२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

रैथाने धान संरक्षणमा स्थानीय

अगन्धर तिवारी

पर्वत — उन्नत जातको धानमा बढी उत्पादन हुनुको सट्टा बाला नलाग्ने र विभिन्न रोगको संक्रमणलगायत समस्या देखिएपछि मोदी गाउँपालिका–२ देउपुर कुँडुलेका किसान रैथाने धानबाली संरक्षण अभियानमा जुट्न थालेका छन् । 

रैथाने धान संरक्षणमा स्थानीय

करिब ५० परिवारले विगत ३ वर्षयता उन्नत जातका धान रोप्न छाडेका छन् । गत वर्ष लोकतन्त्र धानमा बाला नलाग्ने समस्या देखिएपछि फलेबास–३ पोखराचौरका किसानले पनि यो वर्ष उन्नत धान लगाएनन् । धान बढी उब्जनी हुने कटुवाचौपारीमा समेत कतिपय किसानले केही वर्षयता उन्नत धानको बीउ लगाउन छाडेका छन् ।


उन्नत जातका धानमा प्रत्यक्ष र तत्कालका लागि केही फाइदा देखिए पनि दीर्घकालीन बेफाइदा धेरै भएपछि किसान पुराना र स्थानीय बीउको संरक्षण गर्न थालेका हुन् । बर्सेनि बाहिरैबाट बीउ किन्नुपर्ने, ३० दिनभित्रको बीउ रोप्न नभ्याए फल नलाग्ने, धानको अनुपातमा चामल नपर्नेलगायत बेफाइदा बुझेपछि नयाँ जातका धान लगाउनै छोडेको कुँडुलेकी भिममायाँ चापागाईंले बताइन् । ‘केही वर्ष प्राविधिक र जानकारले उन्नत र आधुनिक धान रोप्दा फाइदा हुने बताएका थिए । कतिपयले दबाबै दिए,’ उनले भनिन्, ‘दुई वर्ष रोप्यौं । दुवै वर्ष थरीथरीका समस्या देखिएपछि चटक्कै छोड्यौं ।’ स्थानीय जातको धान संरक्षण गर्न थालेपछि अनादी, कनजिरा, मन्सरा, आँगालगायत बीउ खोज्न गाउँबाहिरबाट समेत किसान आउने गरेको स्थानीय हेमनाथ चापागाईंले बताए ।


‘विकासे धान रोप्दा धेरै फल लाग्छ भनेर कृषिका सरहरूले धेरै कर गर्नुभयो, हामीले मानेनौं,’ स्थानीय हेमनाथले भने, ‘अहिले ठीक गरिएछ भन्ने लागेको छ ।’ आधुनिक र उन्नत जातका धान खोज्दै गत असारमा कुश्मा, फलेबास र बेनीसम्मका किसानहरू कुँडुले पुगेको उनले बताए । कुँडुलेका किसानले मोदी तथा पातीखोलाको किसानका फाँटमा एक्ले, अनादी, कनजिरालगायत धान लगाएका छन् । बीच भाग अर्थात् कुँडुले आसपासको तप्केनीमा मन्सरा, वीरम्फुलेलगायत धान लगाएका छन् । माथिल्लो र सिँचाइ नहुने क्षेत्रमा आँगा, मार्सीलगायत धान लगाएको स्थानीय अगुवा किसान तुलसी पौडेलले बताइन् ।


अघिल्लो वर्ष उन्नत धानबाट धोका खाएपछि फलेबास–३ पोखराचौर र आर्खेतका किसानले यो वर्ष पुरानै जातमा फर्किएका छन् । गत वर्ष स्थानीय कृषि प्राविधिकहरूले दोब्बर फल्ने भन्दै अनुदानमा बाडेको धानमा बाला नलागेपछि यो वर्ष करिब दुई दर्जन बढी किसानले पूरै कोदेगुडुरा, मार्सी, मन्सुरालगायतका धानको बीउ खोजेर लगाएको स्थानीय पूर्णप्रसाद भुसालले बताए । ‘अघिल्लो वर्ष नगरपालिकाकै कृषि कार्यालयले फसायो,’ उनले भने, ‘अहिले कसैको कुरा सुनेनौं । पुस्तौंदेखिको धान छोडेकामा अहिले पछुतायौं ।’


नगरपालिकाले अनुदानमा वितरण गरेको ८० किलो लोकतन्त्र धानमा बाला लागेको थिएन । नगरप्रमुख पदमपाणि शर्माले राहत दिने बताए पनि एक वर्ष बितिसक्दा अझै राहत नपाएको किसानको गुनसो छ । जिल्लाभर धेरै फलाउने, छिटो पाक्ने, हावाहुरीबाट नढल्ने लगायतका फाइदाको पछि लाग्दै उन्नत जातका नाममा नक्कली र विभिन्न रोगको संक्रमण फैलाउने धानको बीउ रोक्नुपर्ने कतिपय किसान बताउँछन् ।


‘विगतमा उन्नत जातका भन्दै धेरै धानका बीउ ल्याइएको थियो,’ कटुवाचौपारीका केशवदास पौडेलले भने, ‘यहाँको माटोमा एक्ले र जेठोबुढो जत्तिको अरू फल्दैन । कृषिले पनि त्यो सिफारिस गर्नुपर्छ ।’ स्थानीय किसानले धेरै वर्षदेखि रोप्दै आएका धानमा मिसावट हुने भएकाले स्थानीय जातकै मूल बीउ भए उन्नत जातको बीउको आवश्यकता नहुने किसान दण्डपाणि पौडेलले बताए ।

प्रकाशित : मंसिर १, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?