अलिबाबाले तोड्यो बिक्रीको रेकर्ड

कान्तिपुर संवाददाता

एजेन्सी — चिनियाँ ईकमर्स साइट अलिबाबाले एकै दिन बिक्री हुने रेकर्ड तोडेको छ । अंग्रेजी पात्रोको नोभेम्बर महिनाको ११ तारिखमा अलिबाबाले छुट अफर दिँदै आएको छ ।

अलिबाबाले तोड्यो बिक्रीको रेकर्ड

११ वर्ष अघिदेखि सुरु भएको यो अफरमा सोमबार दिउँसोसम्ममा ३० अर्ब डलर भन्दा बढीको व्यापार भएको कम्पनीले सार्वजनिक गरेको छ ।


अघिल्लो वर्ष सोही दिन २४ घण्टामा ३० अर्ब डलरको व्यापार भएको छ । सिंगल्स डे नाम दिइएको यो सेल सुरु भएको करिब १४ घण्टामा यसअघिको रेकर्ड तोडिएको हो ।


आइतबार राति १२ बजे सेल सुरु हुनु अघि विश्वचर्चित गायिका टेलर स्वीफ्टको सांगितिक प्रस्तुति दिएकी थिइन् । अलिबाबाका संस्थापक ज्याक माले यही वर्ष कम्पनी छाड्ने घोषणा गरेका थिए ।


केही महिनाअघि उनले समाजसेवामा लाग्ने भन्दै कम्पनीको पद त्यागेको घोषणा गरेका थिए । उनको बहिर्गमनसँगै डेनियल जाङ अलिबाबाको कार्यकारी अध्यक्ष बनेका छन् ।


अलिबाबाका अनुसार बिक्री सुरु भएको एक मिनेटमै एक अर्बको सामान बिक्री भएको थियो ।


अलिबाबाले सन् २००९ देखि सेप्टेम्बर ११ लाई सपिङ डे नाम दिएर छुटसहितको अफर सुरु गरेको हो । अनलाइन सपिङको बानी बसाउन सिंगल्स डे नाम दिएर यो अभियान सुरु भएको थियो । सुरुवाति वर्षमा २७ वटा व्यापारीको सामान वेबसाइटमा राखिएको थियो । यो वर्ष अलिबाबाको प्लेटफर्ममा २ लाख बढी ब्राण्डहरु राखिएको कम्पनीले जनाएको छ ।


बिक्री सुरु भएको १६ घण्टासम्ममा एक अर्ब भन्दा बढी सामानको अर्डर आएको कम्पनीले जनाएको छ । यो अघिल्लो वर्षको कूल अर्डर भन्दा बढी हो ।


नेपालमा सञ्चालित दराज अनलाइन पनि अलिबाबाको स्वामित्वमा छ । दराज अनलाइनले पनि सोमबार ११.११ नाम दिएर छुट अफर दिएको थियो । यो छुटमा बिक्रीका लागि राखिएको सामानमा ८० प्रतिशतसम्म छुट दिइएको दराज अनलाइनले जनाएको छ । तर, दराजले सोमबार साँझसम्म बिक्री सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छैन ।

प्रकाशित : कार्तिक २५, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?