कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ढोरखानीमा फलाम खोजी

प्रताप रानामगर

दमौली — तनहुँ शुक्लागण्डकीको ढोरखानीमा खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले फलाम खोजी सुरु गरेको छ । शुक्लागण्डकी नगरपालिका–१० छापा, भकल ढोरखानी, भगवती र वडा ११ को क्याग्दीमा फलाम खानीको सर्वेक्षण तथा खोजी सुरु गरिएको हो ।

ढोरखानीमा फलाम खोजी

विभागका वरिष्ठ भूर्गभविद् ठाकुरप्रसाद कँडेल, भूगर्भविद् प्रकाश पोखरेल र प्राविधिक यज्ञप्रसाद पराजुलीको टोली सातादेखि ढोरखानीमा छ । देउराली भाकल, क्याग्दीखोला र कालीबोटमा फलाम खनिज भेटिएको वरिष्ठ भूगर्भविद् कँडेलले बताए । ‘प्रारम्भिक सर्वेक्षणमा फलाम खानी भेटिएको छ,’ उनले भने, ‘फलामको गुणस्तर र मात्रा आउन बाँकी छ ।’


यहाँ परम्परागत तरिकाले फलाम उत्खनन गरेको सुरुङ देखिएको छ । पहिले उत्खनन गरेको र अहिलेको सर्वेक्षणले फलाम खनिज भएको पुष्टि भएको कँडेलले बताए । फलामको गुणस्तर र मात्राको तथ्यांक लिने काम भइरहेको छ । सर्वेक्षण गरेको फलाम खनिजको भू–भौतिक प्रतिवेदन यो आर्थिक वर्षभित्रै तयार हुने अर्का भूगर्भविद् पोखरलेले बताए । ‘फलाम खनिज सर्वेक्षण विभागमा बुझाउने हो,’ उनले भने, ‘भू–भौतिक प्रविधिबाट फलाम खनिजको सर्वेक्षण विभागमा गएर अध्ययन र विश्लेषण गरिन्छ ।’


फलामको गुणस्तर, वस्तुस्थिति, सतहमुनिको पहिचान पनि विश्लेषणपछि मात्र पत्ता लाग्छ । विभागले यसअघि भौगर्भिक नक्सा तयार गरेको र त्यस क्षेत्रको दर्जन ठाउँबाट फलाम खनिजको नमुना संकलन गरिसकेको छ । अहिले फलामको नमुना प्रयोशालामा परीक्षण भइरहेको छ । अघिल्लो आर्थिक वर्षमा भौगर्भिक नक्सा, गत आर्थिक वर्षमा फलाम खनिजको नमुना संकलन र यस वर्ष भू–भौतिक सर्वेक्षण गरिएको हो । अध्ययन सकेपछि नतिजा राम्रो देखिएमा अर्को चरणको अध्ययन सुरु हुने पोखरेलले जानकारी दिए ।


फलाम खानीको अध्ययनले स्थानीय खुसी भएको शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताए । ‘परापूर्व कालमा ढोरखानीबाट फलाम उत्खनन गरेको इतिहास छ,’ उनले भने, ‘अहिले विज्ञ टोली फलाम खानीको अध्ययन र अनुसन्धान गर्न आउनुभएको छ ।’ उनले फलाम खानी सञ्चालका लागि स्थानीय तहबाट आवश्यक सबै सहयोग उपलब्ध हुने बताए । फलामखानी सञ्चालनमा ल्याउन सके स्थानीयलाई रोजगारी मिल्नुका साथै गाउँको विकास हुनेमा उनी ढुक्क छन् ।

प्रकाशित : मंसिर २, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?