सुन्तलामा ग्रिनिङको संक्रमण

हरिराम उप्रेती

गोरखा — जिल्लाका केही पकेट क्षेत्रको सुन्तला बगैंचामा ग्रिनिङ रोग देखापरेको छ । क्षेत्रगत रूपमा ४९ वटा बोटको नमुना ग्रिनिङ टेस्टका लागि पठाइएकामा २८ वटामा रोगको संक्रमण देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोनका प्रमुख अजय अधिकारीले बताए । ‘यो ब्याक्टोरियाजन्य रोग हो,’ उनले भने ।

रोगी बिरुवाका बोटका पात नमुना प्रयोशाला परीक्षणका लागि पठाइएको थियो । यो रोग सबैभन्दा विनाशकारी मानिने पनि उनले बताए । रोग लागेपछि टुप्पाबाट बोट मर्दै जाने, पात सानो हुने, फल अमिलो हुने लक्षण देखिन्छ । ‘मंसिरसम्म फल पाक्नुपर्नेमा हरियो हुने, फल सानो हुने, पातका नसा हरियो हुँदै जान्छ,’ उनले भने, ‘यस्तो देखिएपछि जिंग एप्लाई गरेर रिकभर गर्नुपर्छ ।’


रोगी बोटका पात पहेंलो हुँदैमा ग्रिनिङ भन्न भने नमिल्ने उनले बताए । रोगी विरुवा झट्ट नमर्ने र मर्ने अवस्थामा पुग्दा फूल धेरै फुले पनि मसिना दाना लागेर पूरै बोट मर्दै जाने प्राविधिक बताउँछन् । पालुङटार, सहिद लखन र गण्डकी गाउँपालिकाअन्तर्गतका किसानका सुन्तलाको बोटको परीक्षण भएको थियो । सिट्रस सिल्ला नामको किराले रोग सार्ने प्राविधिक बताउँछन् । किराले रोगी बोटलाई चुसेर निरोगीलाई चुस्दा रोग सर्ने उनको भनाइ छ ।


एक हजारभन्दा कम उचाइ भएको ठाउँका नर्सरीमा यो किरा पाइने भएकाले कम उचाइमा उत्पादन भएका बिरुवा नलगाउन किसानलाई सचेत गराइएको छ । ‘बगैंचा व्यवस्थापन गर्न सके रोग नियन्त्रण हुन सक्छ, उत्पादन राम्रै दिन्छ,’ उनले भने, ‘तर, बोट मर्न थालेपछि किसानले व्यवस्थापनमा चासो दिएनन् ।’ करिब १० वर्ष पहिले कम उचाइमा उत्पादन भएको बिरुवा ल्याएर किसानले लगाएकाले रोग फैलिएको हुन सक्ने कृषि प्राविधिकको अनुमान छ ।


रोगका कारण करिब २० प्रतिशत सुन्तला बगैंचामा ह्रास आएको छ । ‘कुन क्षेत्रका कति किसानका बगैंचामा ह्रास आयो, फाइनल डाटा निकाल्दै छौँ,’ उनले भने । यो वर्ष रोगी बगैंचा हटाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको पनि उनले बताए । ‘उत्पादन दिँदैन भनेका बोट हटाउन किसानलाई भन्छौं,’ उनले भने, ‘यसका लागि रूख काट्ने मेसिनलाई अनुदानको व्यवस्था गरेका छौँ ।’ पालुवा पलाउने बेला १५ दिनको फरकमा किरा मार्ने विषादी प्रयोग गर्न पनि उनले किसानलाई सुझाए ।

प्रकाशित : मंसिर २, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?