१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

किवी खेती विस्तार

डम्बरसिं राई

(खोटाङ) — जिल्लाका किसानले किवी खेती विस्तार गर्न थालेका छन् । केपिलासगढी, दिक्तेल रूपाकोट मझुवागढी र साकेला गाउँपालिकाका किसानले बहुगुणी र महँगो किवी फलको खेती विस्तार गरेका हुन् ।

किवी खेती विस्तार

रोपेको करिब तीनदेखि ५०–६० वर्षसम्मै किबीबाट आम्दानी लिन सकिने भएकाले खेती विस्तारमा लागेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान शुभचन्द्र राईले बताए । ‘यति लामो अवधिसम्म आम्दानी दिने भएपछि किवी खेतीमा लागियो,’ उनले भने । राईले मूलडाँडामा करिब ३८ रोपनी जग्गामा किवी लगाएका छन् । यो वर्ष करिब चार हजार केजी उत्पादन गरे । प्रतिकेजी दुई सय ५० रुपैयाँका दरले बिक्री गर्दा दस लाख रुपैयाँ आम्दानी गरेको उनले सुनाए ।


गत वर्ष पनि राईले १७ सय केजी किवी बिक्री गरेका थिए । त्यो बेला चार लाख २५ हजार रुपैयाँ आम्दानी गरेका राईले किवी काठमाडौं, धरान, विराटनगर, इटहरी, दिक्तेललगायतका बजारमा बिक्री हुने गरेको जनाए । यसबाहेक कोसेलीको रूपमा पठाउने चलनसमेत बढेको छ । राईले बिरुवासमेत उत्पादन गर्छन् । किवीको बिरुवाबाट मात्र वार्षिक तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेको उनले बताए । राईको किवी फर्ममा कृषि विषयमा अध्ययनरत विद्यार्थीले ओजेटी कोर्ससमेत गर्छन् । उनले दुई जनालाई स्थायी रूपमा रोजगारी दिएका छन् । यसबाहेक सरस्वती माविका चार जना ओजेटीका विद्यार्थीसमेत फर्ममा कार्यरत छन् ।


यस्तै केपिलासगढी गाउँपालिका–१ फेदीका किसान धनकुमार राईले पनि किवी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । उनले यो वर्ष मात्र किवीबाट साढे चार लाख आम्दानी गरे । उनका अनुसार १५ सय केजीको प्रतिकेजी तीन सयका दरले साढे चार लाख आम्दानी गरेका हुन् । उत्पादित किवी केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलाबजार, दिक्तेल, धरान, विराटनगर, काठमाडौं लगायतका सहरमा बिक्री गर्छन् ।


राईले २०६८ सालदेखि किवी खेती सुरु गरेका हुन् । दोलखाको चरिकोटबाट एक सय बोट बिरुवा ल्याएर खेती सुरु गरेका थिए । फाप्लु र कीर्तिपुरको बागवानी केन्द्रमा तालिम लिएर किवी खेती सुरु गरेका थिए । अहिले २० रोपनी जग्गामा किवी गरिरहेका छन् । उनले पनि किवीका बिरुवा उत्पादनबाट राम्रो आम्दानी गरिरहेका छन् । हेवार्ड र रेड किवीको बिरुवाबाट प्रतिवर्ष २६ लाख रुपैयाँ आम्दानी गरेको राईले बताए । ‘गत वर्ष २६ लाख आम्दानी भयो,’ उनले भने, ‘अब यो वर्षको पुस, माघसम्म २६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छु ।’


दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका किसानले पनि किवी खेती सुरु गरेका छन् । जालपाभीरकुनाका भीमबहादुर राई, रामबहादुर राई, लमर्खुका पवन गुरुङलगायतले किवी खेती सुरु गरेका हुन् । यस्तै नेर्पा, दोर्पा, खार्मी, पाथेकालगायत गाउँका किसानले पनि किवी खेती सुरु गरेको जानकारी दिए ।


साकेला गाउँपालिकाले किवी खेती गर्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ । व्यावसायिक किवी खेतीका लागि कृषि समूह बनाएको गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । उक्त पालिकाको वडा १ च्यानडाँडा, २ रतन्छा, ३ खिदीमा व्यावसायिक किवी खेती सुरु गरिएको हो । यसका लागि गाउँपालिकाले थाक्रा व्यवस्थापनका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको डाँडागाउँ बोफुल, छितापोखरी, सप्तेश्वरछितापोखरी, टेम्मालगायत गाउँका किसानले पनि किवी खेती सुरु गरेका छन् । कृषि ज्ञानकेन्द्र खोटाङका प्रमुख दिनेशप्रसाद यादवले किवी खेती गर्ने किसान धेरै भए पनि विवरण भने बल्ल लिन सुरु गरिएको बताए ।

प्रकाशित : मंसिर ३, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?