२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

डडेलधुराको बीउ बंगलादेश

लगानीअनुरुप राम्रो मुनाफा हुन थालेपछि कृषक परम्परागत खेती छोडेर तरकारी र बीउ उत्पादनतर्फ 
डीआर पन्त

डडेलधुरा — १२ वर्षअघि दाजुको विवाह गर्दा धनगढीबाट तरकारी खरिद गरेर ल्याएका भागेश्वर–४ का जयराज भट्ट अहिले बर्सेनि ५ लाख रुपैयाको तरकारी बिक्री गर्छन् ।

५ लाख रुपैयाँ बराबरकै बीउसमेत बेचिरहेका छन् । बारीमा उत्पादित तरकारी डडेलधुरा सदरमुकामबाट सिधै राजधानी काठमाडौं पुग्न थालेको छ । डडेलधुरा–काठमाडौं सिधा यातायात सुरु भएपछि उनले स्थानीय बजारमा नबेची सिधै पठाउन थालेका हुन् । डडेलधुराको पोखरास्थित बीउ बैंकमार्फत तरकारी, मकै र गेडागुडीका बीउ बंगलादेशसम्मै निर्यात भइरहेको छ ।


जयराजले झैं जिल्लाका विभिन्न पकेट क्षेत्रका कृषकले उत्पादन गरेको बीउ पछिल्लो समय सिधै बंगलादेश निर्यात हुन थालेपछि अधिकांश कृषक बीउ उत्पादनमा लागेका छन् । कृषि ज्ञान केन्द्र डडेलधुराका कृषि विकास अधिकृत दिलबहादुर विष्टका अनुसार गत वर्ष डडेलधुराबाट मात्र १० करोड रुपैयाँभन्दा बढीको बीउ बंगलादेश निर्यात गरिएको छ । प्रमुख खाद्य बाली गहुँ, मकै, गेडागुडीसँगै तरकारीको बीउ बर्सेनि ५ हजार क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


लगानीअनुरूप राम्रो मुनाफा हुन थालेपछि परम्परागत खेती छोडेर तरकारी र बीउ उत्पादन गर्ने कृषकको संख्या बढेको छ । ‘विदेशबाट फर्केर तरकारी र बीउ उत्पादनमा लगानी गर्ने दर्जनौं युवाहरूले यो क्षेत्रमा एउटा लहर नै ल्याएका छन्,’ क्षेत्रीय कृषि निर्देशनालयका कृषि प्राविधिक टेकबहादुर विष्टले भने, ‘परम्परागत कृषि खेतीले भविष्य सुनिश्चित नहुने बुझ्पेछि युवाहरू आधुनिक तरिकाले कृषि कर्ममा संलग्न भएका छन । जिल्लामा ३२ वटा युवा कृषक समूहले बीउ र तरकारी उत्पादनमा ठूलो लगानी गरेका छन् ।


सुरुमा जिल्लाको दुर्गममा रहेको गांगखेतका कृषकहरूले बीउ उत्पादन सुरु गरेका थिए । अगुवा कृषक विष्णु थापाले भने, ‘राम्रो मुनाफा हुन थालेपछि व्यावसायिक तरकारी खेती गरिरहेका कृषकले बीउ उत्पादनमा पनि हात हाले ।’ तत्कालीन कृषि विकास अधिकृत राजेन्द्र मिश्रले बीउ उत्पादनका लागि प्रोत्साहन गरेको सम्झँदै थापाले भने, ‘उत्पादन भएको बीउको बजार पनि कृषि कार्यालयले व्यवस्था गरिदिन्थ्यो ।’ हालका वर्षमा जिल्लामा तरकारी उत्पादन हुने पकेट क्षेत्रका रूपमा रहेका अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, आलीताल र गन्यापधुरा गाउँपालिकाका सयौं कृषक व्यावसायिक बीउ उत्पादनमा लागेका छन् ।


मुला, रायो केराउ, सिमी, मेथी, चम्सुर, गोलभेंडा, काँक्रो, भिन्डी, ब्रोकाउली, प्याज, काउली, अकबरे खुसार्नी, धनियाँ, सलगम र स्विचचार्डको बीउ प्रमुख रूपमा उत्पादन भई बंगलादेशसम्म पुग्ने गरेको जिल्ला कृषि ज्ञान केन्द्र डडेलधुराले जानकारी दिएको छ । ठाउँ ठाउँमा बीउ बैंकहरू स्थापना भएका छन् भने कृषकहरूले बैंकमा लगेर बीउ बिक्री गर्छन् ।


‘व्यवसायीहरूले बैंकबाट बीउ खरिद गरी विदेश निर्यात सुरु गरेका हुन् । कृषक र स्थानीय व्यवसायीका बीच कृषि ज्ञान केन्द्रले समन्वय स्थापना गरिदिएको छ,’ स्थानीय बीउ व्यवसायी हरिमोहन ऐरले भन्,े ‘बजारीकरण र प्रचारप्रसारमा पनि विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेका छन् ।’ उनका अनुसार बीउ व्यापारीहरू घरमै पुगेर खरिद गर्न थालेका छन् । कृषि ज्ञान केन्द्र र कृषि क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाको तथ्यांकअनुसार गत वर्ष १० करोड रुपैया भन्दा बढीको बीउ र ५० करोडभन्दा बढीको तरकारी डडेलधुराबाट बाहिरिएको छ ।

प्रकाशित : मंसिर १, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?