कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

तेजपत्ताको भारत निकासी ठप्प

सरकारले राजस्व अनुसन्धान विभागमार्फत भेहिकल्स एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लागू गरेपछि सातादेखि तेजपत्ता भारत निर्यात नहुँदा धरानस्थित कृषिउपज बजारमै थन्किएको छ
प्रदीप मेन्याङ्बो

(सुनसरी) — पूर्वी पहाडमा उत्पादित तेजपत्ताको भारत निर्यात बन्द भएको छ । सातादेखि निर्यात हुन नसक्दा धरानस्थित कृषिउपज बजारमा मात्रै करिब ५० लाख रुपैयाँको सय टन तेजपत्ता कुहिने अवस्थामा पुगेपछि व्यवसायी निराश छन ।

तेजपत्ताको भारत निकासी ठप्प

कृषिउपज बजारबाट वार्षिक रूपमा करिब २० करोड रुपैयाँको ४ हजार टन तेजपत्ता भारतीय व्यापारीहरूले लैजाने गरेका छन् । पछिल्लो समय भीसीटीएस अनलाइन दर्ताका कारण पनि निर्यात रोकिएको छ । भारतीय व्यापारीसँग यहाँको व्यवसाय दर्ता पान नम्बर छैन । तेजपत्ता भारतीय बजारमा निर्यात नहुँदा कृषकहरूको उत्पादन खेर जाने सम्भावना बढेको छ ।


सरकारले राजस्व अनुसन्धान विभागमार्फत भेहिकल्स एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लाई अनिवार्य अनलाइन दर्ता लागू गरेको छ । आयात निर्यातका क्रममा सामान ढुवानी गर्ने सवारीसाधन र तिनमा ल्याइएको सामानबारे विस्तृत विवरणको सुपरिवेक्षण गर्ने कार्यलाई भीसीटीएस भनिन्छ । यो प्रणाली ०७६ साउन १ गतेदेखि लागू भएको हो । कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘कात्तिक महिनादेखि सरकारले अनिवार्य रूपमा भीसीटीएस अनलाइनमा दर्ता गर्नैपर्ने बाध्यकारी प्रावधानले पूर्वी नेपालको तेजपत्ता निर्यात हुन सकेको छैन । तेजपत्ता किन्ने व्यापारी भारतीय छन् । उनीहरूसँग कुनै स्थायी लेखा नम्बर व्यवसाय दर्ता नहुने भएकाले निर्यातमा ठूलो समस्या देखा परेको छ ।’


भट्टराईले भारतीय बजारमा निर्यात हुने तेजपत्ताको डंगुरले बजार भरिन लागेको बताए । लामो समय त्यत्तिकै राखेमा करोडौंको तेजपत्ता कुहेर जाने सम्भावना बढेको पनि उनको भनाइ छ । सातादेखि भारत निर्यात नभए पनि कृषकहरूले तेजपत्ता ल्याइरहेका छन् । ‘समस्या समाधानका लागि राजस्व अनुसन्धान विभागले पूर्वी पहाडी भेगका कृषकहरूले उत्पादन गरेका करोडौं मूल्यका मसलाजन्य तेजपत्ताको सहज निर्यातका लागि सहजीकरण गर्नुपर्छ,’ भट्टराईले भने ।


तेजपत्ता नेपालबाट भारतीय व्यापारीहरूले निर्बाध लगेर आफ्नै ब्रान्ड बनाएर बिक्री गर्दै आएका छन् । नेपालमा मसलाजन्य नगदेबाली मानिए पनि तेजपत्ताबाट विभिन्न रोगको औषधि पनि बनाइन्छ । खाद्य पदार्थमा सुगन्धका लागि प्रयोग गरिने तेत्तपत्ताबाट एक प्रकारको महँगो युजेनोल तेलसमेत निकालिने भएकाले भारत र तेस्रो मुलुकमा तेजपत्ताको माग बढेको छ ।


‘वर्षौंदेखि धरानबाट तेजपत्ता भारतीय बजारमा निर्यात हुँदै आएको छ । यसपटक भने अनलाइन दर्ता सिस्टमले नेपालका कृषक र व्यापारीलाई तेजपत्ता भारतमा निर्यात गर्नबाट रोक्यो । खासमा यो अनलाइन दर्ता भनेको नै के हो थाहा छैन । एक्कासि कहाँबाट आयो,’ स्थानीय व्यापारी विनोद राईले भने । साताअघिसम्म भने तेजपत्ता भारतीय बजारमा निर्यात हुँदै आएको थियो । गत साता एकाएक सशस्त्र प्रहरीले तेजपत्ता बोकेर भारत जान लागेका ट्रक रोकेर अनलाइन बिल मागेपछि नेपाली तेजपत्ता रोकिएको हो ।


‘नेपाली कृषकले उत्पादन गरेको तेजपत्तालाई भारतले रोकेको छैन । बरु माग बढाएको छ । आफ्नै मुलुकले निर्यात रोक्नुको कारण बुझिएन । कृषक र व्यापारीहरूलाई के गर्न खोजेको हो ? केही थाहा छैन,’ उनले भने । पूर्वमा तेजपत्ता मुख्यगरी कोसी पहाडी जिल्लाहरू, सुनसरीको विष्णुपादुका र मोरङको उत्तरी गाउँपालिकाहरूबाट कृषकले धरानमा बिक्रीका लागि ल्याउने गरेका छन् ।


थोक बजारमा तेजपत्ताको भारीको मात्रा र गुणस्तरअनुसार प्रतिभारी ८ सयदेखि १५ सय रुपैयाँसम्म मूल्य तोकिने गरेको छ । गत वर्ष भारतीय बजारमा तेजपत्ताको अत्यधिक माग हुँदा धरानमा प्रतिभारीको २ हजार रुपैयाँसम्म मूल्य पुगेको थियो । बारीमै टिपेर ल्याएको तेजपत्तालाई प्रतिकेजी ५० रुपैयाँका दरले कृषकबाट व्यापारीले खरिद गरिरहेका छन् ।


आव ०७४/७५ मा पूर्वी पहाडमा ३ हजार २ सय ५० टन (१६ करोड रुपैयाँ) को तेजपत्ताको कारोबार भएको थियो भने आव ०७५/०७६ को अन्तिममा करिब ३ हजार ७ सय टन (१९ करोड रुपैयाँबराबरको) कारोबार हुने अनुमान छ । कात्तिक दोस्रो सातासम्ममा धरान कृषिउपज बजारबाट १५ सय टन (७ करोड रुपैयाँबराबरको) तेजपत्ताको कारोबार भइसकेको बजार व्यवस्थापक भट्टराईले बताए । यीमध्ये २० प्रतिशत जति मात्र स्वदेशी बजारमा खपत भएको र बाकी भारतीय बजारमा निर्यात भएको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक २७, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?