कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाद्यले धान किन्न थाल्यो

राजु चौधरी

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट धान खरिद थालेको छ । सरकारले धानको समर्थन मूल्य तोकेको २१ दिनपछि कम्पनीले धान किन्न थालेको हो । कम्पनीका निमित्त महाप्रबन्धक श्रीमणिराज खनालका अनुसार तीन दिनको अवधिमा १३ सय ९२ क्विन्टल धान खरिद भएको छ । ‘पहिलो चरणमा पश्चिमबाट खरिद सुरु गरेका छौं,’ उनले भने, ‘बुधबारयता बर्दिया (राजापुर) मा ५५२ क्विन्टल, धनगढी (कैलाली) मा ४९० क्विन्टल र बाँकेमा ३५० क्विन्टल खरिद भएको छ ।’

कम्पनीका अनुसार बर्दियाको राजापुर, कैलालीको मोहनपुर, टीकापुर, जोशीपुर र भजनी क्षेत्रमा धान खरिद गर्न काँटा राखिएको छ । ती क्षेत्रमा मोटा धान खरिद भइरहेको छ । बाँकेमा भने मोटा र मध्यम दुवै धान खरिद भइरहेको छ । ‘पश्चिममा धमाधम खरिद भएको छ । पूर्वतिरका लागि पनि पत्राचार गरेका छौं,’ निमित्त महाप्रबन्धक खनालले भने । उनका अनुसार पूर्वमा अझै बजारमा धान आइसकेको छैन । चिसो धान खरिद गर्दा गुणस्तरको समस्या हुन्छ । त्यसैले पूर्वमा केही ढिलाइ भइरहेको खनालले बताए ।


‘पश्चिममा छिट्टै रोपाइँ भएकाले धान बजारमा आयो,’ उनले भने । बजार सन्तुलन र किसानलाई उचित मूल्य दिन सरकारले कात्तिक ७ गते धानको समर्थन मूल्य तोकेको थियो । आर्थिक वर्ष २०७६/७७ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यमको २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको छ । यी दुई धानको समर्थन मूल्य तोकिए पनि मन्त्रिपरिषद्को निर्णय कम्पनीले करिब दुई साता ढिला प्राप्त गरेको थियो ।


कम्पनीको बोर्ड बैठकबाट स्वीकृत गरी प्रक्रिया बढाउँदा केही लम्बिएको थियो । त्यसको फाइदा उठाउँदै केही व्यापारीले किसानबाट धान खरिद गरेका थिए । बुधबारदेखि भने धमाधम खरिद गरेको कम्पनीको दाबी छ ।


कम्पनीले चालु आर्थिक वर्षमा प्रारम्भिक रूपमा ३० हजार टन खरिद गर्ने लक्ष्य राखेको छ । कञ्चनपुरबाट १ हजार टन, कैलालीबाट ७ हजार टन, बर्दियामा ४ हजार ५ सय टन, बाँकेमा ४ हजार टन, भैरहवामा १ हजार टन, वीरगन्जमा २ हजार ५ सय टन खरिद गर्ने लक्ष्य छ ।


जनकपुरमा २ हजार टन, सिराहामा ६ हजार टन, विराटनगरमा १ हजार टन र बिर्तामोडमा १ हजार टन खरिद गर्ने लक्ष्य राखेको छ । ती क्षेत्रमा धान खरिद गर्न ७७ करोड विनियोजन गरेको छ । अघिल्लो वर्ष पनि ३५ हजार टन खरिद गर्न ९१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, लक्ष्यको २२ हजार ५ सय ९२ टन मात्रै खरिद भएको थियो । गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २४ सय ६० रुपैयाँ ५७ पैसा तोकिएको थियो ।


खरिद प्रक्रियामा ढिलाइ हुँदा बिचौलिया नै हाबी हुँदै आएको सरकारी तथ्यांकले नै देखाएको छ । खनालले भने बिचौलियाबाट किसान नठगिउन् भनेर समर्थन मूल्यमै खरिद भएको दाबी गरे । ‘धान मंसिरबाट बजारमा आउँछ,’ उनले भने  ।


प्रकाशित : कार्तिक ३०, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?