कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

धान महोत्सवस्थलमा घाँस

बुद्धकालीन रोपाइँ परम्परा जोगाउन राजकीय रोपाइँ मंगलोत्सव कार्यक्रम गरिए पनि स्याहार नपुग्दा हुर्किएन धान
मनोज पौडेल

(कपिलवस्तु) — गत असार १६ गते बुद्धस्थल तिलौराकोटको पूर्वी द्वारनजिक २६ सय वर्षअघिको झल्को दिने गरी राजकीय धान रोपाइँ मंगलोत्सव आयोजना गरियो । लुङ्दा, बौद्ध झन्डा र ध्वजापताकाले सिंगारेर बुद्धमय बनाइयो । धान मंगलोत्सव हेर्न चीन, थाइल्यान्ड र म्यानमारका भिक्षु/भिक्षुणी र उपासक/उपासिका आएका थिए । 

धान महोत्सवस्थलमा घाँस

कृषिमन्त्री चक्रपाणि खनालले हलो जोतेर मंगलोत्सव शुभारम्भ गरे । उनले धान रोपेका थिए । त्यसरी रोपेको धान सप्रिएन । जम्मा साढे दुई महिना रोपो बाँच्यो । गाँज हाल्ने बेला सुक्यो । स्याहार पाएन । काला नमक धान रोपिएको थियो । त्यसलाई पानी र मल चाहिन्छ । सिँचाइ गर्ने र मल हाल्ने कोही भएन । त्यसपछि वस्तुभाउले चरे ।


कपिलवस्तु नगरपालिका–३ तिलौराकोटको पूर्व दुई कट्ठामा धान रोपिएको थियो । अहिले त्यहाँ घाँस र झारले भरिएको छ । धानका बोट छैनन् । चरन स्थल बनेको छ । दैनिक ५०/६० चौपाया त्यहाँ भेटिन्छन् । पुरातत्त्व विभागले अधिग्रहण गरेको जग्गामा धान मंगलोत्सव मनाइएको थियो । त्यस आसपास स्थानीयका खेतमा धानका बाला झुलेका छन् । ‘गत असार १६ गते खडेरी थियो,’ स्थानीय सुग्रीव मल्लाहले भने, ‘एक दिन एक रात पम्पसेटले पानी चलाइयो । त्यसपछि बल्ल धान रोपिएको थियो । धेरै लगानी र मिहिनेतले रोपेको धान स्याहार नपुगेर मरे ।’


गत असार १६ गते राजकीय धान रोपाइँ मंगलोत्सवमा कालानमक धान रोप्दै कृषिमन्त्री चक्रपाणि खनाललगायत । तस्बिर : मनोज/कान्तिपुर


बुद्धकालीन रोपाइँ परम्परा जोगाउन लुम्बिनी विकासका कोषाध्यक्ष उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले यहाँ राजकीय रोपाइँ मंगलोत्सव कार्यक्रम शुभारम्भ थालेका थिए । स्याहार नगरेर कोषले लापरबाही गरेको स्थानीय महेश चौधरीले बताए । ‘कार्यक्रमका लागि लाखौं खर्च गरियो,’ उनले भने, ‘त्यो पानीमा बगेजस्तै भयो ।’ यस्तो गर्नुभन्दा कार्यक्रम नै नगर्नु बेस हुने उनले सुनाए । पहिलो वर्ष हेरचार गरेका कारण राम्रो उत्पादन भएको थियो । अहिले कार्यक्रमलाई औपचारिकतामा सीमित गर्दा नराम्रो सन्देश गयो । ‘मन्त्रीकै आतिथ्यतामा कार्यक्रम गरेर हेलचेक्र्याइँ गर्नु राम्रो होइन,’ मन्त्रीका स्वकीय सहायक विजय जयसवालले भने, ‘यसबाट मन्त्री दु:खी हुनुहुन्छ ।’ अब फेरि कोषको कार्यक्रममा जाँदा विचार गर्नुपर्ने उनले बताए । तिलौराकोट दरबार रेखदेखका लागि कोषले यहाँ सम्पर्क कार्यालय राखेको छ । तीन जना सुरक्षा गार्ड छन् । तर, खेतमा रोपिएको धान बचाउन पहल नगरेको देखियो ।


‘जनशक्ति न्यून छ,’ कोषको तिलौराकोट सम्पर्क कार्यालय प्रमुख माधव आचार्यले भने, ‘दरबार संरक्षण गर्ने कि खेत !’ खुला ठाउँमा खेत हुँदा केही दिनसम्म गार्डहरूले ड्युटी गरे । तर, रातिमा चौपाया आएर धान खाइदिँदा बचाउन नसकिएको उनले बताए । कोषले आवश्यक सतर्कता अपनाउन नसकेको उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।


सारस ब्रान्ड चामल

राजकीय धान रोपाइँ मंगलोत्सव गरी रोपिएको धानको चामललाई सारस ब्रान्ड बनाएर पर्यटक लोभ्याउने घोषणा गरिएको थियो । धान मंगलोत्सवकै दिन लुम्बिनी आसपास पाँच हेक्टर र यहाँ काला नमक धान रोपाइँ गरिएको थियो । उत्पादित चामल लुम्बिनी र कपिलवस्तुका होटलमा पर्यटकका लागि खानाका रूपमा खुवाइने बताइएको थियो । तर, जुन ठाउँमा २६ सय वर्षअघि नै रोपाइँ उत्सव हुन्थ्यो, त्यहाँको चामल भने ब्रान्ड बन्न सकेन । ‘अब लुम्बिनीकै भए पनि यस वर्षदेखि चामलको ब्रान्ड बनाउँछौं,’ उपाध्यक्ष त्रिपाठीले भने । यसले बुद्धकालमै रहेको काला नमक धान ब्रान्ड बन्छ । काला नमक धान सारसलाई पनि मन पर्छ । धानमा ओथारो बस्न मन पराउँछ । त्यसैले चामलसँग सारसको सम्बन्ध जोड्न पनि सारस ब्रान्ड नामकरण गरेको उनले बताए ।


प्रकाशित : कार्तिक २४, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?