कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान उत्पादन ८ % घट्ने, कुल गार्हस्थ उत्पादनमै प्रभाव पर्ने

कृषितर्फको कुल गार्हस्थ्य उत्पादनमा धानको मात्रै १३ देखि १७ प्रतिशत योगदान
राजु चौधरी

मनसुनमा ढिलाइ, धानको नक्कली बीउ, फौजी किराको प्रकोपलगायत कारणले यस वर्ष धान उत्पादन करिब ८ प्रतिशत घट्ने अनुमान गरिएको छ । सिजनमा मल अभाव हुनु र सिँचाइ असुविधाले पनि उत्पादन घट्ने आकलन गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार वर्षे धानको कुल रोपाइँ हुने क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर हो ।

धान उत्पादन ८ % घट्ने, कुल गार्हस्थ उत्पादनमै प्रभाव पर्ने

दस दिन ढिलो सुरु मनसुनले रोपाइँ १३ लाख ८ सय ३० हेक्टर मात्रै भएको छ । नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.७ टन छ । ७० हजार ८ सय ७६ हेक्टरमा रोपाइँ नहुँदा २ लाख ६२ हजार २ सय ४१ टन उत्पादनमा कमी आउने मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए । ‘रोपाइँमा भएको कमीसँगै प्रकोपले पनि केही असर गरेको देखिन्छ,’ उनले भने ।


नेपालको धान खेती मनसुनमा आधारित छ । गत वर्ष मनसुनले साथ दिँदा उत्पादन राम्रो भएको थियो । ५६ लाख १० हजार टन धान उत्पादन भयो । उक्त परिमाणमा उत्पादन हुँदा मागको करिब ५ लाख टन अपुग थियो । अहिले रोपाइँको क्षेत्रफल घट्दा उत्पादनसँगै आयात पनि बढ्ने आकलन गरिएको छ । सरकारकै तथ्यांकअनुसार चामल खरिदमा अर्बौं रुपैयाँ बाहिरिएको छ ।

यस वर्ष उत्पादनमै कमी हुँदा आयात थप बढ्ने जानकारहरू बताउँछन् । ‘गत वर्ष चैते धानसहित १४ लाख ९१ हजार ७ सय ४४ हेक्टरमा खेती भएको थियो । चैते धान १ लाख २० हजार हेक्टरमा हुन्छ, बाँकी वर्षे धानको क्षेत्रफल हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘गत वर्षको तुलनामा रोपाइँ पनि करिब ५ प्रतिशतले घटेको छ । यसले उत्पादनमा करिब ७/८ प्रतिशत घट्ने अनुमान गरिएको छ ।’


नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत हो । कृषितर्फको कुल गार्हस्थ्य उत्पादनमा धानको मात्रै १३ देखि १७ प्रतिशत योगदान रहेको रेग्मीले बताए । अर्थविद् केशव आचार्यले धानको उत्पादन घट्दा समग्र जीडीपीलाई आधा प्रतिशत विन्दुले घटाउने बताए । यसले अप्रत्यक्ष रूपमा अर्थतन्त्रमा संकुचन ल्याउने उनले बताए ।

यसबाट किसान मारमा पर्ने उनले बताए । ‘किसानका लागि वर्षभरिको जीवन हो, धान बिक्री गरेर गैरकृषि वस्तु किन्छन् । घर खर्च धान्छन्,’ अर्थविद् आचार्यले भने, ‘जीडीपीमा आधा प्रतिशत कम योगदान भए पनि ३० औं लाख किसानलाई मार पर्ने देखियो ।’ किसानलाई मर्का हुन नदिन उत्पादन घट्दा धानको मूल्य सोही अनुपातमा बढ्नुपर्ने बताए । ‘यीबाहेक चामलको आयात पनि बढाउँछ, व्यापार घाटालाई पनि धकेल्छ,’ आचार्यले भने ।


धान बालीलाई मुख्यतः युरिया र डीएपी मल चाहिन्छ । सरकारसँग पर्याप्त मल नहुँदा किसानलाई थप मर्का परेको थियो । मौसम सक्रिय भएपछि तराईमा आएको बाढीले धानबालीमा थप क्षति पुगेको थियो । धान काट्ने बेलामा फौजी किराको प्रकोपले थप असर पुगेको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार फौजी किराले करिब २० हजार हेक्टरमा क्षति गरेको छ । गरिमा जातको हाइब्रिड बीउको नाममा नक्कली बीउ बिक्री भएपछि करिब १४ सय हेक्टर धानमा असर गरेको छ । ‘गरिमा र फौजीले मात्रै करिब ८० हजार टन उत्पादनमा कमी हुने देखिन्छ,’ मन्त्रालयका ती अधिकारीले भने ।


कृषि सचिव युवकध्यज जीसीले मनसुन ढिलाइ र फौजी किराको प्रकोपका कारण केही घट्न सक्ने बताए । यीबाहेक गरिमा धान लगाएको क्षेत्रफलमा पनि उत्पादन घट्न सक्ने अवस्था देखिएको उनको भनाई छ । ‘यस वर्ष उत्पादन बढाउने लक्ष्य थियो । तर, राम्रोसँग बढाउन सक्ने अवस्था भएन,’ सचिव जीसीले भने, ‘क्षति मूल्यांकन समिति गठन भएको छ । सबै तथ्यांक आएपछि उत्पादनबारे यकिन हुन्छ ।’

मन्त्रालयका अनुसार उपसचिवको संयोजकत्वमा ७ वटै प्रदेशमा धान उत्पादनको विवरण संकलन गर्न कमिटी गठन गरिएको छ । वरिष्ठ तथ्यांक अधिकृत रेग्मीका अनुसार ७ प्रदेशमा ७ वटा टोली खटाइनेछ । एउटा टोलीमा ३ जना कर्मचारी रहन्छन् । टोली तरार्ईमा केन्द्रित हुने रेग्मीले बताए ।


२४ अर्बको चामल आयात
भन्सार विभागको तथ्याङक अनुसार आर्थिक वर्ष ०७५/७६ मा २४ अर्ब ६३ करोड रुपैयाँको चामल आयात भएको छ । यो अघिल्लो वर्ष ०७४/७५ को तुलनामा १ अर्ब ८१ करोड रुपैयाँले बढी हो ।

आर्थिक वर्ष ०७४/७५ मा २२ अर्ब ८२ करोड रुपैयाँको चामल आयात भएको थियो । चामलको आयात निरन्तर बढ्दो छ । ०७३/७४ मा चामल खरिदमा १८ अर्ब ७७ करोड रुपैयाँ बाहिरिएको तथ्यांकमा उल्लेख छ । यस्तै चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ३० करोड ७१ लाख रुपैयाँको आयात भएको छ । धानको उत्पादन घट्दा चामल आयातमा थप वृद्धि हुने विभागको अनुमान छ ।

उत्पादन घट्नुको कारण

मनसुनमा ढिलाइ
रासायनिक मल अभाव
तराईमा आएको बाढी
७० हजार ८ सय हेक्टरमा रोपाइँ नै भएन
फौजी किराको प्रकोप
नक्कली बीउ पसाएन

प्रकाशित : कार्तिक २५, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?