तरकारीमा जथाभावी विषादी

ठाकुरसिंह थारु

(बर्दिया) — उत्पादन वृद्धि र बजारमा ताजा देखाउन किसानले नै प्रतिबन्धित विषादी तरकारीमा प्रयोग गर्ने गरेका छन् । 
बजार लैजान ठिक्क पारेको तरकारीमा समेत विषादी राख्दा त्यसको असर उपभोक्तामा पर्ने गरेको छ । सरकारले दुई वर्षअघि नै प्रतिबन्ध लगाएको डाइथेन नामक विषादी प्रयोग गर्ने गरेको अनुगमनमा भेटिएको हो । प्रतिबन्धित भए पनि यो विषादी बजारमा सहजै उपलब्ध छ । बजारमा भने अझै बिक्री भइरहेको छ ।

तरकारीमा जथाभावी विषादी

विषादी छरेको एक–दुई दिनमै बिक्रीका लागि बजार पठाउँदा उपभोक्ताले विष खाइरहेका छन् । ‘त्यसैले उपभोक्ता सचेत हुनुपर्‍यो । त्यससँगै किसानले विषादी कम प्रयोग गर्नुपर्छ,’ प्रदेशका १२ जिल्लाको विषादी हेर्ने कार्य क्षेत्र रहेको बाँके खजुरास्थित बाली संरक्षण प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत पुष्पराज बेल्बासे भन्छन् ।


कृषिका लागि रोगनाशक मेनकोजेव, कार्बेनलगायत विषादी आयात गरिँदै आएको छ ।


किटनाशकका लागि अर्गनो प्रस्टेक, कर्बोमेट, सेन्थेटिट पाइसी फ्राइद र जिंकलगायत विषादी आयात हुने गरेको हो । उनले विषादी प्रयोग अत्यधिक रहेको बताए । ‘फिल्ड गएको बेला किसानले विषादी प्रयोग गरेको देख्दा हामी नै दंग पर्‍यौं,’ उनले भने, ‘जानकारी माग्दा अरूको बारीबाट किरा आउने भएकाले जोगाउन विषादी छर्केको बताए ।’ प्रदेशमा विषादी प्रयोगको अभिलेख हेर्ने हो नेपालमा आयत हुनेमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग भएको पाइएको छ ।


अध्ययनअनुसार तरकारीमा १ दशमलव ६ किलोग्राम विषादी प्रतिहेक्टरमा प्रयोग भइरहेको छ । नेपालमा हाल ३९६ ग्राम एआई प्रतिहेक्टरका दरले विषादी प्रयोग भइरहेको छ । यसअघि १२५ ग्राम एआई प्रतिहेक्टरका दरले विषादी प्रयोग भएको थियो । गत आवको तथ्यांकअनुसार ६ सय टन विषादी आयात गरिएको थियो ।


कृषि क्षेत्रमा प्रयोग हुने विषादी ७५ देखि ८० करोडसम्मको आयात भइरहेको छ । ‘यो अभिलेखले पनि विषादीको प्रयोग अधिक भइरहेको पुष्टि गर्छ,’ उनले भने, ‘यसैगरी विषादीको प्रयोग बढ्दै जाने हो भने ठूलै समस्या आउन सक्छ ।’


अत्यधिक विषादीको प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ । विषादी कारण क्यान्सर, मुटुरोग, अशक्त शिशु जन्मिनुलगायत असर देखिन्छन् । त्यसैले कृषि प्राविधिकले वनस्पतिक विषादीमा जोड दिने गरेका छन् । आव ०७४/७५ को तथ्यांक हेर्ने हो भने बर्दियामा ३ हजार ६ सय ३३ मेजी/लिटर विषादी खपत भएको छ ।


बाँकेमा १६ हजार १ सय ५, दाङमा २२ हजार ६ सय ८३, पूर्वी रुकुममा १ सय ९७, रोल्पामा २ हजार २ सय ९९, प्यूठानमा १ हजार ३ सय ९०, कपिलवस्तु १३ हजार ७ सय ८२, अर्घाखाँचीमा ५७, पाल्पा १ हजार २ सय ११, गुल्मी २ सय ७९, रूपन्देही १५ हजार ७ सय ६५ र नवलपरासीमा २६ हजार ६ सय ९५ दशमलव ५५ किलो/लिटर विषादी प्रयोग भएको अभिलेख छ । पछिल्लो समय घाँस मार्नका लागि पनि विषादी प्रयोग गर्ने चलन बढेको छ ।

प्रकाशित : कार्तिक २४, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?