दिनुपर्छ ।’ उनले ट्यांकर खोजीका लागि जिल्ला प्रशासन कार्यालय सिरहालाई पत्रचार गरेको उनले बताए ।


पेट्रोलियम डिलर्स एसोसिएनका अनुसार करिब ७ वर्षअघि पनि इन्धन बोकेको ट्यांकर हराएको थियो । त्यतिबेला १२ किलोलिटर इन्धन बोकेको ट्यांकर हराएको थियो । अमलेखगन्जबाट काठमाडौं आउनुपर्ने ट्यांकर बर्दिबास पुगेको थियो । ‘ट्यांकर अपहरण परेको भनिए पनि तेल पम्पमा बिक्री भइरहेको फेला परेको थियो,’ एसोसिएनका एक अधिकारीले भने, ‘यस्तो घटना कम हुन्छ । चालक र पम्पको पनि मिलेमतो हुन सक्छ । त्यसैले सत्यतथ्य खोजी हुन आवश्यक हुन्छ ।’


आयल निमगले डिजेल लोड भएको ट्यांकर अपहरणकारीले लगेको भन्नेबारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ ।

प्रकाशित : मंसिर ४, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?