कर छलीमा व्यापारीलाई जेल

शंकर आचार्य

(पर्सा) — नक्कली भ्याट बिल प्रयोग गरी कर छली गरेको अभियोगमा एक व्यापारी जेल चलान भएका छन् । वीरगन्जस्थित आन्तरिक राजस्व कार्यालयले जानकी ट्रेडर्सका सञ्चालक दीपेन्द्र पासवानलाई जेल चलान गरिएको छ । प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाको इजलासले पासवानले १ करोड १५ लाख रुपैयाँभन्दा बढी कर छली गरेको ठहर गर्दै उनलाई जेल चलानको आदेश दिएको हो ।

ट्रेडर्समार्फत पासवानले वीरगन्जको माईस्थानमा ग्यास सिलिन्डरका पाटपुर्जासम्बन्धी कारोबार गर्थे । नक्कली भ्याट बिल प्रयोग गरी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको प्रमाणको आधारमा पासवानलाई जेल चलान गरिएको कोइरालाले बताए । पासवानको फर्मले आर्थिक वर्ष ०७३/७४ देखि ०७५/७६ मा विभिन्न चारवटा फर्मको नक्कली भ्याट बिल प्रयोग गरेर छली गरेको अभियोग लगाइएको थियो । यस्तै, आव ०७१/०७२ र ०७२/७३ मा २ वटा शंकास्पद फर्मबाट खरिद गरेको भनी आय विवरणमा देखाएको तर खरिद पुष्टि गर्ने बिजक प्रमाण पेस गर्न नसकेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।


कार्यालयले माग गरेबमोजिमको रकम तिर्न नसकेपछि पासवान जेल चलान भएका हुन् । गलत विवरण पेस गरी कर छली गरेकाले ०७१/७२ देखि ०७५/७६ सम्मको कारोबारको कर ४४ लाख ३० हजार ५ सय २५ रुपैयाँ, त्यति नै जरविाना, १० लाख ७७ हजार ७ सय ९३ थप दस्तुर र ब्याज १६ लाख १२ हजार ७ सय ५८ रुपैयाँ गरी कार्यालयले १ करोड १५ लाख ५१ हजार ६ सय २८ रुपैयाँ कर निर्धारण गरेको थियो ।


पासवानको फर्मको कागजपत्र अध्ययन गर्दा नक्कली भ्याट बिल प्रयोग गरेको पाइएको थियो । त्यसै आधारमा कात्तिक २२ गते १ करोड १५ लाख ५१ हजार ६ सय २८ रुपैयाँ तिर्नुपर्ने फैसला गरिएको थियो । फैसलाबमोजिम रकम भुक्तानी गर्न नसकेपछि पासवानलाई सोमबार साँझ जेल चलान गरिएको हो । पासवानले वार्षिक रूपमा आय विवरण पेस गर्दा नक्कली बिल खर्च दाबी गरी आयकरसमेत छलेकाले आयकर, शुल्क, ब्याज आयकरसमेत गरी उनलाई २ करोड २० लाख आयकरसमेत निर्धारण हुनेछ ।


आन्तरिक राजस्व कार्यालयका सूचना अधिकृत सुनीलराज देवकोटाले मूल्य अभिवृद्धि करको सिस्टममा उद्योगी व्यापारीले आफूले मालसामान र सेवा बिक्री गर्दा १३ प्रतिशत खरिदकर्ता वा उपभोक्ताबाट भ्याट पनि उठाउले गरेको बताए । तर त्यो उठाएको भ्याटमा आफूले त्यस अवधिमा सामान खरिद गरेको भए त्यो सामानको भ्याट घटाउन पाउने नियम रहेको छ । यसरी व्यापारीले आफूले बिक्री गर्दा उठाएको कर छली गर्न विभिन्न प्रपञ्च रच्ने गर्छन् । ‘वास्तविकभन्दा न्यून मूल्यको भ्याट बिल जारी गरेर, नगद र उधारो क्यास मेमो बिल, कुनै बिलबिजक जारी नगरेर बिक्री गरी कर छली गरेका हुन्छन्,’ उनले भने, ‘सामान खरिद नगरी खरिदतर्फ नक्कली बिल खरिद गरेर, बिनाबिल विजक हचुवाका हिसाबले करको विवरण बुझाएर कर छली गर्ने गरेको पनि भेटिन्छ ।’

प्रकाशित : कार्तिक २७, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?