लेखा समितिले भन्यो- सिमेन्टको गुणस्तर कमजोर बनाउन खोजियो

ऋषिराम पौड्याल

काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कच्चा पदार्थको परिमाण परिवर्तन गरेर सिमेन्टको गुणस्तर कमजोर बनाउन लागेको प्रारम्भिक अध्ययनको आधारमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ । 

प्राविधिकका अनुसार परिषद्ले तोकेको मापदण्डअनुसार उत्पादन गरेमा यस्तो गुणस्तरको सिमेन्ट प्रयोग गरिएका संरचनाहरू चाँडै फुट्ने र थोरै कम्पनले पनि भत्कने खतरा रहनेछ । उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को गत असार १८ गते बसेको बैठकले सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थ (एक प्रकारको म्याग्नेसियम रसायन) को मात्रा बढाउने निर्णय गरेपछि समितिले छानबिन सुरु गरेको हो । स्रोतका अनुसार यो विषय पटकपटक छलफल भए पनि यस अघिका मन्त्रीहरूले अस्विकार गर्दै आएका थिए ।

परिषद्ले हाल कायम रहेको अघुलनशील पदार्थ (आईआर) को मात्रा २ बाट ४ र बनाएको छ । त्यसैगरी म्याग्नेसियम अक्साइडको मात्र ५ बाट ६ गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागका एक पूर्वप्राविधिकले कान्तिपुरलाई लिखित रूपमा दिएको जानकारीका अनुसार म्याग्नेसियमको मात्र जति थोरै भयो त्यति नै सिमेन्टको गुणस्तर राम्रो मानिन्छ । परिषद्ले २०५५ सालमा तय गरेको म्याग्नेसियमको मात्रालाई परिवर्तन गरेर नयाँ मापदण्ड बनाउन लागिएको हो ।

‘यो निर्णयअनुसार सिमेन्ट बनेमा संरचनाहरूको आयुमै समस्या आउँछ,’ उनले भने, ‘धेरैजसो उद्योगले प्रयोग गर्ने क्लिंकरमा म्याग्नेसियमको मात्रा बढी पाइने भएकाले त्यसकै आधारमा परिषद्ले निर्णय गरेको देखिन्छ ।’ हाल अधिकांश उद्योगले नेपालको विभिन्न भागमा पाउने लाइम स्टोन प्रयोग गर्दै आएका छन् । यस्ता लाइम स्टोनमा म्याग्नेसियमको मात्रा बढी छ ।

उद्योग सचिव यमकुमारी खतिवडाको अध्यक्षतमा गत असार १८ मा बसेको बैठकले नेपालका लाइम स्टोन खानीहरूमा ३ प्रतिशतभन्दा कम म्याग्नेसियमको मात्रा पाइने उल्लेख छ । उक्त मात्राको सिमेन्ट क्लिंकरमा १ दशमलव ६ गुणाको हुन जाने उल्ल्खे छ । ‘सिमेन्ट बनाउँदा उद्योगीलाई जसरी सजिलो हुन्छ परिषद्ले पनि त्यसरी नै सिफारिस गरिएको देखिन्छ,’ लेखा समितिका एक सदस्यले भने । यो निर्णय लागू भएमा सिमेन्ट उत्पादनमा लागत कम हुने र नाफाको प्रतिशत बढ्ने देखिन्छ, गुणस्तर विभागका एक अधिकारीले भने, ‘यसले गुणस्तर कम गराउँछ र निर्माण संरचना कमजोर बनाउँछ ।

सिमेन्ट उद्योगीहरूको दबाबमा मन्त्री यादव नै अध्यक्ष रहेको परिषद्ले उत्पादन लागत घट्ने र गुणस्तर कमजोर हुने गरी म्याग्नेसियम नामको रसायनको मात्रा बढाएको दाबी उद्योग मन्त्रालयका एक अधिकारीले गरे । उजुरीका आधारमा निर्णयको सबै कागजपत्र झिकाएर समितिले छानबिन थालेको हो ।

समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार कच्चा पदार्थको प्रयोगमा नयाँ मापदण्ड बनाउनुको औचित्य, निर्णय प्रक्रिया र यसको दीर्घकालीन प्रभावको विषयमा शुक्रबार सांसदहरूबीच छलफल गर्न बैठक बोलाइएको छ । यो प्राविधिक कुरा भएकाले सांसदहरूबीच अन्तरक्रिया गरेपछि उद्योगमन्त्री यादव र सरोकारवाला सबैसँग छलफल गर्ने पाण्डेले जानकारी दिए ।

हतारहतारमा निर्णय
भूगर्भ विभागका महानिर्देशकको अध्यक्षता म्याग्नेसियमको अध्ययन गर्न २०७४ माघमा गठित कार्यदलले डेढ वर्षपछि मात्र प्रतिवेदन बुझाएको छ । २०७६ असार ३ मा बुझाएको प्रतिवेदनमा नेपालका ९० चुनढुंगा खानीको ३ प्रतिशतभन्दा कम म्याग्नेसियम पाइने उल्लेख छ । म्याग्नेसियम ३ प्रतिशत भनेको सिमेन्ट क्लिंकरमा १ दशमलव ६ गुणाको हो ।

प्रतिवेदन बुझाएको १५ दिनमा २०७६ असार १८ गते सचिव खतिवडाको अध्यक्षतमा बैठक बसेर कार्यदलको मस्यौदालाई सिफारिस गरेको देखिन्छ । सिफारिस गरेकै दिन मन्त्री यादवको अध्यक्षतमा बसेको बैठकले मस्यौदा अनुमोदन गरेर म्याग्नेसियमको मात्रा बढाउने निर्णय गरेको छ । मन्त्री यादवको अध्यक्षतामा १ बजे बैठक बसेको उल्लेख छ । यस अघि पटकपटक भएका सचिवस्तरीय बैठकको माइन्युटमा बजे लेखिएको छैन ।

समितिका सदस्य भन्छन्, ‘जुन दिन सचिव खतिवडाले मस्यौदा सिफारिस गर्नुभयो, त्यसैदिन मन्त्री यादवको अध्यक्षतामा परिषद्को बैठक राखेर अनुमोदन पनि गरिएको छ ।’ यति हतारहतार किन ? ती सदस्यले भने, ‘लामो समयदेखिअड्किएको विषयलाई एकै दिन दुई वटा बैठक राखेर टुंग्याउनुले पनि शंका गर्ने ठाउँ रहन्छ ।’

परिषद्ले भारत, अमेरिका, बंगलादेश, पाकिस्तान चीन, युरोपको मापदण्डलाई आधार बनाएर निर्णय गरेको छ । त्यहाँको मापदण्डमा मिल्दोजुल्दो गरी निर्णय तोकिएको छ । सम्बन्धित प्राविधिक भने विदेशमा म्याग्नेसियमको मात्रालाई कम गर्ने आधुनिक प्रविधि भए पनि यहाँ त्यो सम्भव नहुने बताउँछन् । बैठकमा सिमेन्ट उत्पादक पनि सहभागी हुने गरेका छन् ।

जानकारी छैन : प्रवक्ता
उद्योग मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिनेश भट्टराईले आफूलाई सिमेन्टको विषयमा गरेको निर्णयबारे जानकारी नभएको बताए । गत असार १८ मा बसेको गुणस्तर परिषद्को म्याग्नेसियमको मात्रा बढाउने १०१ औं बैठकमा उनी पनि सहभागी थिए । माइन्युटमा उनको पनि हस्ताक्षर रहेको छ । अरू सहसचिव नभएकाले आफू बैठकमा बसेको उनले बताए । मन्त्रालयका अर्का सहसचिव शोभाकान्त पौडेलले गुणस्तर विभागबाट प्राप्त भएको निर्णयलाई जस्ताकोतस्तै लेखा समितिमा पठाएको बताए ।

‘मलाई सबै जानकारी छैन,’ पौडेलले भने । उनका अनुसार निर्णय भएका विषयहरू लागू गर्न मन्त्रिपरिषदबाट पारित गरेर राजपत्रमा प्रकाशित हुनुपर्छ । मन्त्रालयका अधिकारीहरूले भने लागू नभएकाले निर्णय भएको कुरालाई वास्ता गर्न नहुने बताउँदै आएका छन् । निर्णय विवादमा परेपछि परिषद्ले गरेको निर्णयलाई मन्त्रिपरिषद्मा लगिएको छैन ।

गुणस्तर घट्दैन : विभाग
मस्यौदा अनुमोदनमा भूमिका निर्वाह गर्ने गुणस्तर तथा नाप तौल विभागले म्याग्नेसियमको मात्रा भारतसँग समान रहेको भन्दै सिमेन्टको गुणस्तर कम नहुने भनाइ अघि सारेको छ । विभागका महानिर्देशक परिषद्का सदस्य सचिव हुने व्यवस्था छ । परिषद्ले निर्णय गर्न विभागले तयारी गर्नुपर्छ । गुणस्तरको सूचांक कम गरेर अघुलनशील (आईआर) वस्तु मिसावटमा छुट दिएको बुझाइ गलत भएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जारी गरेको विज्ञप्तिमा सिमेन्टको ग्रेड ३३, मा ६ प्रतिशत र ४३ र ५३ ग्रेडका लागि म्याग्नेसियमको मान ५ प्रतिशत कायम गरेर गुणस्तरमा कमी आउन नदिने उपाय अपनाएको उल्लेख छ । विभागले भारतीय गुणस्तरमा ३३, ४३ र ५३ ग्रेडको सिमेन्टमा म्याग्नेसियमको मान ६ प्रतिशत कायम गरिएको उल्लेख गरेको छ । नेपालमा उत्पादन हुने सिमेन्टको गुणस्तर भारतको भन्दा कम नरहेको र पछिल्लो समय उद्योग स्थापना बढेको विभागले जनाएको छ ।

प्रकाशित : कार्तिक २२, २०७६ १०:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सुनकोसी ३ को अध्ययन सुरु

काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका १ हजार ७ सय परिवार प्रभावित हुने 
ऋषिराम पौड्याल

काठमाडौँ — राजधानीबाट नजिकको ५ सय ३६ मेगावाटको सुनकोसी ३ जलायशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय अध्ययन सुरु भएको छ । विद्युत् विकास विभागले आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययनका सबै चरण पूरा गर्न प्रभावित क्षेत्रका बासिन्दाको सुझाव संकलन सुरु गरेको हो । 

विद्युत् उत्पादन मात्र नभई बहुउद्देश्यीय आयोजनाका रूपमा विकास गर्ने उद्देश्य राखिएको उक्त आयोजनाबाट सुनकोसी नदी किनारका सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली र रामेछापका करिब १ हजार ७ सय घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अनुमान छ । आयोजनाको जलाशयले चार जिल्लाअन्तर्गत सुनकोसी र इन्द्रवती नदी किनार, अरनिको एवं पुष्पलाल मध्यमहाडी लोकमार्ग आसपासका बस्तीहरू डुबानमा पर्नेछन् ।

भौगोलिक हिसाबले आयोजना बन्ने सक्ने प्रारम्भिक अनुमानपछि वातावरणीय अध्ययन सुरु गरिएको हो । आयोजनाबाट सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका १, ३ र ४ एवं बलेफी गाउँपालिकाको ५ नम्बर वडा प्रभावित हुनेछन् । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाको ९, १०, ११, १२ र १४ वडा प्रभावित हुने अनुमान छ । इन्द्रावती गाउँपालिकाको १०, ११ र १२ तथा मेलम्ची नगरपालिकाको १३ नम्बर वडालाई डुबान क्षेत्र मानिएको छ । उल्लेखित डुबान क्षेत्रका आधारमा सुनकोसी नदीतर्फको चहेरे, सुकुटे, चियाने, भैंसे, बलेफीलाई प्रभावित मानिएको छ । इन्द्रावतीतर्फ वनदेउ, साँगाचोकको सानो भीमटार हुँदै भोटसिपाको तल्लोभाग, माझीगाउँ, ठूलोभिमटार, तथा फटकशिलाको तल्लो भागसम्मलाई डुबान क्षेत्र मानिएको छ ।

काभ्रेको मन्डन देउपुरका ७, ९, १० र १३ र पाँचखाल नगरपालिकाका १३ र ८ वडा डुबान क्षेत्रमा पर्नेछन् । भुम्लु गाउँपालिकाका १, ६,७, ८, ९ र १० तथा चौरीदेउरालीका ६, ७ र ८ वडा डुबान क्षेत्रमा पर्नेछन् । तिमाल गाउँपालिकाका १,२, ३, ४, ६, ७ र ९ वडा सबैभन्दा बढी प्रभावित हुनेछ । उक्त वडाहरूमा बाँध, विद्युत्गृह र डुबान क्षेत्र पर्नेछन् । रामेछापको खाँडादेवी १ र सुनापाती १, ४ र ५ मा डुबान क्षेत्रमा पर्नेछन् । त्यसैगरी सिन्धुलीको सुनकोसी गाउँपालिकाको १, २, ३, ४ र ५ वडालाई डुबान क्षेत्र मानिएको छ । विद्युत् विकास विभागका इन्जिनियर सुवास थपलियाले भने यो क्षेत्र निर्धारणका लागि तय गरिएको डुबान क्षेत्र हो । स्थानीय सुझावलाई ध्यानमा राखेर आयोजनाका कतिपय विषयलाई थप परिमार्जन गर्न सकिनेछ । परामर्शदाता एसआईडीआरआई कम्पनी लिमिटेड र ईआरएमसी प्राइभेट लिमिटेडले जारी गरेको सार्वजनिक सूचनाका आधारमा सर्वसाधारण, स्थानीय निकायलगायत रोकारवालाले सुझाव दिन सक्ने व्यवस्था मिलाइएको छ । सुझावका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं वन मन्त्रालय, विद्युत् विकास विभाग र सुनकोसी जलविद्युत् आयोजनामा सम्पर्क गर्ने सकिनेछ । सरोकारवालाले भौतिक, सांस्कृतिक, जैविक, आर्थिक, सामाजिक विषयमा सुझाव दिन सक्नेछन् ।

थपलियाका अनुसार दुई वर्षअघि चीनको सांघाई इन्भेस्टिगेसन एन्ड डिजाइन इस्न्टिच्युट तथा नेपालको ईआरएमसीले कन्सल्ट्यान्डका रूपमा आयोजानको भौगोलिक अध्ययन सुरु गरेका थिए । यसअघि उक्त आयोजनाको प्रारम्भिक अध्ययन सन् १९८५ मा जापान इन्टरनेसलन कोअपरेसन (जाइका) ले गरेको थियो । रामेछापको खाँडादेवी गाउँपालिका १ र काभ्रेको तिमाल गाउँपालिका ९ को सीमाना लुभुघाटमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरिनेछ । बाँधबाट फर्काइएको ५७० घनमिटर प्रतिसेकेन्ड पानीलाई करिब १ किमि लम्बाइ र ९ मिटर व्यासको सुरुङबाट स्थानीय लुभुघाट नजिकै निर्माण हुने विद्युत्गृहमा पुर्‍याइनेछ । आयोजनाको हेड करिब १६० मिटर हुने अनुमान छ ।

प्रकाशित : कार्तिक १७, २०७६ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT