‘ज्योतिलाई हिरासतमा राखिनु गलत’

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योगपति रूप ज्योतिलाई हिरासतमा राखिनु गलत भएको भन्दै रिहाइका लागि विभिन्न संघसंस्थाले माग गरेका छन् । 

‘ज्योतिलाई हिरासतमा राखिनु गलत’

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बिहीबार काठमाडौंमा विरोध कार्यक्रम आयोजना गरेको छ भने नेपाल घरेलु तथा साना उद्योग महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका उद्योगपति ज्योतिलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलमै बिनासूचना पक्राउ गरी हिरासतमा लिएको घटना गलत भएको महासंघको ठहर छ ।


‘दुई पक्षबीचको व्यावहारिक कारोबारमा भएको असहमति र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदाहुँदै हिरासतमा राखिनु गलत हो,’ महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले भने, ‘उद्योग व्यवसायको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याई कयौंलाई रोजगारी दिँदै आएको उद्योग प्रतिष्ठानका प्रमुख व्यक्तिलाई अपराधीलाई जस्तो हतारहतारमा पक्राउ गर्नु र पुर्पक्षका लागि थुनामा राखी कारबाही अगाडि बढाउनु उचित होइन ।’ यसबाट मुलुकको उद्यम व्यवसायको क्षेत्रमा पर्न सक्ने नकारात्मक असरलाई न्यून गर्न ज्योतिलाई सम्मानपूर्वक व्यवहार गरी रिहा गर्नुपर्ने माग महासंघको छ ।


यसैबीच हार्वर्ड युनिभर्सिटीमा अध्ययन गरेका नेपाली विद्यार्थीको एक समूहले रूप ज्योतिलाई तुरुन्त रिहाइ गर्न माग गर्दै एक विज्ञप्ति जारी गरेको छ । वार्ताबाट समाधान गर्न सकिने व्यावसायिक विवादलाई अनावश्यक रूपमा अपराधिकरण गरिएको समूहले जनाएको छ । ज्योति पक्राउ प्रकरणले नेपालका अधिकारीले कसैलाई पनि कुनै पनि वहानामा पक्राउ गर्न सक्ने, व्यक्तिको प्रतिष्ठा, सम्पत्ति तथा सामाजिक योगदानलाई ध्वस्त पार्न सक्ने नकारात्मक सन्देश जाने भन्दै विज्ञप्तिमा सचेत गराइएको छ । ‘यसबाट नेपालको संविधानले प्रदान गरेको अधिकार उपयोग गर्न निजी क्षेत्र र नागरिक समाजलाई हतोत्साहित गर्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल, योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेसहित ३९ जनाले हस्ताक्षर गरेका छन् ।



प्रकाशित : कार्तिक २९, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?