२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मध्य भोटेकोसीको निर्माण तीव्र

सिन्धुपाल्चोक — १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणले बल्ल गति लिएको छ । बाह्रबिसे नगरपालिकाको गाती जम्बुस्थित आयोजनाले मुख्य टनेल, अडिट र विद्युत्गृह निर्माणलाई तीव्रता दिएको हो ।

आयोजना प्रमुख सुनिलकुमार लामाका अनुसार सुरुङको झन्डै ८१ प्रतिशत काम सकिएको छ । ‘सबैभन्दा गाह्रो मानिने ‘भर्टिकल साफ्ट’ लगभग सकिएको छ । आउँदो ६ महिनाभित्र सुरुङको काम सकाउँछौ,’ उनले भने । आयोजनाको मुख्य सुरुङ ७ हजार १ सय १८ मिटरमध्ये ५ हजार ८ सय ६ मिटरको टनेल खनिसकेको उनले जानकारी दिए ।


भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित चाकु बजारको हेडवर्क्सस्थलमा भोटेकोसी थुनेर १० मिटर अग्लो बाँध बनाइनेछ । चिनियाँ टोलीले बाँधस्थलमा जग खन्ने र ढलानको काम गरिरहेको छ ।


गातीको जम्बुमा विद्युत्गृह निर्माणको काम आगामी ६ महिनामा सक्ने लक्ष्य राखेको आयोजना कार्यालयले जनाएको छ । ‘विद्यृत्गृहको क्रेन लेभल ६ महिनामा सकेर टर्बाइन जेनेरेटर जडानका लागि ‘लर्ड २ एन्ड्रिज हाइड्रो’ लाई हस्तान्तरण गरिनेछ, त्यसपछि मेसिन ड्राफ च्यानल सम्पन्न हुनेछ,’ आयोजना प्रमुख लामाले भने ।


चिलिमे जलविद्युत् कम्पनी लिमिटेड मुख्य प्रवर्द्धक रहेको आयोजनाको बाँधस्थलको जग्गाको मुआब्जा वितरण ३ वर्षसम्म रोकिएको थियो । विवाद हालै समाधान भएर काम अगाडि बढेको छ । समयसमयमा निर्माण सामग्री अभाव र आर्थिक समस्याले गर्दा कठिनाइ हुने गरेको आयोजना कार्यालयले जनाएको छ । १५ जुन २०१७ मा सकिनुपर्ने आयोजना विभिन्न अवरोधका कारण लम्बिएर २०१९ को जुलाईसम्म समय थपिएको थियो । १२ अर्ब २८ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा बढेर १४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित : मंसिर २, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?