२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

तयारीबिना ठेक्का गर्दा समस्या

विमल खतिवडा

काठमाडौँ — भारतसँग सीमा जोडिएका ५ वटा नाकाबाट मुख्य राजमार्ग जोड्ने गरी सडक निर्माणको ठेक्का लगाउँदा पर्याप्त तयारी नपुगेकाले समस्या देखिएको छ । 

तयारीबिना ठेक्का गर्दा समस्या

सरकारले राजमार्गसँग प्रमुख भन्सार नाका जोड्ने ‘सिक्स लेन’ का सडक निर्माणको योजना बनाएको थियो । सबै सडकमा जग्गाको मुआब्जा, बिजुलीका पोल, खोला, खानेपानी, ढल र अधिग्रहणमा पर्ने घरले निर्माणको काममा ढिलाइ भएको छ । पाँचवटा सडकमध्ये एउटामा मात्रै ९० प्रतिशत वित्तीय प्रगति भएको छ । बाँकी ४ सडकको काम आधा पनि सकिएको छैन । ‘ठेक्का लगाउनुअघि राम्रोसंग तयारी गर्नुपर्थ्यो, त्यो नहुँदा ठाउँ–ठाउँमा समस्या देखिएको छ,’ विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले भने, ‘जसले गर्दा काममा ढिलाइ भएको छ, अब बिनातयारी नयाँ ठेक्का लगाउन दिनेछैनौं ।’


सापकोटाका अनुसार रानी–विराटनगर–इटहरी, वीरगन्ज–पथलैया सडकमा बढी समस्या देखिएको छ । इटहरी दक्षिणको ट्याङ्ग्रा खोलाले धार परिवर्तन गरिरहने भएकाले समस्या छ । व्यापारिक मार्गको रूपमा विकास गर्ने भन्दै साँघुरा सडकलाई ०६८/०६९ सालबाट ६ लेनको बनाउन थालिएको हो । ‘सडक यातायात भनेको व्यापारलाई सहजीकरण गर्ने माध्यम हो,’ सापकोटाले भने, ‘त्यसमा पनि मुख्य रूपमा व्यापारिक चहलपहल हुने नाकालाई सहज बनाउने उद्देश्यले ६ लेनको बनाउन थालिएको हो ।’ केही सडकको म्याद थप गर्दा पनि निर्माण सकिएका छैनन् । ‘अब सबै सडक ०७७/०७८ भित्र निर्माण सकिसक्नुपर्नेछ,’ उनले भने । सबैभन्दा पहिला सुरु भएको बेलहिया–बुटवल सडकको निर्माण ९० प्रतिशत सकिसकेको छ । २७.५ किमि दूरी रहेको यो सडकको लागत ५ अर्ब ९२ करोड छ ।


जसमध्ये ५ अर्ब २९ करोड खर्च भइसकेको छ । ‘यसको निर्माण अन्तिम चरणमा छ,’ उनले भने । त्यस्तै वीरगन्ज–पथलैया सडकको निर्माण ४७ दशमलव २७ प्रतिशत छ । रक्सौल नाका जोड्ने यो सडक ३०.५ किमि रहेको र यसको लागत ५ अर्ब ५० करोड हो । जसमा २ अर्ब ६० करोड खर्च भइसकेको छ । सबैभन्दा बढी व्यापारिक कारोबार हुने नाका वीरगन्ज–रक्सौल हो । जहाँ सुक्खा बन्दरगाह र एकीकृत भन्सार पनि छ । ‘यो सडक पथलैयासम्म ६ लेनको बनाइनेछ,’ उनले भने, ‘जुन फास्ट ट्र्याकमा जोडिनेछ ।’ यता रानी–विराटनगर–इटहरी सडकको निर्माण ४५.७ प्रतिशत छ । ४९ किमि लामो यो सडकको लागत १० अर्ब छ ।


४० किमिको जनकपुर–जटही–ढल्केबर खण्डको करिब आधा काम सकिसकेको छ । ६ अर्ब ९१ करोड लागत रहेको सडकको ५०.६५ प्रतिशत काम भएको सापकोटा बताउँछन् । उनका अनुसार सडकलाई स्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्देश्यअनुरूप सिक्स लेनको बनाउन सुरु गरिएको हो । ‘यी सबै सडकलाई हामीले पन्ध्रौं पञ्चवर्षीय योजनाभित्र बनिसक्नेछन्,’ उनले भने । उनले सबैतिर चार लेनको सडक बनाउनुपर्ने माग आएको बताए । ‘तर सडक विभागको कुरा पर्याप्त सवारीको चाप पनि हुनुपर्‍यो भन्ने हो,’ उनले भने ।


प्रकाशित : कार्तिक २७, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?