सम्पत्ति शुद्धीकरण ऐन सहज हुँदै जान्छ : अर्थमन्त्री 

नुमा थाम्सुहाङ

काठमाडौँ — सम्पत्ति शुद्धीकरण ऐन विस्तारै सहज हुने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । आठौँ राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजश्व विभागले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले ऐन सुरुमा असहज भएपनि विस्तारै सहज हुने बताएका हुन् ।

‘आन्तरिक करलाई करको प्रमुख आधार बनाउने गरी जुन बेला हामीले भ्याट लागू गर्‍यौं, त्यसबेलादेखि क्रमशः आयातमा आधारित राजश्व प्रणालीलाई आन्तरिक उत्पादन, उपभोगमा आधारमा विकास गर्दैछौं,’ उनले भने, ‘कतिपय करका कानून, नियमन, विधिहरु संशोधन तथा परिमार्जजन गर्दा केही अप्ठ्यारो परे जस्तो हुन्छ । यो भनेको अध्याँरोबाट घाममा जाँदा आँखा तिरमिराउनु जस्तै हो, सुरुमा असहज भए पनि विस्तारै सहज हुनेछ । अहिले व्यवसायिक जगतमा देखिएको समस्या यही हो ।’

मुलुकको तीन चौथाइ राजश्व आन्तरिक राजश्वबाट उठ्ने गरेकाले पनि यो देशको आधार भएको मन्त्री खतिवडाले बताए ।

राज्यलाई सरल, सुदृढ, आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लैजान क्षमता अनुसार कर निर्धारण गरिने मन्त्री खतिवडाको भनाइ छ ।

उनले नेपाललाई ऋणमुक्त मुलुक बनाउने चाहना रहेको उल्लेख गरे ।

करको दर र दायराका विषयमा नीजि क्षेत्रले राखेको भनाइमा मन्त्री खतिवडाले भने, ‘सहज व्यवसायीक प्रणालीको कुरा गरेका छौं । कानूनको कुरा आएको छ हामीले जवाफदेही बनाउने कानून निर्माण गरेका छौं । दण्ड दिने कानून होइन । वित्तीय उत्तरदायित्व कानून बनेको छ, त्यसअन्तर्गत हामीले तिरेको करको जिम्मेवारी हुनुपर्छ ।’

कार्यक्रममा १५ करदातालाई सम्मान गरिएको थियो । विभिन्न १५ विधामा धेरै र समयमा नै कर तिर्नेलाई सम्मान गरिएको हो ।

प्रकाशित : मंसिर १, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोताबाया विजयी

एजेन्सी

कोलम्बो — श्रीलंकामा भएको राष्ट्रपतीय निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ तथा पूर्व रक्षा सचिव गोताबाया राजापाक्षे विजयी भएका छन् । सत्तारुढ दलको उम्मेद्वारलाई पराजित गर्दै सिन्हाली बौद्धमार्गी राजापाक्षे विजयी भएका हुन् ।

श्रीलंकामा सिन्हाली बौद्धमार्गीको वर्चश्व रहेको छ भने तामिल र मुसलमानहरु अल्पसंख्यकका रुपमा रहेका छन् ।

श्रीलंकाका मन्त्री सजिथ प्रेमादासाले एक विज्ञप्ती जारी गर्दै जनताको निर्णयलाई आफूहरुले कदर गर्ने बताएका छन् । गृहयुद्धका बेला रक्षामन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका राजापाक्षेका प्रवक्ता केहिलिया रामबुङ्कवेलाले यो जनताको जित भएको बताएका छन् । उनी विजयी भएको खबर बाहिर आएसँगै राजापाक्षेको घर अगाडि समर्थकहरुको ठूलो भिड जम्मा भएको छ ।

राजापाक्षेले निर्वाचित हुनका लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेको बताइएको छ । श्रीलंकाको निर्वाचन आयोगका अनुसार शनिबार भएको मतदानमा कुल ८० प्रतिशत मत खसेको थियो ।

प्रकाशित : मंसिर १, २०७६ १३:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT