एकद्वार केन्द्रले सेवाग्राहीलाई सहज

नुमा थाम्सुहाङ

काठमाडौँ — उद्योग विभागमा गत जेठबाट एकद्वार सेवा केन्द्र सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी सेवाग्राहीलाई सुविधा पुगेको छ । सेवा केन्द्र सञ्चालनले उद्योग दर्ता तथा विदेशी लगानी दर्ता प्रक्रियामा सहज र छिटो भएको सेवाग्राहीले बताए । 

सेवा केन्द्र सञ्चालनले पहिलाको भन्दा काम छिटो भए पनि यसमा थप सुधार आवश्यक रहेको बेलारुसका एन्ड्री इभोनाभले बताए । बिजनेस भिसाका लागि आएका इभोनाभ भन्छन्, ‘यहाँ पालोमा बस्नेहरूलाई आराम गर्ने स्थान छ । तर कर्मचारी भएन भन्दै हाम्रो काम ढिला गर्नु भएन ।’ सेवाग्राहीसँग सेवाप्रदायक नम्र भएर बोल्न जरुरी रहेको उनले बताए ।

यस्तै कात्तिक ७ गतेबाट लगानीकर्ता तथा उद्योगीलाई सुविधा दिन लगानी दर्ता सहजीकरण केन्द्र पनि सञ्चालनमा ल्याएको छ । उद्योगी तथा लगानीकर्ताहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्न केन्द्र सञ्चालन गरिएको विभागका प्रवक्ता विनोदकुमार खड्काले बताए ।

कसैलाई विदेशी लगानीसम्बन्धी केही जिज्ञासा छ भने सम्बन्धित शाखाकै कर्मचारीबाट जानकारी उपलब्ध गराउने व्यवस्था रहेको विभागका प्रवक्ता खड्काले बताए । ‘हामीले सहजीकरण केन्द्रका लागि नै भनेर कर्मचारी राखेका छैनौं, कसैले केही जान्न चाहेको खण्डमा सम्बन्धित कर्मचारीबाट सेवा दिन्छौं,’ उनले थपे ।
सेवाग्राहीसँग कर्मचारी नरम भएर बोल्नुपर्ने उनको भनाइ छ ।

कामको चापले गर्दा सोचेअनुरूप सेवा नपाएको हुन सक्ने उनको अनुमान छ । ‘आन्तरिक बैठकमा पनि पटकपटक यो विषयलाई लिएर कर्मचारीहरूलाई सजग गराइरहेका हुन्छौं,’ उनले भने, ‘कर्मचारीहरूले कस्तो व्यवहार गरिरहेका छन् भनेर आन्तरिक अनुगमन पनि गर्छौं । गुनासो आएमा पहिले कर्मचारीलाई सचेत गराउँछौं । त्यसपछि विभागीय कारबाही गर्छौं ।’

विभागमा ७५ कर्मचारी कार्यरत छन् । विदेशी लगानी शाखामा ४ र उद्योग दर्ता शाखामा ३ अधिकृत छन् । विभागमा कर्मचारीको अभाव भएर काममा कुनै असर नपरेको तर्क खड्काको छ । सेवाग्राही र सेवाप्रदायक प्रविधिमैत्री नभएका कारण काममा केही समस्या देखिएको उनको भनाइ छ । ‘सेवाग्राही अझै पनि हातमा फाइल बोकेर आउनुहुन्छ । त्यसका लागि यो आर्थिक वर्षभित्र अर्थ मन्त्रालयबाट अनलाइन सिस्टमका लागि २ करोड रुपैयाँको बजेट छुट्टाइएको छ,’ उनले भने, ‘यसबाट काम अझ छिटो हुनेछ ।’

एकद्वार सेवा केन्द्रमा नेपाल राष्ट्र बैंक, अध्यागमन, भन्सार, कम्पनी रजिस्ट्रार कार्यालय, श्रम तथा व्यवसायजन्य, भूमि सुधारका कर्मचारीहरू छन् । यसमा कम्प्युटर कर्मचारी अस्थायी राखिएको छ । सेवा केन्द्रमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, विदेशी विनिमय सहजीकरण, भिसा सहजीकरण, अनुमति तथा दर्ता, वातावरण, भन्सार तथा राजस्व, प्रशासन कानुन र जग्गा सहजीकरणलगायत एकाइबाट सेवा दिइन्छ ।

जेठदेखि असोज मसान्तसम्म सेवा केन्द्रबाट ८२ उद्योग दर्ता, १५३ विदेशी लगानी, १ हजार ७६ विजनेस भिसा, ३० गैरपर्यटकिय भिसा, २५ व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) दर्ता, २ सय एक्जिम कोड, ३ हदबन्दीभन्दा बढीको जग्गा भागको सहजीकरण दर्ता, १६ ईआईए दर्ता भएको छ । यसका साथै लगानी कर्ताले १ लाख यूएस डलरसम्मको रकम फिर्तासमेत सेवा केन्द्रबाटै गर्न सक्ने व्यवस्था रहेको छ । ५ महिनामा २४ अर्ब ५५ करोड ५३ लाख ५० हजार रुपैयाँ विदेशी लगानी भएको छ ।

प्रकाशित : कार्तिक २२, २०७६ १०:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१५ करोडको फूल कारोबार

नुमा थाम्सुहाङ

काठमाडौँ — यो वर्षको तिहारमा १५ करोड रुपैयाँको तयारी फूलको कारोबार भएको छ । गत सालभन्दा यो वर्ष फूलको माग र खपत बढेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले दिएको जानकारीअनुसार २९ लाख वटा तयारी माला बिक्री भएको छ । गत वर्ष २२ लाख बिक्री भएको फ्यानका महासचिव विश्वमणि पोखरेलले बताए । 

आफ्नो घाँटीका लागि मात्र नभई घर, अफिस, पसल सजाउनलाई पनि फूलको प्रयोग गरिने हुनाले फूलको माग बर्सेनि बढ्दो रहेको उनले सुनाए । ‘अघिल्लो वर्ष १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो वर्ष १३ करोड रुपैयाँ बराबरको २५ लाख फूलको माग हुने अनुमान गरेका थियौं,’ उनले भने, ‘तर, माग र कारोबार बढ्यो ।’

२ लाख २५ हजार वटा भारतीय माला आयात हुने अनुमान थियो । ‘शनिबारसम्म ७ लाख वटा माला आयात भएको थियो, जसमा डेढ लाख माला खेर गएको छ,’ उनले भने । शनिबार आउनुपर्ने माला शुक्रबार नै बजारमा आएकाले र भारतीय माला कोल्ड स्टोरजमा राखेर बिक्री गरिने हुनाले खेर गएको उनले बताए । नेपाली फूल उत्पादनका किसानहरूलाई संगठित गर्न सके नेपाली उत्पादनले नै फूलको बजार धान्ने उनको भनाइ छ । नेपालको २२ जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ । गोदावरी र मखमली काठमाडौं उपत्याकाभित्र उत्पादन हुन्छ । यो तिहारमा २० हजार गोदावरी र ७ लाख वटा मखमलीका माला बिक्री भएको छ ।

भारतीय फूलको मालाको मूल्य ६० रुपैयाँ रहे पनि ५०/४० रुपैयाँसम्म बिक्री गरिएको थियो । ‘नेपाली फूलको मालाको होलसेल मूल्य ४५ रुपैयाँ रहेकामा खुद्रा मूल्य ६० रुपैयाँ तोकेका थियौं । त्यसमा व्यापारीहरूले पनि त्यही दरमा बिक्री गरेका थिए,’ उनले भने । ‘नेपाली किसानहरू बजारमा घुल्न सकेका छैनन् । आफैंले सामान बजारमा ल्याएर बेच्छन्,’ उनले थपे, ‘जसले गर्दा खुद्रा व्यापारीले नेपाली फूल किनेर बेच्न खोज्दा फूल छैन भन्छन् । होलसेलमा भन्दा बाहिर खुद्रामा बेच्दा बढी फाइदा लिने लोभले पनि प्रभाव पारेको छ ।’

प्रकाशित : कार्तिक १४, २०७६ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT