२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नगर सीमा विवाद : छिटो टुंग्याउन दबाब

कान्तिपुर संवाददाता

(रौतहट) — स्थानीय तहबीच बढेको सीमा विवाद सुल्झाउन जनप्रतिनिधिले नगरपालिकालाई दबाब दिएका छन् । सीमा विवादले स्थानीय तहबीचको सम्बन्धमा असर पर्ने भन्दै चाँडै यो समस्या समाधान गर्न दबाब बढेको हो । 

रौतहटको चन्द्रपुर, गुजरा र वृन्दवन नगरपालिकाबीच सीमा बिवाद अल्झेको लामै भयो । ३ वटै नगरपालिकाबीच बढेको सीमा विवाद मिलाउन स्थानीय जनप्रतिनिधिले दबाब दिएका हुन् । उनीहरूले नगरपालिकाका मेयरहरूलाई सीमाबारे छलफलका गर्न आग्रह गरेका छन् । चन्द्रपुर ३ का वडाअध्यक्ष बुद्ध लामाले सीमा विवाद जति सक्दो चाँडो टुग्याउनु पर्ने बताए । ‘कसको कहाँसम्म सीमा पर्छ भन्ने सुल्झाउनुपर्छ । यस्तो समस्या लामो समयसम्म राख्नु हुन्न,’ उनले भने, ‘समाधान नभएकै कारण नगरपालिकाबीच द्वन्द्व बढेको छ ।’


गत वर्ष वाग्मती नदीको दक्षिणी नाकामा चन्द्रपुरले गिटी, बालुवा ढुंगा निकासी पैठारीको ठेक्का लगायो । ठेक्काको अन्तिम समयमा आएर वृन्दावन नगरपालिकाले आफ्नो सीमा भन्दै निकासीमा रोक लगाउने प्रयास गर्‍यो । स्थानीय प्रशासन सहितको टोलीले स्थलगत अवलोकन गरे पनि त्यस बेला समस्या समाधान भएन । अहिले दुवै नगरपालिकाले नदीमा आ–आफ्नो सीमा भन्दै विवाद निकालेका छन् ।


चन्द्रपुरले वाग्मतीको दक्षिणी नाकामा यस वर्ष १ करोड ८१ लाखमा ढुंगा, बालुवा र गिटी निकासीको ठेक्का लगाएपछि वृन्दावनले आफ्नो सीमामा पर्ने नदीमा ठेक्का लगाएको भन्दै दाबी गरेको हो । एउटै नदीबाट निकासी हुने नदीजन्य वस्तुको केही दिनसम्म दुवै नगरपालिकाले दोहोरो कर समेत असुले । यसको चौतर्फी विरोध भएपछि कर असुली रोकिएको छ । कर असुल्न चन्द्रपुरले आंशिक कन्ट्रक्सनलाई ठेक्का दिएको छ । भने वृन्दवनले अमानतमा कर्मचारी खटाएर कर असुलेको थियो । नदीमा बालुवा लिन गएका ट्याक्टरलाई दुवै नगरपालिकाले ४ सयका दरले कर लिएपछि विवाद बढेको हो ।


सीमा विवादका कारण दुई स्थानीयतहले आ–आफ्नो क्षेत्र दाबी गर्दै कर असुलेका थिए । कार्यपालिका सदस्य काजीमान माझीले गुजरा र चन्द्रपुरको सीमा बिवादले भोलनटार, इपिलीघारी लगायतका गाउँ कुनमा पर्छ भन्ने अन्योल छाएको बताए । ‘स्थानीय समेत अचम्ममा परेका छन्,’ उनले भने, ‘कहिले कुनमा पर्छ भन्छन्, कहिले कुनमा । यस्तो अवस्था रहिरह्यो भने पछि ठूलै समस्या आउँछ । त्यसैले मेयर लगायतको टिम बसेर चाँडै सल्टाउनु पर्छ ।’


भूगोल नक्सामा चुरेसम्म गुजरा नगरपालिकाको सीमाक्षेत्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिओग्राफी इन्फरमेसन सिस्टमले देखाएपछि गुजरासित चनद्रपुरबीच लामो समयदेखि सीमाको द्वन्द्व बढेको छ । विवादबीच चन्द्रपुरको भोलनटार, इपिलिघारी र अरुणबस्ती जस्ता गाउँ कुन नगरपालिकामा परेको भन्ने स्थानीयमा अन्योल छ । दुवैले आ–आफ्नो दाबीका साथ सीमामा नगरपालिकाको बोर्ड समेत झुन्ड्याएका छन् ।


वृन्दवनका मेयर रामस्नेही रायले जीपीएसको माध्यमबाट सीमा बिवाद साम्य पार्ने प्रयास गरिए पनि चाँडै सुल्झाउनु पर्ने बताउँछन् । चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले सीमा विवादमा दुवै तहका प्रतिनिधि बसेर सुल्झाउनु पर्ने बताउँछन् । ‘सीमाको विषयमा विवाद नगरौं भन्ने मेरो मान्यता हो,’ उनले भने । गुजराका जनप्रतिनिधले समेत विवाद सुल्झाउन दबाब दिएका छन् । पूर्वपश्चिम राजमार्गको लमाह नदीमा गुजराले आफ्नै नगरपालिका भनेर बोर्ड राखेको छ । यो चन्द्रपुरको सीमा हो । तर, अहिले गुजाराको भनी दाबी गरिएको छ । गुजराका वडाअध्यक्ष पवन गिरी सबै पक्ष बसेर समस्या समाधान गर्नुपर्ने बताउँछन् । ‘चाँडै सुल्झाउन सकिएन भने पछि विवाद बढ्न सक्छ,’ उनले भने, ‘यस्तो विवादलाई धेरै समयसम्म राख्नु हुन्न ।’


प्रकाशित : कार्तिक २९, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?