१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चट्टान छिचोले किमाथांका

अरूण नदीको किनारैकिनार तिब्बती सहर चाँगामा जोडिने उत्तर–दक्षिण मार्ग बनिसकेपछि किमाथांका चीन र भारतको व्यापारिक ट्रान्जिट बन्नेछ 
दीपेन्द्र शाक्य

(संखुवासभा) — जोगबनी–किमाथांका सडकखण्डमा अब १४ किलोमिटर ट्र्याक खोल्न मात्रै बाँकी छ । सेनाले विस्फोटक पदार्थ प्रयोग गरी चट्टानी पहरा फुटाउने जिम्मा लिइसकेको छ । यो खण्डमा विस्फोटक प्रयोग गरी ट्र्याक खोल्नेबित्तिकै सडकले किमाथांका जोड्नेछ । 

चट्टान छिचोले किमाथांका

प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले सेनालाई भीर फुटाउने जिम्मा दिइसकेको बताए । उनका अनुसार सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ । ‘स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकारले पनि उच्च महत्त्व दिएको यो सडक बनेपछि आर्थिक गतिविधि तीव्र रूपमा बढ्नेछ,’ उनले भने, ‘भीरका कारण २ वर्षयता ट्र्याक खोल्ने काम अवरुद्ध थियो, अब सुचारु हुनेछ ।’


त्रिदेशीय व्यापारिक महत्त्वको यो सडक मोरङको रानीदेखि संखुवासभाको किमाथांकासम्म पुग्छ । दक्षिणी नाकाबाट उत्तरी नाकासम्मको दूरी करिब ३ सय ९० किलोमिटर छ । यसमध्ये अब १४ किलोमिटर ट्र्याक खोल्न मात्र बाँकी छ । मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको सीमावर्ती गाउँ किमाथांकासम्म सडक पुर्‍याउने लक्ष्य छ । संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे भइसकेको छ । बीचका केही स्थानमा सडक बिग्रिए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ । अरुण नदीको किनारैकिनार चीनको तिब्बती सहर चाँगामा जोडिने उत्तर–दक्षिण मार्ग बनिसकेपछि यो नाका चीन र भारतको व्यापारिक ट्रान्जिट बन्नेछ ।


‘सडक निर्माणले नेपालको व्यापार विस्तार मात्र हुने छैन,’ सांसद गौतमले भने, ‘उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन् ।’ किमाथांकाबाट तिब्बती सहर ल्हासा र ठूलो व्यापारिक सहर सिगात्से पनि छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा ठूलो सहयोग पुग्ने यस क्षेत्रका उद्योगी व्यापारीले बताए । किमाथांका नाकाबाट चीनको व्यापारिक सहर सिगात्से करिब ३ सय किलोमिटर दूरीमा छ ।


भोटखोला गाउँपालिकाको घिरपुक हटियामा डोजरले सडक निर्माण गरिँदै । तस्बिर: दीपेन्द्र/कान्तिपुर


संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य योजनाबद्ध र दीर्घकालीन गुरुयोजनाअनुसार काम गर्नुपर्ने आवश्यक औंल्याउँछन् । ‘यो मार्गको दक्षिणी सीमा विराटनगरबाट भारतको कोलकाता नजिक पर्ने भएकाले पनि व्यापारिक महत्त्व बढ्नेछ,’ उनले भने, ‘नाका जोडिनु हाम्रा लागि फाइदाजनक हो, नाका खुलेपछि प्रदेश १ को मात्र नभएर सिङ्गो मुलुककै लागि यो सडक कोसेढुंगा बन्नेछ ।’


यो नाकाबाट ठूला उद्योगका लागि कच्चा पदार्थ ल्याउन सकिने र जडीबुटीलगायत स्थानीय वस्तु निर्यात गर्न सकिने उनको भनाइ छ । ‘ट्र्याक खुलेपछि साना सवारी साधन सञ्चालन भएर दुई देशका नागरिकबीचको सम्बन्ध प्रगाढ हुनेछ,’ शाक्यले भने, ‘व्यवस्थित हुन केही समय लाग्ला तर दीर्घकालीन रूपमा फाइदैफाइदा हुनेछ ।’


दुई धनी र विकसित मुलुक यो सडकमार्गबाट जोडिने भएकाले नेपालले पनि यसबाट फाइदा लिन सक्ने धेरै सम्भावना भएको उनको बुझाइ छ । पछिल्लोपटक संखुवासभा सदरमुकाम खाँदबारीबाट १३४ किलोमिटर कच्ची सडक बनिसकेको छ । अब करिब १४ किलोमिटर सडक खोलिसक्दा किमाथांका जोडिन्छ । खाँदबारीबाट भोटखोलाको दुर्गम मानिएको हटिया गाउँ जोडिसकेको छ ।


उत्तर–दक्षिण कोसी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार ट्र्याक खोल्न बाँकी स्थानमा चट्टान र पहरा भएकाले विस्फोटक पदार्थ प्रयोग गरी खोल्नुपर्छ । त्यसका लागि पनि बाटो खुलिसकेको उनले बताए । ‘अब विस्फोटको जिम्मा सेनाले लिइसकेकाले छिट्टै किमाथांका जोडिन्छ,’ उनले भने, ‘विस्फोटक पदार्थ राख्नका लागि बंकर घर पनि निर्माणको अन्तिम चरणमा छ ।’


चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा विस्फोटक प्रयोग गरी १४ किलोमिटर छिचोलिने उनले बताए । ‘त्यसपछि जोगबनीबाट खादबारी हुँदै सोझै किमाथांका स्थलमार्गबाट जोडिन्छ । विस्फोटक पदार्थ खरिदका लागि अब प्रक्रिया सुरु हुनेछ,’ उनले भने । सडक बनिसकेकाले हिँउदमा खाँदबारीबाट हटियासम्म यातायातका साधन सञ्चालनमा आएका छन् । अहिले खाँदबारीदेखि बरुण नदीसम्म ८० किमि सडकमा यातायातका साधन चल्न थालेका छन् । त्यसमध्येमा पनि ३४ किलोमिटर सडकको ग्राभेल गरिएको छ । १४ किलोमिटर खण्डमा काम रोकिए पनि सडक चौडा बनाउने, ग्याबिन पर्खाल, पुल पुलेसा निर्माणको कामसमेत भइरहेको छ । तर, विवादित खण्डमा दुई पक्षबीच कुरा मिलिसके पनि सडकको ट्र्याक खोल्न ढिलाइ हुँदा स्थानीयले असन्तुष्टि जनाएका छन् । आर्थिक वर्ष ०६५/०६६ बाट खाँदबारी–किमाथांका सडक निर्माण सुरु भएको थियो । किमाथांकाबाट पाँच सय मिटरपर तिब्बतको चाँगाबजारसम्म भने चीन सरकारले सडक ट्र्याक खोलेर ग्राभेलसमेत गरिसकेको छ ।


किमाथांकातर्फबाट पनि ट्र्याक खोल्ने काम भइरहेको छ । सडकको उत्तरतर्फबाट १४ किलोमिटर सडक बनिसकेको योजना कार्यालयले जनाएको छ । बीचबीचमा रेखांकन विवाद र धार्मिकस्थल भएकाले विवाद देखिए पनि योजनाका तर्फबाट त्यसलाई समाधान गरी निर्माणको काम अघि बढाइएको श्रेष्ठले बताए । ‘चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माण भएपछि किमाथांका पुगिनेछ,’ उनले भने, ‘तीव्र गतिमा विस्फोटको काम गरेर यसै वर्ष किमाथांका जोड्ने प्रयास भइरहेको छ ।’ चीन सीमासम्म सडक जोडिन लागेपछि स्थानीय बासिन्दा र जनप्रतिनिधि पनि उत्साहित छन् । भोटखोला गाउँपालिका प्रमुख तेम्बा भोटेले हटियासम्म सडक पुगेपछि सुविधा भएको बताए ।

प्रकाशित : कार्तिक २६, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?