कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

चीनबाट साढे ७ सय टन प्याज,  ९९ प्रतिशत आयातकै भर

राजु चौधरी

काठमाडौं — भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार ३ महिनाको अवधिमा ३ करोड ६४ लाख रुपैयाँको ७ लाख ९० हजार २ सय किलो आयात भएको छ । जसमध्ये चीनबाट मात्रै ३ करोड १३ लाख रुपैयाँको ७ लाख ४९ हजार २ सय किलो आयात भएको विभागले जनाएको छ । 

चीनबाट साढे ७ सय टन प्याज,  ९९ प्रतिशत आयातकै भर

२०७५/७६ को पहिलो तीन महिनामा १० करोड ४३ लाख रुपैयाँको ३० लाख ९८ हजार ६ सय किलो आयात भएको थियो । उक्त प्याज भारतबाट मात्रै आयात भएको थियो । भारतले प्याज उत्पादनमा कमी आएको जनाउँदै असोज दोस्रो सातादेखि निर्यात बन्देज गरेपछि व्यवसायीले विकल्पमा चीन रोजेका हुन् ।


‘फाटफुट रूपमा तिब्बत र खासाबाट प्याज आउँछ,’ तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले भने, ‘चीनबाट आयातित प्याजको स्वाद फरक छ । उपभोक्ताको रोजाइमा कमै परेको देखिन्छ ।’ भारतमा मुख्यत: महाराष्ट्र र कनार्टकलगायत राज्यमा प्याज उत्पादन हुन्छ । अघिल्लो वर्षको खडेरी, त्यसपश्चात् अत्यधिक वर्षा र बढीले यी दुवै राज्यमा प्याज खेतीमा असर पुगेको थियो ।


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार प्रतिबन्धकै समयमा नेपालमा चाडबाड भएकाले चीनबाट मगाएको बताए ।


व्यवसायीका अनुसार चीनको प्याज ठूलो आकारको हुन्छ । जसले गर्दा उपभोक्ताहरू त्यति रुचाउँदैनन् । नेपाली तथा भारतीय प्याजकै माग उच्च रहेको उनीहरूको दाबी छ । ‘अहिले माग बिस्तारै बढ्दै गएको छ, भारतबाट दैनिक करिब ६० टन प्याज भित्रिएको छ,’ सूचना अधिकारी श्रेष्ठले भने । प्याजको माग बढे पनि स्वदेशी उत्पादन भने नगन्य छ । श्रेष्ठका अनुसार ९९ प्रतिशत आयातकै भर हुन्छ ।


कृषि विभागका वरिष्ठ बागबानी अधिकृत नारायण काफ्ले पनि उत्पादन न्यून भएको बताए । ‘नेपालमा प्याज उत्पादन हुने क्षेत्र तराई नै हो । कञ्चनपुरदेखि झापासम्म उत्पादन हुन्छ । सबैभन्दा बढी प्रदेश २ मै उत्पादन हुन्छ,’ काफ्लेले भने, ‘तर, स्वदेशी उत्पादनले तीन महिना पनि धान्दैन ।’


प्याज उत्पादनका लागि पर्याप्त सिँचाइ चाहिन्छ, कात्तिक–मंसिरमा लगाएर चैत–वैशाखमा उखेलिन्छ । त्यस अवधिमा मौसम सुक्खा भएकाले उत्पादनमा सिधै असर पुर्‍याउँछ । ‘बीउमा पनि परनिर्भर नै छौं । पुरानो स्टकको बीउ गुणस्तरीय नहुँदा सिधै उत्पादन घट्छ,’ काफ्लेले भने, ‘जसले गर्दा आयात बढ्दो छ ।’


भन्सार विभागको तथ्यांकअनुसार २०७१/७२ मा १ करोड ४ लाख रुपैयाँको १ लाख ९ हजार किलो प्याज आयात भएको थियो । २०७५/७६ मा ४० करोड २५ लाख रुपैयाँको १ करोड ५ लाख १५ हजार किलो आयात भएको छ ।


कृषि मन्त्रालयले भने कृषि उपजको उत्पादनमा आत्मनिर्भर उन्मुख भएको दाबी गर्छ । मन्त्रालयले तयार पारेको प्रतिवेदन/१४ औं योजनाको लक्ष्यअनुसार २०७५/७६ मा तरकारीको उत्पादनको लक्ष्य ४० लाख टन राखेकामा ४१ लाख ७५ हजार टन उत्पादन भएको दाबी गरेको छ । ‘तरकारीमा आत्मनिर्भरतर्फ र ‘नयाँ प्रविधिको प्रयोग, हाइटेक हर्टिकल्चरको माध्यमबाट तरकारी खेतीले व्यावसायिकतामा वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘लक्ष्यभन्दा १ लाख ७५ हजार टन बढी उत्पादन भएको छ । तरकारीको उत्पादन १.८६ प्रतिशत र उत्पादकत्वमा ०.११ प्रतिशतले बढेको छ ।’


मूल्य बढ्दो

प्याजको मूल्य एक महिनामा ५० प्रतिशतले बढेको छ । उत्पादनमा कमीसँगै प्याजको माग बढेपछि मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिको तथ्यांकअनुसार असोज २८ गते प्रतिकिलो ९९ रुपैयाँ थोक मूल्य थियो ।


कात्तिक २८ गते बढेर १ सय ४८ रुपैयाँ पुगेको छ । ‘भारतीय बन्देज जारी छ, स्वदेशमा तत्काल उत्पादन बढ्दैन,’ समितिका सूचना अधिकारी श्रेष्ठले भने, ‘त्यसको प्रत्यक्ष असर बजारमा देखिएको छ ।’ थोकमै मूल्य बढ्दा खुद्रा व्यापारीले पनि बढाएर बिक्री गरेका छन् ।

प्रकाशित : कार्तिक २९, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?