२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मोतीपुर औद्योगिक क्षेत्रको काम ठप्प

कान्तिपुर संवाददाता

बुटवल — दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिए पनि रूपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको काम सुरु भएको छैन । संघीय सरकारले आर्थिक वर्ष ०७२/७३ मा तिनाउ किनारमा रहेको ८ सय १३ बिघा क्षेत्रफलमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बनाउने योजना ल्याएको थियो । 

त्यसयता डीपीआरसमेत तयार भइसकेको छ । बस्ती व्यवस्थापनको टुंगो नलाग्दा निर्माण र व्यवस्थापनको काम अघि नबढेको हो । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृतिको कामसमेत अल्झिएको छ ।


प्रस्तावित जग्गा नदी उकास क्षेत्र हो । उक्त जग्गाको ०७३ वैशाख २९ मा परियोजनाको नाममा लालपुर्जा बनेको छ । त्यही स्थानको करिब १ सय ५० बिघा क्षेत्रफलमा बस्ती रहेको छ । त्यहाँ ०२७ सालदेखिको बसोबास छ ।


सार्वजनिक जग्गा ओगटेर बसेकाले आफू हटेर औद्योगिक क्षेत्र बन्न नदिने अडान लिएका छन् । स्थानीय तह र यस क्षेत्रका जनप्रतिनिधि उनीहरूकै पक्षमा छन् । सीमा जोडिएका स्थानीय तहले बस्ती व्यवस्थापन गरेर मात्र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन सुझाव दिएका छन् । बस्ती त्यही व्यवस्थापन गर्ने वा स्थानान्तरण गर्ने भन्नेबारेमा अन्य सरोकारवाला भने विभाजित छन् ।


मोतीपुर औद्योगिक क्षेत्र परियोजनाका प्रमुख निमेश अधिकारीले सर्वसहमतिमा काम गर्ने वातावरण नभएकाले भौतिक निर्माणका काम गर्न नसकेको बताए । ‘बस्ती त्यहीं राख्ने वा स्थानान्तरण गर्ने भन्ने कुरा टुंगिन बाँकी छ,’ उनले भने, ‘यसलाई नटुंग्याईकन मुआब्जा तोक्न वा अन्य योजना कार्यान्वयन गर्न नसकिएको हो ।’ स्थानीयको राय लिएर मात्रै भौतिक निर्माणको काममा लाग्ने औद्योगिक व्यवस्थापन लिमिटेडको सुझावअनुसार पछिल्लो समय सार्वजनिक सुनुवाइको तयारी गरेको उनले बताए ।


प्रकाशित : कार्तिक २६, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?