कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

छोकडा र मटर आयात बढ्यो

विनु तिम्सिना

(विराटनगर) — पाकिस्तानबाट आन्तरिक खपतका लागि मात्र पैठारी गरिने छोकडाको आयात बढेको छ । भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारण दुई देशको व्यापार प्रभावित भएपछि नेपालमा छोकडाको व्यापार फस्टाएको हो । छोकडाको अत्यधिक उत्पादन पाकिस्तानमा हुने गरेको छ ।

भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिँदै गएपछि व्यापारिक सम्बन्धमा असर परेको छ । पाकिस्तानको छोकडा भारत पैठारी हुन छाडेको छ । नेपालमा भने छोकडाको पैठारी ह्वात्तै बढेको छ । विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/०७५ को पहिलो तीन महिनामा जोगबनी भन्सार कार्यालयबाट ९१ लाख ९३ हजार रुपैयाँ मूल्य बराबरको १ लाख २२ हजार ६ सय ६० किलो छोकडा आयात भएको थियो । आर्थिक वर्ष ०७५/७६ को सोही अवधिमा पनि ९१ लाख ९३ हजार रुपैयाँ मूल्य बराबरकै १ लाख २२ हजार ६ सय ६० किलो छोकडा आयात भएको देखिन्छ ।


चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तथ्यांकलाई हेर्दा भने छोकडाको आयात ह्वात्तै बढेको छ । पछिल्लो तीन महिनामा यो नाका हुँदै ५ करोड ९ लाख ७८ हजार रुपैयाँ बराबरको ५ लाख ४३ हजार ७ सय ५० किलो छोकडा आयात भएको विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी मणिराम पौडेलले जानकारी दिए । यसबाट १ करोड ८ लाख ५० हजार रुपैयाँ भन्सार महसुल असुली भएको छ ।


असोज १० गतेसम्म २ लाख ३७ हजार ७ सय ५० किलो छोकडा आयात भएकामा त्यसपछिको २० दिनमा मात्रै थप ३ लाख ६० हजार किलो आयात भएको उनले बताए । पछिल्लो दुइ वर्षको तथ्यांक हेर्दा छोकडाको आयातको यो परिमाण चार गुणाले वृद्धि भएको हो ।


यस्तै विगत ३ वर्षदेखि केराउ दानाको आयात पनि अत्यधिक रूपमा भइरहेको पाइएको छ । विराटनगर भन्सार हुँदै आर्थिक वर्ष ०७४/७५ को पहिलो तीन महिनामा ४ करोड ५७ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको ८ लाख ८९ हजार ४ सय ४६ किलो आयात भएको केराउको दाना आव ०७५/७६ मा बढेर १० करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरको २४ लाख ८९ हजार ७ सय २० किलो आयात भएको छ ।


चालु आर्थिक वर्षको तीन महिनाभित्र मात्रै ४९ करोड ९१ लाख ३९ हजार मूल्य बराबरको ९७ लाख २७ हजार ७ सय ९० किलो आयात भएको देखिन्छ । नेपालमा युक्रेनबाट मटर दाना आयात गरिन्छ । यसअघि चर्चामा रहने गरेको सुपारी र मरिचको आयातमा भने केही ह्रास आएको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?