२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मासियो सलकपुरको सुन्तला

पर्वत पोर्तेल

(सलकपुर, इलाम) — कात्तिकदेखि नै लटरम्म फलेका सुन्तलाले दक्षिणी इलामको सानो गाउँ सलकपुर पहेंलपुर हुन्थ्यो । गाउँको नामै ‘गोल्डेन भ्याली’ राखिएको थियो । ६ वर्षयता भने पहेंलपुर सुन्तला फल्ने यो गाउँले पहिचान गुमाउँदै छ । लटरम्म सुन्तला फल्ने बोटहरू क्रमश: मासिन थालेका छन् ।

मासियो सलकपुरको सुन्तला

‘विगतमा हरेक शनिबार र आइतबार सुन्तला खरिद गर्न आउने भारतीय पर्यटकले गाउँ भरिभराउ हुन्थ्यो,’ स्थानीय सुन्तला किसान लाखमान तामाङले सुनाए, ‘बोटै मासिन थालेपछि न सुन्तला फलोस्, न त पर्यटक नै आउन् ।’


विगतमा भारतको मिरिक, दार्जिलिङ, सिलिगुडी, सिक्किम, कोलकातालगायतबाट सुन्तला खरिद गर्न भारतीय व्यापारी र पर्यटक आउँथे । कात्तिक पहिलो सातादेखि पुस पहिलो सातासम्म सुन्तला पाक्ने सिजन हो । रोङ गाउँपालिका–६ सलकपुरका सत्यम राईको करिब ४० रोपनी क्षेत्रमा सुन्तलाको बगान थियो । अहिले सबै बोट मासियो ।


स्थानीय लाखमान तामाङ, कौसिला तामाङलगायत सयभन्दा बढी किसानको हविगत पनि उस्तै छ । ‘सुन्तले गाउँका रूपमा पहिचान बनाएको सलकपुरको पहिचानै संकटग्रस्त बन्न पुगेको छ,’ अर्का स्थानीय सुवास भण्डारीले भने, ‘बर्सेनि सुन्तला बगानहरू मासिँदै छन् ।’ सलकपुरमा प्रतिघर कम्तीमा ५० देखि बढीमा ३ सय बोटसम्म सुन्तला खेती हुँदै आएको थियो । अज्ञात रोगको संक्रमणका कारण कुल सुन्तला बगानमध्ये ९० प्रतिशत हाराहारी मासिइसकेको छ । बाँकी पनि क्रमश: मासिने क्रममा छ । किसान लाखमानले झ्याङ सुकेर बोट दाउराका रूपमा प्रयोग गर्न बाध्य भएको बताए । ‘यी बोटले पहिला सुन्तला खुवाए, अहिले दाउरा बालेर भात खुवाइरहेका छन्,’ उनले भने । स्थानीयवासीको मुख्य नगदेबाली सुन्तला खेतीबाट वार्षिक ३ करोड बढी आम्दानी हुन्थ्यो । स्थानीय किसान कुमार मोक्तानका अनुसार सुन्तलाका बोट सुक्दै मर्न थालेपछि आम्दानीको दरिलो स्रोत नै गुमेको छ ।


कारण पत्ता लागेन

स्थानीयका अनुसार पहिला जरा कुहिने, पात चाउरिँदै झर्ने र सिंगो बोट नै सुक्दै जाने समस्या देखिएको लामो समय बित्यो । यो समस्याले सिंगो सुन्तला बगानै मासिँदासमेत कृषि सम्बद्ध निकायले खास चासो नदिएको स्थानीयको आरोप छ । करिब २ वर्षअघि बाली संरक्षण प्रयोगशाला विराटनगरले ‘सर्भे एन्ड सर्भिलेन्स’ नामक योजना बनाएर अनुसन्धानका लागि लाखौं बजेट समेत विनियोजन गरेको थियो । कृषिविज्ञ र प्राविधिकसहितको टोलीले वर्ष दिन लगाएर अनुसन्धान पनि गर्‍यो । तर, लाखौं खर्चिएर भएको अनुसन्धानको रिपोर्ट अहिलेसम्म बाहिर नआएको स्थानीयको आरोप छ ।




प्रकाशित : कार्तिक २४, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?