३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

खुला चौरमै चामल

ठेकेदारको लापरबाहीले तिब्बती नाका भएर ल्याइएको चामलमध्ये साढे २ हजार क्विन्टल सल्लीखोलामै 
छपाल लामा

(हुम्ला) — खाद्यान्न समस्या खेप्दै आएका हुम्लीका लागि तिब्बतको बाटो ल्याइएको चामल दुई महिनादेखि बीच बाटोमै अलपत्र अवस्थामा छ । ठेकेदारको बेवास्ताले साढे २ हजार क्विन्टल चामल सल्लीखोलामा अलपत्र परेको हो ।

खुला चौरमै चामल

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले भदौ दोस्रो साता काठमाडौंबाट केरुङ हुँदै तिब्बतको सडकमार्ग भएर ५ हजार ५ सय क्विन्टल चामल ल्याएको थियो । हिल्सा नाका भएर ल्याएको मध्ये १ हजार ५ सय क्विन्टल चामल यालबाङ केन्द्रमा र १ हजार ४ सय क्विन्टल सिमकोटस्थित डिपोमा पुर्‍याइए पनि २ हजार ६ सय क्विन्टल चामल नाम्खा गाउँपालिकाको सल्लीखोलामा खुला चौरमै रहेको छ ।


कम्पनीका जिल्ला शाखा प्रमुख रामबहादुर विष्टले ठेकेदारले ढिलो गर्दा चामल बीच बाटोमै अलपत्र परेको बताए । ‘अब त चिसो लाग्यो, हिउँ पर्न पनि सुरु भइसक्यो,’ उनले भने, ‘सडकसमेत बन्द हुने भएकाले ढुवानी हुने कुनै सम्भावना छैन ।’ चामल रहेको स्थान सल्लीखोलामा फागुन–चैतसम्मै हिउँ पर्छ । यसले गर्दा खुला आकाशमुनि रहेको चामल चिसोले बिग्रिने चिन्ता थपिएको छ ।


ठेकेदार ध्रुवकुमार शाहीले सडक बिग्रिएका कारण समयमै ढुवानी गर्न नसकिएको बताए । ‘हिउँ परेपछि ढुवानी गर्न समस्या हुन्छ भनेर गाडी मालिकसँग कुरा गरेको थिएँ, सबैले ल्याउन सकिँदैन भनेर जवाफ दिए,’ उनले भने, ‘बाध्य भएर चामल बाटोमै थन्क्याउनुपरेको छ ।’ चौरमा तल काठको फल्याक र माथि प्लास्टिकले चामलका बोरा ढाकिएको उनले बताए ।


तिब्बती मार्गबाट चामल ल्याउनका लागि कम्पनीका शाखा प्रमुख विष्टसमेत गएका थिए । केरुङबाट हिँडेको करिब चार दिनमा चामल हिल्सा नाका भएर ल्याइएको थियो । उतिबेला सहजै सिमकोट पुर्‍याउन सकिने अवस्था भए पनि ठेकेदारले ढिलाइ गरेका थिए । पछिल्लो समय पनि नाम्खा–सिमकोट गाडी चलेका छन । तिब्बती गाडीले सामान ल्याएरै सिमकोट पुगेका थिए । तैपनि ठेकेदारले चामल ल्याउनतिर ध्यान नदिएको कम्पनीका शाखा प्रमुख बिष्टले बताए । ‘हामीले बारम्बार चामल सिमकोट पुर्‍याउनका लागि भनिरहेका छौं, तैपनि सल्लीखोलाबाट उठेको छैन,’ उनले भने, ‘दुई–चार दिनमा नल्याउने हो भने त हिउँदमा त्यो चामल कामै नलाग्ने हुन्छ ।’


कम्पनीका अनुसार अहिले सिमकोटस्थित संस्थानका डिपोमा २ हजार २ सय क्विन्टल चामल रहेको छ । जिल्लाका अन्य बिक्री केन्द्रहरूमा भने चामल सकिएको छ । नाम्खाको यालबाङ केन्द्रमा समेत चामल सकिएको छ । ठेकेदारसँगको सम्झौतामा सिमकोट डिपोको भनिएकाले खुलाचौरमै अलपत्र पर्दासमेत त्यो चामल अन्य केन्द्रमा पठाउन नसकिएको कम्पनीको भनाइ छ । शाही साझेदार रहेको चंखेली चंखेली/देउतीबज्यै जेभीले काठमाडौंदेखि सिमकोटसम्म प्रतिकेजी ८४ रुपैयाँमा ढुवानी गर्ने गरी ठेक्का पाएको थियो । गत आर्थिक वर्षको असारभित्र ढुवानी गरिसक्नुपर्ने भए पनि विभिन्न बहाना बनाएर चालु आर्थिक वर्षको भदौमा मात्र ढुवानी गरिएको थियो । मुस्किलले ल्याएको त्यही चामल पनि बीच बाटोमै अलपत्र पर्दा हिउँदमा खाद्यान्न अभाव हुन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?