कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

विद्युत् उत्पादन धेरै, खपत न्यून

विप्लव भट्टराई

इलाम — डेढ दशकअघिसम्म विद्युत् आयोजना हेर्नुपर्‍यो भने इलाम नगरपालिकाको पुवाखोला पुग्नुपर्थ्यो । सरकारी लगानीको ६ दशमलव २ मेगावाटको यो आयोजना जिल्लाकै पहिलो जलविद्युत् थियो । अहिले भने निजी क्षेत्रबाट विद्युत् उत्पादन गर्ने होडबाजी चलेको छ । जिल्लाका सम्भावित अधिकांश ठाउँमा एकदशकमा दर्जनभन्दा बढी विद्युत् आयोजना निर्माण भइसकेका छन् ।

विद्युत् उत्पादन धेरै, खपत न्यून

चुनावताका हरेकजसो राजनीतिक दलले यहाँको विद्युत्लाई उपयोग गरी विभिन्न उद्योग स्थापना गर्ने वाचा गरे पनि त्यसअनुरूप काम हुन सकेको छैन । यहाँ उत्पादित अधिकांश विद्युत् इलाम नगरपालिकाको गोदक सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिन्छ ।


माईखोलामा १० आयोजना

माईखोलामा सबैभन्दा धेरै विद्युत् आयोजना निर्माण भएका छन् । केही निर्माणाधीन अवस्थामा छन् । एउटै खोलामा १० वटा विद्युत् आयोजना सञ्चालनमा छन् । सिंगो जिल्लालाई दुई भागमा विभाजन गरेर बग्ने माईखोलामा ७ वटा आयोजनाको निर्माण सम्पन्न भएर विद्युत् उत्पादन गरिरहेका छन् भने ३ वटा निर्माणकै चरणमा छन् । जिल्लामा करिब एक सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । जिल्लाकै दोस्रो ठूलो आयोजनाका रूपमा हिमाल दोलखाले गोदकमा ४ दशमलव ५ मेगावाटको आयोजना दशकअघि नै सम्पन्न गरेको थियो । पुवाखोला हाइड्रोपछि हिमालले यो आयोजना निर्माण गरेको हो । यही अयोजनाको पानीलाई प्रयोग गरी जोशी हाइड्रो पावरले अर्को आयोजना निर्माण गरेको छ । क्यानेल सिस्टमबाट पानी लगेर बनाइएको यो आयोजनाको क्षमता ८ मेगावाट छ ।


सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा, सुलुबुङ र जमुनामा पञ्चकन्या माई हाइड्रोको २ वटा योजना सम्पन्न भएर विद्युत् उत्पादन गरिरहेका छन् । पञ्चकन्याले १२ मेगावाटको अप्परमाई र ६ दशमलव १ मेगावाटको क्यासकेट प्रोजेक्ट सञ्चालन गरेको छ । सानिमा माई हाइड्रोले छुट्टाछुट्टै योजनामार्फत २९ मेगावाट विद्युत् उत्पादन गरेको छ ।


चिसापानी, सोयक र दानाबारीमा सानिमाले २२ मेगावाटको योजना सञ्चालन गरेको छ । त्यही पानीलाई प्रयोग गर्दै दानाबारीमा ७ मेगावाटको क्यासकेट आयोजनासमेत सम्पन्न गरेर उत्पादन भइरहेको छ । नगरपालिकाको सुम्बेक र माई जोगमाईको शिरिसेबीचमा अर्को आयोजना बनेको छ । सगरमाथा हाइड्रो पावरले प्रवर्द्धन गरेको सुपरमाई हाइड्रो प्रोजेक्टले ७ दशमलव ८ मेगावाट क्षमताको यो आयोजना अघिल्लो वर्षदेखि नै सञ्चालनमा ल्याएको हो ।


सन्दकपुर गाउँपालिको सुलुबुङ, जमुना र माई जोगमाईको प्याङबीच सगरमाथाकै प्रवर्द्धनमा सुपरमाई ‘ए’ ९ दशमलव ६ मेगावाट विद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै इलाम नगरपालिका र माई जोगमाईको सोयाङबीचमा क्यासकेट प्रोजेक्टका रूपमा माईखोला हाइड्रोले प्रवर्द्धन गरेको ३ मेगावाट क्षमताको योजना निर्माणाधीन छ । यस तल चाम्लिङ हाइड्रोको ९ दशमलव ५ मेगावाटको माईबेनी विद्युत् योजना निर्माणाधीन छ ।

यीबाहेक माईजोगमाई र सूर्योदय नगरपालिकाबीचको जोगमाईमा खोलामा ७ दशमलव ५ मेगावाटको जोगमाई खोला आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।


जिल्लामा यति धेरै आयोजनाले विद्युत् उत्पादन गर्दै आए पनि आन्तरिक खपत भने न्यून छ । विद्युत् खपत गर्ने ठूला कारखाना खुल्न सकेका छैनन् । घरायसी प्रयोगबाहेक चिया उद्योगहरूले विद्युत् खपत गर्छन् । साना अरू उद्योगको खपत उल्लेख्य छैन ।


प्राधिकरण शाखाका अनुसार जिल्लाको अहिलेको खपत साढे आठ मेगावाट मात्र छ । ४० हजार २ सय २४ ग्राहक रहेको इलामको ७० प्रतिशत जनसंख्याले विद्युत् सेवा पाएका छन् । जिल्लाका ६३ वटा चिया कारखानाले आफ्नै ट्रान्सफर्मर राखेर विद्युत् खपत गरेका छन् । जिल्लामा ठूला उद्योग नहुँदा खपत पनि न्यून भएको हो ।

प्रकाशित : मंसिर २, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?