कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

आधा मूल्यमा क्रसरलाई उखु

कान्तिपुर संवाददाता

सर्लाही — जिल्लाका किसानहरू झन्डै आधा कम मूल्यमा सख्खर (मिठा) उत्पादन गर्ने क्रसर उद्योगलाई उखु बिक्री गर्न बाध्य भएका छन् । जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका किसान तीन सातादेखि क्रसर उद्योगलाई उखु बिक्री गर्न थालेका हुन् ।

आधा मूल्यमा क्रसरलाई उखु

गत सिजनमा सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो । यस वर्ष मिल चल्ने छाँटकाँट नदेखेपछि बढ्दो महँगी खेप्दै आधाभन्दा कम मूल्यमै क्रसर उद्योगमा उखु बेच्न बाध्य भएको किसानले बताए । यहाँका क्रसर उद्योगहरूले २५० रुपैयाँ देखि ३ सय रुपैयाँ प्रतिक्विन्टलमै उखु खरिद गरिरहेका छन् ।


केही क्रसर उद्योगले किसानको उखु ३ सय रुपैयाँ प्रतिक्विन्टलमा खरिद गरे पनि अधिकांशले २५० रुपैयाँभन्दा बढी नदिएको दक्षिणी क्षेत्रका किसानको गुनासो छ । गहुँसहित दलहन तथा तेलहन बाली लगाउने बेला भएकाले सिँचाइ हुने दक्षिणी क्षेत्रका किसानलाई खुट्टी उखु तत्काल हटाउने चटारो छ । किसानको त्यही अप्ठ्याराको फाइदा उठाउँदै स्थानीय क्रसर उद्योग सञ्चालकले निकै कम मूल्य दिएर उखु खरिद गरिरहेका हुन् ।


जिल्लाको दक्षिणी क्षेत्रमा झन्डै तीन दर्जनको संख्यामा उखु क्रसर उद्योग सञ्चालनमा छन् । ‘यस वर्ष धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग चल्ने छाँटकाँट छैन, तीनवर्षे खुट्टी उखु हटाएर गहुँसहित दलहन तथा तेलहन बाली लगाउन हतारो भइसक्यो,’ बरहथवा नगरपालिका–११ दियरका देवल रायले भने, ‘सस्तैमा सख्खर बनाउने क्रसरलाई उखु दिन बाध्य छौं, नभए अर्को बाली पनि लगाउन पाउँदैनौं ।’


चिनी उद्योगलाई उखु बेच्दा वर्षौंसम्म पैसा नै नपाइने भएपछि किसानहरू सस्तैमा भए पनि नगदै भुक्तानी लिनका लागि क्रसर उद्योगलाई नै उखु दिन बाध्य भएको रायको गुनासो छ । मिठाको मूल्य कम भएको र सरकारले पनि मिठामा अनुदान नदिएकाले किसानको उखु सस्तोमा खरिद गर्नुपरेको क्रसर सञ्चालकहरूले बताए । एक क्विन्टल उखुबाट उत्पादन हुने १० किलो मिठा ५० रुपैयाँका दरले बिक्री हुन्छ । त्यसैले उखुलाई बढी मूल्य हाल्न नसकिने क्रसर उद्योगीको भनाइ छ ।


चिनी उद्योगलाई दिएको उखुको तीन वर्षदेखिको भुक्तानी बाँकी रहेकाले यस वर्ष बेलैमा क्रसर उद्योगलाई सस्तैमा भए पनि नगदै उखु बिक्री गरेको स्थानीय किसान राम कैलाश यादवले बताए । ‘किसानलाई फाइदा त मिलमा नै बेचेर हुन्छ तर मिलमा बेचेर के गर्नु, तीन वर्ष देखिको पैसा बाँकी छ,’ उनले भने, ‘त्यसैले यस वर्ष उचित मूल्यभन्दा पनि नगदै लिन सस्तैमा उखु बिक्री गरिरहेको छु ।’


चिनी उद्योगले वर्षौंसम्म भुक्तानी नदिने र सरकारले समेत अनुदान रकममा ढिलासुस्ती गर्ने गरेकाले केही वर्षयता किसानहरू उखु खेतीबाट निराश भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । ‘बढ्दो महँगी तथा लागत अनुपातअनुसार उखुको मूल्य समायोजन नहुने समस्या एकातिर छँदै छ, अर्कोतिर चिनी उद्योग र स्वयं सरकारबाट समयमै भुक्तानी नपाउनाले उखु किसान निराश छन्,’ उनले भने, ‘निराशाकै कारण किसान सस्तोमा उखु क्रसर उद्योगलाई बेचिरहेका छन् ।’


उनले यहाँका उद्योगले भुक्तानी गर्न आलटाल गर्न थालेपछि किसानले विकल्पका रूपमा उखु पेल्ने क्रसरलाई रोज्न थालेको जानकारी दिए । किसानले नगदै पाउनका लागि सस्तोमा भए पनि क्रसर उद्योगमै उखु बिक्री गरिरहेको मैनालीको भनाइ छ ।


गत वर्ष सरकार, किसान र उद्योगका प्रतिनिधिबीच भएको सहमतिपश्चात् उद्योगले प्रतिक्विन्टल उखुको ४७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदानबापत ६५ रुपैयाँ २८ पैसा दिने घोषणा गरेको थियो । तर, सरकारले तोकेको मूल्यअनुसार किसानले चिनी उद्योगबाट विगत तीन वर्षदेखि भुक्तानी पाउनै सकेका छैनन् । पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिल तथा बगदहमा गत वर्षदेखि सञ्चालनमा आएको महालक्ष्मी सुगर मिलले किसानको करोडौं भुक्तानी दिएको छैन । सर्लाही मुलुकमै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो । यहाँ बर्सेनि २५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती गरिन्छ ।

प्रकाशित : कार्तिक २१, २०७६ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?