कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महासंघको विशेष साधारणसभा स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — विधान संशोधनका लागि आगामी कात्तिक २९ गते बोलाइएको उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित हुने भएको छ । 

महासंघको विशेष साधारणसभा स्थगित

शुक्रबार साँझ बसेको विधान संशोधन कार्यदलको बैठकले विशेष साधारणसभा स्थगीत गर्ने, अध्यक्ष संम्बन्धी विधानको हालको व्यवस्था संशोधन नगर्ने र संशोधन गर्नुपर्ने अन्य विषय नियमित साधारणसभाबाट गर्ने निर्णय गरेको हो । ‘यो निर्णय महासंघको कार्य समितिलाई समितिमा सिफारिस गर्ने छौ,’ कार्यदलका संयोजक तथा महासंघका विशेष सदस्य चण्डीराज ढकालले भने, ‘उसले हाम्रो निर्णय अनुसार विशेष सधारणसभा बोलाउने विषयलाई स्थगित गर्ने छ ।’

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । योसहित विधानका विभिन्न विषयमा संशोधन गर्न कात्तिक २९ गते विशेष साधारणसभा बोलाइएको थियो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने हालको व्यवस्था संशोधन गरी प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चुन्ने व्यवस्था ल्याउने तयारी थियो । विधान संशोधन कार्यदलले यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेपछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने बाटो खुला भएको छ ।


‘यस पटक मात्रै हैन, आउँदो नियमित साधारणसभामा पनि अध्यक्ष सम्बन्धी हालको व्यवस्था परिवर्तन गर्ने सिफारिस गरेका छौँ,’ ढकालले भने, ‘विधानका अन्य विषयको संशोधन गर्नुपरे नियमित साधारणसभामा प्रस्तुत हुने र त्यहि निर्णय हुने छ ।’


गत साउन ३१ गते विशेष सधारणसभा बोलाउने र अध्यक्ष सम्बन्धी व्यवस्था परिवर्तनको गृहकार्य सुरु भएलगत्तै महासंघका धुव्रिकरण भएको थियो । प्रत्यक्ष निर्वाचन प्रणाली वा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने भन्ने विषयमा निजी क्षेत्रका अधिकारीहरु विभाजित भएका थिए ।


सात पूर्व अध्यक्षहरुले सामूहिक रुपमा विधान संशोधन कार्यदललाई सुझाव बुझाएका थिए । विधान संशोधन गर्न नहुने, गरेपनि यसै कार्यकालबाट प्रत्यक्ष निर्वाचित अध्यक्ष सम्बन्धी प्रणाली लागू गर्न नमिल्ने सुझाव पूर्व अध्यक्षहरुको थियो ।


महासंघका पहिले प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणाली मै थियो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था भएको एक कार्यकाल भयो । यो व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष पदमा रहेकी भवानी राणा महासंघकी अध्यक्ष भएकी हुन् । उनको कार्यकाल आगामी चैतमा सकिदै छ ।

प्रकाशित : कार्तिक २२, २०७६ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?