स्याउ थन्क्याएर बेसी

मनोज बडु

(दार्चुला) — जाडो बढ्न थालेपछि दार्चुलाको पश्चिमोत्तर छाङरुका बासिन्दालाई स्याउ थन्क्याउने चटारो छ । बारीका स्याउ बिक्री भइनसकेकाले उनीहरू बोरामा थन्क्याउन थालेका छन् । स्थानीयलाई जाडो छल्न बेंसी झर्नुअघि बगानका स्याउ टिपिसक्नुपर्ने हतारो छ । 

व्यास गाउँपालिका–१ छाङरु जिल्लाकै सबैभन्दा बढी स्याउ उत्पादन हुने गाउँ हो । एउटै किसानले ५/६ रोपनी जग्गामा स्याउ खेती गरे पनि बजारको अभाव छ । दुई–तीन वर्षयता स्याउ उत्पादनमा वृद्धि भए पनि बिक्रीका लागि नयाँ विकल्प भने नभएको स्थानीय सुधा बोहोराले बताइन् । ‘चिसो बढेकाले बेंसी झर्ने बेला भइसक्यो,’ उनले भनिन्, ‘यो वर्ष ११ क्विन्टलजति स्याउ फलेको छ । बिक्री गर्ने ठाउँ नभएकाले बोरामा राखेर सँगै लैजान्छु ।’


यहाँका किसानहरूका लागि आफ्नै देशमा बजार छैन । भारतीय बजारमा भर पर्नुपर्ने बाध्यता छ । ‘तर, पछिल्लो समय भारतीय क्षेत्रमा सडक मार्गको पहुँच बढ्दै गएपछि स्थानीय उत्पादनको बजार पनि घटेको छ,’ सुधाले भनिन् । आफ्नै जिल्लाको सदरमुकाम खलंगासम्म स्याउ ढुवानी गर्न सडक छैन । भारतीय बजारमा लैजान पनि सहज नभएको स्थानीयले बताए । ‘गत बर्ष साढे तीन क्विन्टल स्याउ कुहियो । यो वर्ष त झन् धेरै फलेको छ । बजारसम्म पुर्‍याउने सम्भावना न्यून भएकाले कुहिने हो कि भन्ने डर लागिराछ,’ उनले भनिन् ।


‘गत वर्ष भारतीय सुरक्षाकर्मी र स्थानीयले प्रतिकिलो ७०/८० रुपैयाँमा किनिदिएका थिए,’ स्थानीय जितबहादुरले बोहोराले भने, ‘विगत एक दशकदेखि व्यावसायिक रूपमा स्याउ उत्पादन बढाउँदै गए पनि संकलन र भण्डारणको समस्या खेप्दै आएको छु । यो वर्षको उत्पादन बोरामा प्याक गरेर लैजान्छौं ।’ छाङरुका किसानहरू पछिल्लो समय व्यावसायिक स्याउ उत्पादनमा लागे पनि बजार अभाव भने टरेको छैन ।


स्थानीय सन्तोष ऐतवालले बजारको सम्भाव्यता नहेरी सबै किसान स्याउ खेतीमै लागेकाले समस्या भएको बताए । मिहिनेत गरेर फलाएको स्याउ बजारसम्म पुर्‍याउन नसकेर हरेक वर्ष कुहिएर खेर जाने अवस्था आएपछि किसानहरू शीतभण्डारको माग गरिरहेको उनको भनाइ छ ।


जिल्लामा स्याउ जोन कार्यक्रम लागू भएको छ । कार्यक्रम लागू भएपछि गत वर्षदेखि थप ६ रोपनी जग्गामा स्याउ खेती गरिरहेको छाङरुकै जितबहादुर बोहोराले बताए । ‘गत वर्षभन्दा यो वर्ष तीन गुणा बढी स्याउ उत्पादन भएको छ,’ उनले भने, ‘गत वर्ष भारतीय बजार र स्थानीयले किनेकाले केही कमाइ भएको थियो । यो वर्ष पटक्कै छैन ।’ हालसम्म १० प्रतिशत पनि बिक्री हुन नसकेको स्थानीयले बताए ।


एक–दुई जनाबाहेक अधिकांशको बारीमा स्याउ उत्पादन भए पनि बजार र सडकको पहुँच नभएकाले किसानहरूले फाइदा लिन नसकेको गुनासो गरे । जिल्लाका व्यास, अपी हिमाल, नौगाड, दुहु र मार्मा गाउँपालिकामा स्याउको खेती गरिन्छ । खासगरी व्यास र अपी हिमालका उच्च बस्तीहरूमा बढी मात्रामा स्याउको खेती हुन्छ ।


स्याउ जोन कार्यक्रमले उत्पादनमा जोड दिँदै आएको भए पनि बजारीकरणको विकल्पबारे भने ध्यान नदिएको स्थानीयको गुनासो छ । गत वर्षदेखि स्याउ जोन इकाई कार्यालय जिल्लामै स्थापना गरिएको थियो । ५ सय हेक्टरमा स्याउ खेती हुने गरेपनि उत्पादनले भने बजार नपाएको कार्यक्रम इकाईका निमित्त प्रमुख विष्णुप्रसाद ओझाले बताए । ‘स्याउ जोन कार्यक्रम सुरु भएपछि किसानहरूले अनुदानको आशले स्याउ खेती बढाएका हुन्,’ ओझाले भने ।

प्रकाशित : कार्तिक २०, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?