कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपाल बैंकका प्रबन्धकले गरे हिनामिना

नेपाल बैंकका वरिष्ठ प्रबन्धक भूपराज कोइरालाले कृत्रिम निक्षेप देखाएर ब्याज लिने र बढी भएको ब्याज आफ्नो खातामा स्थानान्तरण गरी ६० देखि ७० लाख रुपैयाँसम्म हिनामिना ।
यज्ञ बञ्जाडे

काठमाडौँ — नेपाल बैंकका कर्मचारी भूपराज कोइरालाले आर्थिक अनियमितता गरेको खुलासा भएको छ । कोइरालाले विभिन्न शाखामा प्रमुख रहँदा वास्तविकभन्दा बढी मुद्दती निक्षेप देखाएर बैंकबाट ब्याज असुल्ने र बढी भएको ब्याज आफ्नो खातामा स्थानान्तरण गरी अनियमितता गरेको आरोप बैंकले लगाएको छ । 

नेपाल बैंकका प्रबन्धकले गरे हिनामिना

कोइरालाले करिब ६० देखि ७० लाखसम्म हिनामिना गरेको बैंकको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । ‘कम्तीमा करिब ६० लाख रुपैयाँ हिनामिना भएको देखिएको छ,’ स्रोतले भन्यो, ‘अझै अनुसन्धान बाँकी रहेकाले रकम अझै बढ्न सक्छ ।’ हाल यो मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । कोइरालालाई बैंकले निलम्बन गरिसकेको छ ।


लेखा परीक्षणका क्रममा दोषी भेटिएपछि थप अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले स्वीकार गरे । ‘आन्तरिक लेखा परीक्षणका क्रममा दोषी देखियो,’ उनले भने, ‘सम्बन्धित कर्मचारीलाई निलम्बन गरिएको छ भने बैंकिङ कसुरको अभियोगमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’


कोइराला नेपाल बैंकका नवौं तहका कर्मचारी हुन् । ०६१ सालमा कोइराला छैटौं तहबाट नेपाल बैंकमा प्रवेश गरेका थिए । गत साउनदेखि उनी बैंकमा कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा थिए । त्यसअघि उनी भक्तपुर, डिल्लीबजारलगायत शाखा प्रमुख थिए । सोही समयमा पदीय दुरुपयोग गरी कोइरालाले आर्थिक अनियमितता गरेको देखिन्छ । ‘कोइरालाले ५/७ वर्षअघि देखि नै सो काम आर्थिक हिनामिना गर्दै आएका रहेछन्,’ बैंक स्रोतले भन्यो, ‘पछिल्लो समय डिल्लीबजारको शाखाबाट यो कुरा बाहिरियो ।’


कोइरालाले बैंकको स्वचालित सिस्टमलाई म्यानुअल रूपमा चलाएर बैंकको दायित्व बढी देखाउने र त्यसरी आएको पैसा आफ्नो खातामा स्थानान्तरण गरेको अनुसन्धानका क्रममा देखिएको छ । उनले निक्षेपकर्ताको बचत चलाएका छैनन् । म्यानुअल रूपमा धेरै ब्याज देखाएर बैंकको दायित्व बढाएका छन्, यसले बैंकको खर्च बढाएकाले मुनाफामा असर परेको देखिन्छ । हाल उनी फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।


रकम धेरै नभए पनि ती कर्मचारी नियत खराब देखिएपछि निलम्बित गरिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए । ‘कति रकम हिनामिना भयो, त्यो मुख्य कुरा होइन, अनुसन्धानपछि थाहा होला,’ उनले भने, ‘कर्मचारीको नियत खराब र दोषी देखियो ।’ बैंकमा सुशासन कायम गर्ने सवालमा आर्थिक हिनामिना, अनैतिक व्यवहार र गलत आचरण रहेका कुनै कर्मचारीलाई पनि नछोडिने उनले बताए । ‘सुशासन कायम राख्ने र आर्थिक हिनामिनाको सवालमा बैंकले शून्य सहनशीलताको नीति लिएको छ,’ उनले भने, ‘यो कुरा बैंकले सबै तह र तप्काका कर्मचारीमा पुर्‍याउन निर्देशन दिएको छु ।’


गलत आचरण, आर्थिक हिनामिनालगायत विभिन्न उजुरीका आधारमा बैंकले अरू कर्मचारीउपर पनि छानबिन भइरहेको स्रोतले बताएको छ । अरू कर्मचारीको विषयमा जिज्ञसा राख्दा प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने, ‘केही कर्मचारी उपर अध्ययन अनुसन्धान भइरहेको छ, टुंगोमा पुगिएको छैन ।’ आन्तरिक लेखापरीक्षणको क्रममा दोषी पाइएपछि दसैंअघि नै बैंकले कोइरालालाई सीआईबीलाई अनुसन्धान गर्न आग्रह गर्ने निर्णय गरेको थियो । सोहीअनुसार थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिइएको हो । उनलाई बैंकर कसुरको आरोप लागेको प्रहरी स्रोतले बताएको छ ।


आर्थिक अनियमितता गरेको आरोपमा बैंकले छैटौं तहकी कर्मचारी सदीक्षा कार्कीलाई पनि बर्खास्त गरेको छ । कार्की नयाँ कर्मचारी हुन् । गत जेठ २ मा नेपाल बैंकमा नियुक्ति पाएकी कार्की चितवनमा कार्यरत थिइन् । कार्कीले पनि बैंकको ६० हजार रुपैयाँ आफ्नो खातामा हालेकी थिइन् । परीक्षण काल नसकिँदै गल्ती भेटिएपछि जागिरबाटै बर्खास्त गरिएको बैंक स्रोतले जनाएको छ । नेपाल बैंक विसं १९९४ मा स्थापना भएको नेपालका सबैभन्दा जेठो बैंक हो । यसमा नेपाल सरकारको ५१ प्रतिशत सेयर लगानी छ ।

प्रकाशित : कार्तिक २०, २०७६ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?