१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लगानी सम्मेलनका लागि २६ योजना

कान्तिपुर संवाददाता

(विराटनगर) — प्रदेश लगानी सम्मेलनका लागि सरकारले २६ वटा महत्त्वपूर्ण परियोजनाहरू छनोट गरेको छ । आगामी माघ–फागुनमा आयोजना हुने सम्मेलनका लागि प्रदेश योजना आयोगले यसअघि २४ वटा योजनाको तयारी गरेको थियो ।

प्रदेश सरकारले विभिन्न चरणको छलफलपछि प्रदेश विकासका लागि महत्त्वपूर्ण मानिएका २६ वटा परियोजनाहरू छनोट गरेको प्रदेश प्रमुख सचिव सुरेश अधिकारीले बताए । प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिएको उक्त परियोजनाहरूको सूची सम्भावना अध्ययनका लागि संघीय सरकारमा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उक्त सूची हाल संघीय सरकारको अर्थ मन्त्रालयमा विचाराधीन अवस्थामा रहेको प्रमुख सचिव अधिकारीले बताए ।


यसअघि प्रदेश योजना आयोगले ठूला यातायातका साधनहरू मोनो रेल, मेट्रो रेल वा स्काई रेल निर्माणको प्रस्ताव पनि लगानी सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरेको थियो । आयोगले विराटनगर इटहरी २४.५ किलोमिटर र इटहरी धरान १५.७ किलोमिटर मोनोरेल, मेट्रोरेल वा स्काई रेल सञ्चालन गर्ने गरी बृहत् यातायात परियोजना सञ्चालन गर्ने अवधारणा अघि सारिएको भए पनि हाललाई स्थगन गरिएको छ ।


लगानी सम्मेलनका लागि प्रदेश सरकारले केबलकारका २, औद्योगिक पार्कसम्बन्धी दुई, हाइड्रोपावरको एक, जल यातायातका दुई, पर्यटन पदमार्गका दुई वटासहित २६ वटा परियोजनाहरू तयार पारेको छ । तमोर–मेवा हाइड्रोपावर प्रालिलाई उच्च प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ ।


दूधकुण्ड–नाम्जे–चौरीखर्क जोड्ने सगरमाथा केबलकार, जल परिवहनको सञ्चालन र पार्कलगायत कार्यमा सहज हुने कोसी रिभर पोर्ट निर्माण लागि लगानी आह्वान गरिनेछ ।


प्रदेश सरकारले विद्युत्, ई–सञ्चार, इन्टरनेट आदिका तारलाई भूमिगत गर्न भूमिगत तार व्यवस्थापनको छुट्टै परियोजना तयार पारेर लगानी सम्मेलनमा प्रस्तुत गर्ने भएको छ । प्रत्येक जिल्लामा एक औद्योगिक क्षेत्र, विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, इटहरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने, विराटनगरमा मास ट्रान्सपोर्टेसन परियोजना सञ्चालन गर्ने योजना पनि सूचीकृत गरिएको छ ।


यस्तै ओखलढुंगाको रुम्जाटार र सुनसरीको इटहरीमा सहरी योजना, स्मार्ट बसपार्क, ढल व्यवस्थापन, फोहोर व्यवस्थापन, वाइफाई जोन र विद्युतीय सेवाको काम गर्ने गरी एउटा परियोजना अघि सारिएको छ । सरकारले विशेष कानुन नै निर्माण गरेर अघि बढाएको बृहत् विराट क्षेत्रलाई समेट्ने गरी रिङरोडको परियोजना पनि अघि सारेको छ ।


सुनसरीको अमडुवामा औद्योगिक पार्क, अर्गानिक मल कारखाना, जडीबुटी कम्पनी स्थापना, कृषि सामग्री कारखाना स्थापनाका लागि परियोजना अघि सारिएको छ । पर्यटनसँग सम्बन्धित तालतलैया थिमपार्क, कञ्चनजंघा–सगरमाथा हिमाली पदमार्ग, मुन्धुम पदमार्ग (भोजपुर–संखुवासभा), पथरी संग्रहालय, मधुमल्ला मिक्लाजुङ केबलकार, धरान भेंडेटार नाम्जे चौरीखर्क केबलकार निर्माणका परियोजनाहरू लगानी सम्मेलनमा प्रस्तुत हुनेछन् । प्रदेश सरकारले चतरा–तुम्लिङटार र चतरा–दोलालघाट जलमार्ग, धरान मूलघाट सुरुङमार्ग, केचना–सगरमाथा फास्टट्र्याक मेघा सोलार इनर्जी प्रोडक्सन र हिमालयन ट्रंकलाइन खानेपानी आयोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरेको छ ।



प्रकाशित : कार्तिक २९, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?