कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भान्सामा बिरलै बसाउँछ कालानमक

कम खर्चमा बढी उत्पादन हुने अन्य उन्नत जातका धानमा किसानको आकर्षण 
मनोज पौडेल

(कपिलवस्तु) — एक समय कसैको भान्सामा कालानमक चामल पाक्दा टोलछिमेक सुगन्धित हुन्थ्यो । खाँदा मुलायम । उस्तै स्वादिष्ट पनि । यसको स्वाद लिने यस्तै बखान गर्थे । डेढ दशकअघिसम्म यहाँ घरमा पाहुना सत्कारमा कालानमकको भात पस्किने गरिन्थ्यो । जिल्लामा यो मान र प्रतिष्ठाको प्रतीक बनेको थियो । बास्नादार प्रजातिको यो धान अहिले सम्झनामा सीमित बनेको छ । 

भान्सामा बिरलै बसाउँछ कालानमक

यो रैथाने धान तराईका भान्सामा बिरलै पाइन्छ । जिल्लाकै पहिचान र कृषकको शानका रूपमा रहेको कालानमक लोप हुँदै गएको छ । लगानीअनुसार प्रतिफल नहुँदा कृषकले लगाउन छाडेका छन् । तराईमा कपिलवस्तु र रूपन्देहीको दक्षिणी क्षेत्रमा खेती हुन्थ्यो । अहिले यसको लागत बढी पर्छ । रोग–कीरा बढी लाग्छन् । धेरै स्याहार गर्नुपर्छ । पानी पनि उत्तिकै बढी चाहिन्छ ।


यसको माग धेरै छ । उत्पादन भने कम छ । राम्रो फलाउन समस्या छ । त्यसैले किसानले यसको खेती गर्न छाडेका छन् । कमैले खेती गरेको देखिन्छ । कम खर्चमा बढी उत्पादन हुने अन्य उन्नत जातका प्रजातिमा किसानको आकर्षण बढेको छ । ‘सिँचाइको राम्रो व्यवस्था रहेको खेतमा कालानमक लगाउन सकिन्छ,’ वरिष्ठ कृषि प्राविधिक राकेश ओझाले भने, ‘धान फल्न पनि बढी समय लाग्छ ।’


त्यसैले कृषकको आकर्षणमा कालानमक नपरेको उनले बताए । कालानमक कपिलवस्तु र रूपन्देहीको ब्रान्ड रहेको किसान संघ केन्द्रीय सदस्य चतुर्भुजमणि त्रिपाठीले बताए । ‘स्थानीय तह, प्रदेश र संघको बाली विकास र संरक्षणका प्रशस्त कार्यक्रम छन्,’ उनले भने, ‘तर, यसको संरक्षणका लागि सबै उदासीन छन् ।’ उनका अनुसार यो शताब्दी पुरानो अनाज हो । अहिले लोप भइसकेको छ । पुर्खाले छाडेको नासो इतिहास बन्न लाग्दा पनि सबै चुपचाप रहेको उनले बताए ।


यो धान पृथक् छ । कालो हुने हुँदा यसलाई कालानमक भन्ने गरिएको कृषक बताउँछन् । डेढ दशकअघि दुवै जिल्लामा १० हजारभन्दा बढी हेक्टरमा कालानमक खेती हुन्थ्यो । ४/५ वर्षदेखि मुस्किलले ६/७ सय हेक्टरमा खेती भइरहेको कृषि ज्ञान केन्द्र प्रमुख रामचन्द्र आर्यालले बताए । ‘२ वर्षअघिसम्म २ बिघामा धन लगाउँथे,’ कपिलवस्तु नगरपालिका–३ का चैतु यादवले भने, ‘अहिले लगाउनै छाडें ।’


सिँचाइ झन्झट, लगानीअनुसार परिश्रम नउठ्ने भएकाले बेवास्तामा परेको हो । ‘पहिला यही धान बढी उत्पादन हुन्थ्यो,’ उनले भने, ‘अहिले हुँदैन, त्यसैले यो वर्ष कालानमक खेती गरिनँ ।’ बर्सेनि नयाँ र उन्नत जातका धानखेती गर्ने क्रम बढ्दै गएका कारण धानका रैथाने जात संकटमा पर्ने खतरा बढ्दै गएको वरिष्ठ कृषि विशेषज्ञ खुर्सेद अहमद खाँले बताए ।


पछिल्ला दिनमा किसानका खेतमा काला रङका धानका बाला झुलेको देखिन छाडेको छ । अन्य जातका पहेंला धान जताततै झुलेको देखिन्छ । जनसंख्या बढ्दै गएका कारण मीठो मसिनोभन्दा पनि परिवारका सबै सदस्यले पेटभरि खानुपर्ने भएकाले कम स्वादिलो भए पनि उन्नत र हाइब्रिड जातका धानखेती गर्नुपर्ने अवस्था आएको पकडीका कृषक सुरेन्द्र त्रिपाठीले बताए ।


यस वर्ष परीक्षणका रूपमा जिल्लामै धेरै कपिलवस्तु नगरपालिका–२ का अध्यक्ष रामभजन कलवारले १५ बिघामा कालानमक लगाएका छन् । ‘अहिलेसम्म राम्रो छ,’ उनले भने, ‘राम्रो उत्पादन भयो भने अर्को वर्ष राम्ररी खेती गर्छु ।’ कलानमक चामल प्रतिकेजी १२० रुपैयाँ पर्छ । यो चामल स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ । यो चामलमा कोलेस्ट्रोटलको मात्र कम हुन्छ । कोलेस्ट्रोल रगतमा पाइने एक प्रकारको बोसो हो । त्यो बढ्दै जाँदा थाहा नपाउने गरी मुटुको समस्या बल्झिन्छ ।


प्रकाशित : कार्तिक २६, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?