महासंघ अध्यक्षकै ठेक्का अलपत्र

घनश्याम खड्का

(म्याग्दी) — निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंह र उपमहासचिव नरहरि थपलियाले ठेक्का लिएको बेनी अस्पतालको भवन निर्माण अलपत्र परेको छ । तीनतले ५० शय्याको अस्पताल भवन अन्डरग्राउन्ड ढलान गरेपछि अलपत्र छाडिएको हो । 

महासंघ अध्यक्षकै ठेक्का अलपत्र

साविक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बागलुङले ०७३ पुस २१ मा महादेव खिम्ती/गल्वा/रफिना जेभी काठमाडौंलाई १८ करोड ९० लाख रुपैयाँमा भवन निर्माणको ठेक्का दिएको थियो । निर्माणस्थलमा राखिएको आयोजनाको विवरण बोर्डमा भवन निर्माण गरिसक्नुपर्ने मिति ‘०७६ मंसिर २०’ लेखिएको छ । ‘ठेकेदार पहुँचवाला परेछन् । हाम्रो दबाबले छेउटुप्पो छोएन । नियामक निकायका कर्मचारी छेउ पर्नै सक्दैनन्,’ अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने । भवन निर्माण छिटो सक्न मौखिक र लिखित ताकेता गरे पनि ठेकेदारले बेवास्ता गरेको र नियामक निकाय पनि नबोलेको उनले बताए । उनका अनुसार साविकको भवन डिभिजन कार्यालयका लेखा अधिकृतले धरौटी फिर्ता गर्न पत्र लेख्दा उनैको सरुवा भएको थियो ।


समिति अध्यक्ष कटुवालले भवन समयमा नबन्दा बिरामीलाई जस्ताको छाप्रोमा राखेर उपचार गराइरहेको बताए । पूर्वाधार नभएको भन्दै विशेषज्ञ डाक्टरहरू अस्पताल आउन नमान्ने गरेको उनको भनाइ छ । बेनी अस्पतालको पुरानो संरचना भत्काइएको छ । ‘बिरामी भर्ना गरिएको कोठाको ढोकाबाटै धूलो उड्दा बिरामीलाई थप समस्या भएको छ,’ इन्डोरकी नर्स भीमसरा पुनले भनिन्, ‘कम्तीमा शल्यक्रिया गरिएका बिरामी र नवजात शिशु राखिएको संवेदनशील क्षेत्र व्यवस्थित गर्नु आवश्यक छ ।’


साविक सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले समयमा काम नगरेपछि ठेकेदारले सुरुमा लिएको पेस्कीबापतको ६६ लाख रुपैयाँ असुलउपर गर्न जमानत बसेको नेपाल बंगलादेश बैंक भैंसेपाटी शाखालाई पत्राचार गरेको छ । ‘अस्पताल भवन निर्माणमा चरम लापरबाही गरेकाले ठेकेदारको जमानत बसेको बैंकलाई पेस्की रकम फिर्ता ल्याउन पत्राचार गरिए पनि फिर्ता आएको छैन,’ साविक भवन डिभिजन प्रमुख प्रकाश अर्यालले भने, ‘अहिले यो आयोजना संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले हेर्छ ।’


५ हजार ३ सय वर्गमिटरमा बन्ने भवनका लागि २४ करोड ४ लाख २२ हजार १ सय ५५ रुपैयाँ लागत अनुमान गरिए पनि ठेकेदारले ५ करोड ५० लाख कम रकममा कबोल गरेका थिए । ‘जेभीमध्येको रफिनाका रविन जोशीले बिड गरे पनि उनले काम गर्न सकेनन् । उनले बुझेको पेस्की फिर्ता मागी दिन कार्यालयलाई गुहारेका छौं,’ निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका मुख्य ठेकेदार रवि सिंहले भने, ‘फर्मको प्रतिष्ठाका लागि हामी छिटो कार्यस्थलमा आउने तयारीमा छौं ।’


पप्पुको तीनकुने पुलको ठेक्का तोडिँदै

पप्पु कन्स्ट्रक्सनले काम नगरेपछि तीनकुनेको पुल निर्माणको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले पप्पुसँगको सम्झौता रद्द गरेपछि अर्को प्रक्रियाबाट पुल निर्माण अघि बढाइने बताए ।


०७१ पुसमा गरिएको पुल निर्माणको सम्झौताअनुसार ०७५ असारमा काम सकिनुपर्ने थियो । ठेक्का २१ करोड ३३ हजार रुपैयाँमा लागेको हो । धेरैतिरबाट गुनासा आएपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पप्पुलाई कारबाही गर्न जेठमै सिफारिस गरेको थियो तर कारबाही गरिएको छैन । कमसल काम भएको भन्दै निर्माण अघि नबढाउन समिति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्देशन दिए पनि पप्पुले अटेर गर्दै आएको छ ।


ढलानका लागि तयार गरेर अलपत्र पारिएपछि बाढी आउने र खोला थुनिने भन्दै स्थानीयले पुल भत्काउन दबाब दिएका थिए । त्यसपछि ढलानका लागि तयार संरचना भत्काइएको थियो ।


आयोजनाका प्रवक्ता श्रेष्ठले ठेक्का तोड्ने प्रक्रियाका विषयमा माथिल्लो निकायसँग सल्लाह गरिरहेको जानकारी दिए । ‘ठेक्का तोडेको जानकारी पत्रिकामा सूचना प्रकाशित गरेरै दिने छौं,’ उनले भने, ‘कसले तोड्ने भन्ने कानुनमा प्रस्ट व्यवस्था छैन । आन्तरिक सल्लाहमा छौं । केही दिनभित्रैमा यसको टुंगो लाग्छ ।’ पप्पु कन्स्ट्रक्सन धेरै पुल र सडकको ठेक्का लिएर अलपत्र पार्ने र कमसल काम गर्ने कार्यले विवादित बन्दै आएको छ ।







प्रकाशित : कार्तिक २८, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?