कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बंगलादेशी राष्ट्रपतिको भ्रमण : सम्पर्क सञ्जाल, व्यापार र पर्यटनमा समझदारी बन्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबारदेखि गर्न लागेको नेपाल भ्रमण क्रममा दुईदेशीय सम्पर्क सञ्जाल, व्यापार र पर्यटनका प्रमुख विषयमा समझदारी हुने भएको छ ।

बंगलादेशी राष्ट्रपतिको भ्रमण : सम्पर्क सञ्जाल, व्यापार र पर्यटनमा समझदारी बन्ने

परराष्ट्र मन्त्रालयमा दक्षिण एसिया मामला हेर्ने एक अधिकारीका अनुसार, राष्ट्रपति हमिदको भ्रमण क्रममा दुईदेशीय सहमति र समझदारीका नयाँ आधारहरू पहिल्याउने काम हुनेछ । ‘तर, औपचारिक सम्झौता अथवा हस्ताक्षर गर्ने तहमा केही निर्णय हुने छैन,’ ती अधिकारीले भने । राष्ट्रपति हमिदका साथमा आउने विदेश सचिव सइदुल हकसहितको प्रतिनिधिमण्डलले नेपाली समकक्षीसँग भेटवार्ता गर्दै छ ।


‘बंगलादेश भूगोल र अवस्थितिका आधारमा नेपालको निकटको छिमेकी हो,’ बंगलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले कान्तिपुरसँग भने, ‘तर सामान्य तहका समझदारी र व्यवस्थापन हुन नसकेको देखिन्छ, यही विषयमा हामी समझदारी तय गर्नमा लाग्नेछौं ।’ राजदूत मिश्रका अनुसार, विगतमा रहेको सडक सम्पर्क सञ्जालको भुटान, बंगलादेश, इन्डिया र नेपाल (बीबीआईएन) संयन्त्रबाट भुटान बाहिरिएपछि अब त्रिदेशीय ‘बीआईएन’ सडक सम्पर्क सञ्जाललाई अघि बढाउन छलफल हुने भएको छ । गत अक्टोबरमा सम्पन्न नेपाल–बंगलादेश सहसचिवस्तरीय संयन्त्र बैठकमा सडक सम्पर्क सञ्जालबारे प्राविधिक तहमा सहमति भैसकेको छ ।


समझदारीका यी कतिपय बुँदामाथि मंसिर अन्तिम साता बंगलादेश भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक सहमति गर्ने परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ ।


राजदूत मिश्रका अनुसार, हवाई सम्पर्क विस्तारका लागि विराटनगर वा भद्रपुरबाट बंगलादेशको सैदपुर विमानस्थलमा क्षेत्रीय प्रकारको उडान सम्पर्क सुरु गर्नका लागि पहल हुने भएको छ । अहिले काठमाडौंबाट ढाकाका लागि हिमालयन एयरलाइन्स र ढाकाबाट विमान बंगलादेशले काठमाडौं नियमित उडान भरिरहेको छ । ‘हामीले सतह वा हवाई मार्ग जताबाट आए पनि बंगलादेशी नागरिकलाई अन–एराइभल भिसा दिएका छौं,’ राजदूत मिश्रले भने, ‘तर बंगलादेशले भने ढाका विमानस्थलमा मात्रै नेपालीलाई अन–एराइभल भिसा दिएको छ, यो विभेद हटाउनेबारे छलफल हुनेछ ।’ यसैगरी, ढाकाबाट दिल्ली हुँदै काठमाडौं आउने यात्रुका हकमा भारतले ‘मल्टिपल इन्ट्री भिसा’ हटाएर ‘ट्रान्जिट भिसा’ मात्रै दिएकोमा यसबाट उब्जिएको कठिनाइ सुल्झाउन त्रिदेशीय छलफल जरुरी रहेको राजदूतले बताए ।


व्यापारका हकमा, बंगलादेशसाग सहुलियतपूर्ण व्यापार सम्झौता (पीटीए) गर्ने प्रक्रियामा नेपाल रहेको र यसमा वाणिज्य सचिवस्तरीय सैद्धान्तिक सहमति भैसकेको छ । ‘नेपालले शून्य भन्सार दरमा निर्यात गर्ने र सहुलियतपूर्ण दरमा आयात गर्ने प्रकारको सहमति यसमा बन्दै छ,’ राजदूत मिश्रले भने, ‘यसो भएमा नेपालको बंगलादेशसँग रहेको व्यापार घाटा सन्तुलनमा ल्याउन सकिनेछ ।’ अहिले नेपालबाट औसतमा १ अर्ब रुपैयाँको निर्यात छ भने ५ अर्ब रुपैयाँबराबारको आयात छ । पीटीए सम्झौता हुन सकेमा नेपालबाट अदुवा, अलैंची, अम्लिसो, धागो, सिमेन्टको निर्यात बढ्ने अपेक्षा गरिएको छ ।


‘सतहमार्गबाट ढाका–काठमाडौं वा काकडभिट्टा–ढाका बस सञ्चालन गर्नेबारे पनि छलफल जरुरी भएको छ,’ राजदूत मिश्रले भने, ‘अहिले धेरैजसो हवाई सम्पर्कका भरमा मात्रै यात्रु आवतजावत भैरहेको अवस्था छ ।’ बंगलादेशबाट बर्सेनि झन्डै २५ हजार यात्रु नेपाल आउने गरेका छन् । राजदूतका अनुसार, १७ करोड जनसंख्या रहेको बंगलादेशमा झन्डै डेढ करोड हिन्दु छन् । आवतजावतको सहज सञ्जाल नहुँदा चाहेर पनि बंगलादेशी नागरिक नेपाल आउन सकेका छैनन् । बंगलादेशमा झन्डै ४ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । यसमध्ये ३५ सय जति मेडिकल शिक्षामा र अन्य कृषि, शिक्षामा छन् ।


ऊर्जामा पनि छलफल

बंगलादेशी राष्ट्रपतिको भ्रमणको क्रममा दुई देशबीच ऊर्जा व्यापारको लागि सैद्धान्तिक सहमतिको तयारी पनि भएको छ । नेपाल र बंगलादेशबीच गत वर्ष ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बंगलादेशले नेपालमा जलविद्युत् आयोजनामा लगानी गर्ने र नेपालबाट विद्युत् आयात गर्नका लागि चासो देखाउँदै आएको छ । बंगलादेशले आफ्नो सरकारी योजनामा सन् २०४० सम्ममा ९ हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने विषय राख्दै आएको छ ।


नेपालले बंगलादेशसँग विद्युत् बिक्री गर्ने विषयमा भारतसँगको ऊर्जा सचिवस्तरीय बैठकमा समेत छलफल अघि बढाएको थियो । असोज अन्तिम साता भारतको बैंग्लोरमा भएको दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा नेपाल, बंगलादेश र भारतबीच विद्युत् व्यापारको विषयमा छलफल गर्न भारतको विदेश मन्त्रालयले तीन महिनाभित्र तीन देशका सरोकारवालालाई बैठकमा बोलाउने सहमति भएको थियो ।


नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यको विषयमा छलफलका लागि दुवै देशका ऊर्जा सचिव र सहसचिवस्तरीय संयन्त्र गठन भएको छ । यो संयन्त्रले काठमाडौं र ढाकामा गरी दुईपटक बैठक गरिसकेको छ ।


पुराना सम्झौता थाती

नेपाल–बंगलादेशबीच भएका अधिकांश व्यापार सम्झौता थाती नै छन् । दुई मुलुकबीच हुने व्यापारमा भारतको पनि सहमति अनिवार्य चाहिने हुँदा सम्झौताहरू थाती रहेका हुन् ।


पूर्व वाणिज्य सहसचिव रविशंकर सैंजूका अनुसार काठमाडौंदेखि ढाकासम्म बस सञ्चालन गर्दा भारतको अनुमति अनिवार्य चाहिन्छ । तर, भारतबाट सहमति जुट्न नसक्दा सम्झौताहरू कार्यान्वयन हुन सकेका छैनन् । ‘२०७५ जेठमा भएको वाणिज्य सचिवस्तरीय बैठकमा बंगलादेशको सैयादपुरबाट भद्रपुर अथवा विराटनगरसम्म हवाई सेवा सञ्चालन गर्न सकारात्मक थिए । हवाईसँगै रेलमार्गमा पनि थियो,’ तत्कालीन बैठकको संयोजकसमेत रहेका सैंजूले भने, ‘हवाईमार्गको सन्दर्भमा दुई–तीनपटक छलफल भयो । हरेक बैठकमा कुरा उठ्छ । तर, अगाडि बढेको छैन ।’


सैंजूका अनुसार काठमाडौंदेखि ढाकासम्म यात्रुबाहक बस सञ्चालन गर्ने विषयमा पनि पटकपटक छलफल हुन्छ । यही सन्दर्भमा बीबीआईएन मोटर भेहिकल सम्झौता पनि छलफल भएको छ । बीबीआईएनमा भुटान, बंगलादेश, नेपाल र भारत छन् । बस सञ्चालन हुन सकेको छैन । पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले पनि बीबीआईएनबाटै हस्ताक्षर नहँदा सञ्चालन हुन नसकेको बताए । उनका अनुसार बीबीआईएनमा प्रोटोकल फाइनल भए पनि हस्ताक्षर भएको छैन । हस्ताक्षर हुँदा कार्यान्वयनमा हुन सकेको छैन ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हरेक वार्तामा एकभन्दा बढी वस्तुमा सहुलियतपूर्ण बजार पहुँच पाउने सहमति हुन्छ । बंगलादेशले करिब १ सय ८ वस्तुमा सुविधा दिने सहमति जनानए पनि कार्यान्वयन हुन सकेको छैन । ‘१०८ वस्तुमा सुविधा दिए पनि नेपालको फाइदा छैन,’ सैंजूले भने । सैंजूका अनुसार सहुलियतपूर्ण व्यापार सम्झौता (पीटीए) गर्ने कुरामा रोकिएको छ । बंगलादेशले पनि सुविधा मागेपछि पुनरावलोकनको क्रम रोकिएको छ । दुई मुलुकको व्यापार वृद्धि गर्न हार्मोनाइज सिस्टम (एचएस) कोडमा पनि परिमार्जन गर्ने, एचएस कोड ८ बाट ६ मा झार्ने निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन । एचएस कोड ६ मा झर्दा धेरै वस्तुलाई समेट्न सकिन्छ । त्यसले व्यापारमा सहजीकरण हुन्छ । साल्ट ट्रेडिङ र बंगलादेशको संस्थानबीच सामान आदानप्रादन गर्ने हरेक छलफलमा सहमति हुन्छ । कार्यावन्यन हुन सकेको नसकेको सैंजूको दाबी छ । हालै राजधानीमा सम्पन्न नेपाल बंगलादेश प्राविधिक समितिमा बैठकमा पनि साल्ट ट्रेडिङ र बंगलादेशको संस्थानबीच सामान आदानप्रादन गर्ने सहमति भएको थियो ।


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार बंगलादेशसँग निरन्तर व्यापार घाटामा छ । २०७५/७६ मा ४ अर्ब २४ करोड रुपैयाँको आयात भएको छ । निर्यात भने १ अर्ब २९ करोड रुपैयाँको मात्रै छ । सबैभन्दा बढी मुसुरोको १ अर्ब २३ करोडको मुसुरो निर्यात भएको छ । अदुवा, गोलभेंडा, काउली, अदुवा, जुस, फर्निचर, तरकारीको बीउलगायत भने नगन्य छ । आयात भने सबैभन्दा बढी जुस, जुट टेक्सटाइल,कास्टिक सोडालगायतको आयात भएको छ । आर्थिक वर्ष २०७४/७५ मा पनि ४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको थियो । निर्यात भने १ अर्ब ८ करोड रुपैयाँको मात्रै भएको उल्लेख छ । सैंजूका अनुसार बंगलादेशबाट तयारी वस्तुभन्दा भ्यालु एडिसनको वस्तु आयात गर्दा फाइदा हुन्छ ।


निर्यात व्यापारका लागि चीन भारतभन्दा बंगलादेशसँग कठिनाइ छ । मन्त्रालयका अनुसार बंगलादेशबाट करिब १२ कम्पनीका औषधि आयात हुन्छ । नेपालबाट औषधि निर्यात हुन सकेको छैन । ‘बंगलादेशमा नियम कडा बनाइएको छ । नेपालको हकमा डब्लूटीओअनुसार केही सहुलियत छ । बंगलादेशले ५/७ प्रकारका कर लगाउँछ,’ उनले भने, ‘अधिकांश वस्तुमा १०० प्रतिशतसम्म भन्सार महसुल हुँदा निर्यातमा समस्या छ ।’



प्रकाशित : कार्तिक २६, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?