२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री- एले थाल्यो व्यवसायिक उत्पादन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर उद्घाटन गरेलगत्तै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली-थ्री एले व्यवसायिक उत्पादन थालेको छ । यसअघि नै आयोजनाको दुवै यूनिटबाट परीक्षण उत्पादन सूचारु थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको पहिलो यूनिटबाट जेठ ३ र दोस्रो यूनिटबाट साउन १७ गते परीक्षण उत्पादन सुरु भएको थियो ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री- एले थाल्यो व्यवसायिक उत्पादन

आयोजनाबाट वार्षिक रुपमा करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ । आयोजना वर्षको साढे आठ महिना पूर्ण क्षमतामा चल्ने छ । त्यस्तै, हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ । आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करिब ७ प्रतिशतको योगदान दिने छ । काठमाडौंको लोड सेन्टरबाट नजिक र हिउँमा समेत ४५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने भएकाले आयोजनाले विद्युत् माग व्यवस्थापनमा सघाउ पुर्‍याउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।


आयोजनाको उद्घाटनको लागि अर्थमन्त्री युवराज खतिवडा, ऊर्जा मन्त्री वर्षमान पुनसहितका पदाधिकारीहरु नुवकोट पुगेका छन् । प्रधानमन्त्री ओली आयोजनास्थलमै पुगेर उद्घाटन गर्ने योजना भए पनि स्वास्थ्य स्थितिका कारण स्वीच थिचेर उद्घाटन गरिएको हो ।


२०७१ जेठमा सक्ने भनि ठेक्का २०६७ मा सम्झौता गरिएको आयोजना विभिन्न विवादका कारण तोकिएभन्दा ५ वर्ष ढिला गरी सकिएको हो । आयोजनाको कूल लागत निर्माण अवधिको व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँ लागत भएको प्राधिकरणले जनाएको छ । चीनको सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण गरिएको हो । आयोजनाको लागि चिनियाँ एक्जिम बैंकले १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण दिएको थियो ।


आयोजनाबाट उत्पादित विद्युत् ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाले स्वीचयार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्रि बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाँडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । मातातीर्थमा १.४५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको प्राधिकरणले जनाएको छ ।


यही प्रसारण लाइनबाट त्रिशूली र मर्स्याङदी नदी बेसिनमा निर्माण भइरहेका अन्य जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लूई) सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।


विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ मा इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा ठेक्का सम्झौता भएको थियो ।


सम्झौताअनुसार २०७१ जेठमै आयोजना सम्पन्न गर्नुपर्ने भए पनि विद्युत गृह भूमिगत बनाउने कि सतहमा बनाउने भन्ने विवाद, आयोजनाको क्षमता बढाएर ९० मेगावाट बनाउने निर्णय लगायतका कारणले निर्माण प्रभावित भएको थियो । आयोजना तोकिएको समयमा नसकिएपछि २६ महिना म्याद थपिएको थियो । २०७२ भूकम्प र त्यसपछि आएको पहिरोले आयोजनामा क्षति पुर्‍याएपछि फेरि ३४ महिनाको लागि म्याद थप गरिएको हो ।

प्रकाशित : मंसिर २, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?