दोर्दीमा फलेन धान

आश गुरुङ

(लमजुङ) — धानको बीउ नक्कली परेपछि दोर्दी गाउँपालिकाका किसान ठगिएका छन् । गाउँपालिकाका अर्चलबोट, दुवार, हिलेटक्सारलगायत क्षेत्रका किसानले लगाएको धान काट्ने बेलासम्म पनि नफलेको हो ।

दोर्दीमा फलेन धान

किसानका अनुसार गरिमा, सुधा, बेलना शंकर, गोरखनाथलगायत धानको बीउमा समस्या देखिएको छ । केही बोट हरियै छन् भने केही पहेंलिएका छन् । धान नफलेपछि किसानहरू बोट काटेर वस्तुभाउलाई खुवाउन थालेका छन् । दोर्दी–२ अर्चलबोटका किसान बद्रीनाथ पौडेलले १० रोपनीमा लगाएको गरिमा जातको धान एउटा पनि नफलेको बताए । ‘मैले बाइसजाँगर र भोटेओडारबाट गरिमा जातको धानको बीउ ल्याएर रोपेको हुँ । एउटै फलेन । अचम्म भो,’ ८५ वर्षीय पौडेलले भने, ‘एउटा दुइटा बोट नफलेको त कहिलेकाहीँ देखिन्छ । यतिको उमेर भयो । पूरै खेत नफलेको अहिल्यै देखियो ।’


स्थानीय बद्रीनाथ लामिछानेले आफ्नो ३ रोपनीमा लगाएको गरिमा जातको धान पनि नफलेको बताए । दुवारकी हिता रानागमरले पनि धानमा पूरै बाला नलागेको बताइन् । उनका अनुसार गाउँलेले बेंसीसहर, चितीलगायत ठाउँका एग्रोभेटबाट बीउ लगेका थिए ।


‘कुनैमा बाला छ, कुनैमा छैन । फलै निकालेन,’ उनले भनिन्, ‘धान त्यत्तिकै छ । फल नलागेपछि कसैकसैले वस्तुभाउलाई खुवाउन थालेका छन् ।’ बालामा भुसैभुस रहेको र बोट पहेंलो भएको उनले बताइन् । यहाँका किसानले सुधा, च्याम्पियन र गोरखनाथ धान लगाएका थिए ।


दुवारका कार्यपालिका सदस्य लालमाया मिजारले यहाँ मात्रै नभएर हिलेटक्सारमा समेत धान नफलेको बताइन् । ‘कसैलाई बीउको नाम थाहा छ । कसैलाई छैन । धान भनेपछि गाउँलेले बीउ ल्याएर रोपे । अहिले फल्दै फलेन,’ उनले भनिन् । दुवारमा मात्रै करिब ५० रोपनी क्षेत्रफलमा लगाइएको धान नफलेको उनले बताइन् ।


‘धान नफलेपछि किसान बोल्नै सक्नुभएको छैन । के खाने, के गर्ने भनेर रुने कराउने गर्नुभएको छ,’ उनले भनिन्, ‘मैले कृषि शाखामा जानकारी गराएकी छु । किसानलाई राहत हुन्छ या हुँदैन, थाह छैन ।’ वर्षाभरिको किसानको मिहिनेत खेर गएको उनले बताइन् ।


धान काटेर धन्क्याउने बेलासम्म बालामा धान फल्ने आश बोकेर बसेका किसान निराश बनेको मिजारले बताइन् । गाउँपालिका कृषि प्रसार अधिकृत गोविन्दराज सेढाइँका अनुसार अर्चलबोट र दुवारका किसानले

लगाएको धान नफलेको भन्दै कार्यालयमा निवेदन आएको छ । ‘केही ठाउँमा हामीले हेर्‍यौं । सहरबाट किनेर ल्याएको धान नफलेको पाइएको छ । किसानको गुनासो पनि त्यही छ । किसानले गरिमालगायत जातहरू भनेका छन्,’ उनले भने ।


प्रकाशित : कार्तिक २२, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?