अनुगमनको ‘सुन गायब’ : अख्तियारले थाल्यो छानबिन

अनुगमनमा संलग्न पूर्वनिर्देशकले भने– ‘सुन लिन पठाइदिनू’
राजु चौधरी

काठमाडौँ — सुन अनगुमन र परीक्षण गर्न ल्याइएको सुन गायब भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अनुगमनको मुचुल्का/अभिलेखका फाइलहरूसमेत गायब भएको चर्चा चलेपछि आयोगले १० दिनभित्र प्रतिवेदन पेस गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्रचार गरेको हो । 

अनुगमनको ‘सुन गायब’ : अख्तियारले थाल्यो छानबिन

‘सुन हराएको विषयमा उजुरी परेको छ । प्रारम्भिक छानबिन सुरु गरेका छौं,’ आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘अध्ययनको विषयमा अहिले थप बोल्न मिल्दैन ।’ तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले २०६९ सालदेखि विभिन्न क्षेत्रका सुन पसल अनुगमन गरेको थियो । अनुगमन र नमुना परीक्षण गर्न ल्याएको केही सुन फिर्ता नगरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ‘परीक्षणका लागि लगिएको केही सुन फिर्ता भएको छैन,’ विभागले आयोजना गरेको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले भनेका थिए, ‘गायब हुनु सरकारको ठूलो लापरबाही हो ।’


तत्कालीन वाणिज्य तथा आपूर्ति विभागमा सुन उठाइएको समयमा नारायणप्रसाद बिडारी, शम्भु कोइराला, गोकुल धिताल, कुमार दाहाल महानिर्देशक थिए । अनुगमन शाखा निर्देशकमा लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे थिए । विभागका अनुसार त्यसबेला विभागमा निर्देशक लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे थिए । श्रेष्ठले तत्कालीन महानिर्देशक कुमार दाहाललाई जानकारी नगराई सुन पसलमा अनुगमन गरेका थिए । आफूलाई बाइपास गरेको भन्दै महानिर्देशक दाहालले स्पष्टीकरणसमेत सोधेका थिए । हाल श्रेष्ठ कृषि विभागमा छन् ।


अख्तियारले छानबिन थालेपछि श्रेष्ठले विभागमा फोन गरेर केही नमुना आफूसँग रहेको बताउँदै ‘लिन आउनू’ भनेका छन् । विभागले लिन जान सकिँदैन भनेर जवाफ दिएको कर्मचारीहरू बताउँछन् । स्रोतका अनुसार सुनको नमुना बाँकी सुन छ, लिन आउनुपर्‍यो भनेर शाखा अधिकृत रमेश काजीलाई फोन गरेका थिए । रमेशकाजीले निर्देशक भगवान् श्रेष्ठलाई भनेका थिए । निर्देशक भगवान् श्रेष्ठले छानबिनको क्रममा रहेकाले लिन जान नसकिने, आवश्यक परे पत्रचार गर्ने बताएको ती अधिकारीले बताए । शाखा अधिकृत रमेशकाजी श्रेष्ठले लक्ष्मण श्रेष्ठले बोलाएको स्विकारे ।


‘सुन भए कार्यालयमा बुझाउने हो । मलाई बुझाउने होइन नि । कार्यालयको काम, म जाने कुरा पनि भएन,’ उनले भने, ‘सुन छ भने अफिसमा आएर बुझाउनुस् भनेको छु । अफिसमा आउनुहुन्छ, होला ।’ यही सन्दर्भमा लक्ष्मण श्रेष्ठसँग पटकफटक फोन सम्पर्क गर्न खोज्दा फोन उठेन । यसअघि असोजमा श्रेष्ठले दुई वर्ष अगाडिको कुरा सम्झेर साध्य नहुने बताएका थिए । उनले सुनको विषयमा तत्कालीन शाखा अधिकृत र स्टोरमै सोध्नुपर्ने बताएका थिए ।


विभागले अनुगमन गरे पनि पारदर्शी नभएको जानकार बताउँछन् । विभाग वाणिज्य तथा आपूर्ति विभाग अलग हुने, त्यसपश्चात पुनः जोडिने क्रममा केही फाइलहरूसमेत हराएका थिए । त्यसको फाइदा उठाउँदै केही कर्मचारीले आफूखसी गरेको विभागका अधिकारीहरू बताउँछन् । ‘अनुगमन आफुखूसी हुन्थ्यो । महानिर्देशकलाई जानकारी नै नदिई समेत अनुगमन भएको छ,’ एक अधिकारीले भने । अनुगमन र कारबाही प्रक्रियामा अनियमितता देखिएपछि अख्तियारले पत्र पठाएको हो । उक्त पत्र मन्त्रालयले विभागमा पठाइसकेको छ ।


विभागका निर्देशक नोखबहादुर बस्यालले अख्तियारले अनुगमनको सन्दर्भमा पत्र पठाएको बताए । ‘सुन अनुगनका क्रमको के भएको व्यहोरासहित अख्तियरको चिठी प्राप्त गरेका छौं,’ निर्देशक बस्यालले भने, ‘कर्मचारीहरू फाइल खोज्न तीव्र गतिमा काम गरिरहेका छन् ।’ अख्तियारको पत्र मन्त्रालयले कातिक २४ गते विभागमा पठाएको थियो । त्यसपश्चात् विभागले अनुगमनको फाइल खोजी गरिरहेको छ । प्रतिवेदन प्राप्त गरेपछि मन्त्रालयमा पेस गर्ने व्यहोरासहितको पत्र कात्तिक २९ गते मन्त्रालयमा पठाइएको छ । उपसचिव भगवान् श्रेष्ठको संयोजकत्वमा कठित कमिटीलाई सुनको अवस्था, यसअघि पेन्डिङमा रहेको फाइलबारे अध्ययन गर्न दुई महिनाको समय अवधि दिइएको छ । कमिटीले एक महिनाको अवधि सकिसकेको छ । बाँकी एक महिनाभित्रै प्रतिवेदन पेस गर्ने कमिटीका अधिकारीहरू बताउँछन् । ‘अख्तियारको पत्र प्राप्त गरेपछि मन्त्रालयलाई पुनः चिठी पठाइसकेका छौं,’ विभागका एक कर्मचारीले भने, ‘तोकिएको समयमै सक्छौं ।’ ती अधिकारीका अनुसार सुन अनुगमनका फाइलहरू भेटाउने क्रममा छ । केही फाइलमा सुनको गुणस्तर कम देखिए पनि व्यवसायीलाई कारबाही गरिएको छैन । ‘सुनको शुद्धता ९७ देखि ९५ प्रतिशत मात्रै उल्लेख छ,’ ती कर्मचारीले भने, ‘तर, सुनमा गुणस्तरको मात्रा कम भए पनि कारबाही भएको देखिँदैन ।’

प्रकाशित : मंसिर २, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?