कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गरिमा धानको नक्कली बीउ : १७ सय किसान पीडित

तथ्यांक संकलनसँगै विक्रेताहरुमाथि कारबाही प्रक्रिया अघि बढाउन कृषकहरुबाट सामूहिक रुपमा निवेदन लिन थालियो 
भवानी भट्ट

(कञ्चनपुर) — पश्चिम तराईका कञ्चनपुर र कैलालीमा ७ सय हेक्टर क्षेत्रमा नक्कली गरिमा धानको बीउ लगाइएको पाइएको छ । कञ्चनपुरस्थित कृषि ज्ञान केन्द्रले संकलन गरेको तथ्यांकअनुसार दुवै जिल्लामा ७ सय हेक्टरमा गरिमा धान खेती गरिएको भेटिएको हो । कैलालीका ११ स्थानीय तहको ६ सय १८ हेक्टरमा उक्त धान खेती गरिएको छ । सबैभन्दा बढी बर्दगोरिया गाउँपालिकामा २ सय ६० हेक्टर क्षेत्रमा गरिमा धानको बीउ लगाइएको छ । घोडाघोडी नगरपालिकामा १ सय २१ हेक्टर र जोशीपुर गाउँपालिकामा ६३ हेक्टरमा गरिमा धान रोपिएको छ ।

गरिमा धानको नक्कली बीउ : १७ सय किसान पीडित

ज्ञान केन्द्रका अनुसार धनगढी उप महाकानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, टीकापुर, भजनी र लम्कीचुहा नगरपालिका तथा कैलारी र जानकी गाउँपालिकाका विभिन्न ठाउँमा गरिमा धान रोपिएको छ ।


यस्तै कञ्चनपुरमा पनि ९ वटै स्थानीय तहमा ८२ हेक्टर बढीमा उक्त धान खेती गरिएको छ । सबैभन्दा बढी शुक्लाफाँटा नगरपालिकामा २७ हेक्टर र बेलौरीमा २६ हेक्टरमा गरिमा धान रोपिएको छ । भीमदत्त नगरपालिका, लालझाडी गाउँपालिका, बेल्डाडी गाउँपालिका र बेदकोट नगरपालिकामा पनि उक्त धान रोपेको पाइएको छ । ‘गरिमा धानबाट कैलाली र कञ्चनपुरमा डेढ हजारभन्दा बढी कृषकहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टले भने, ‘छिटफुट दुई/चार जनाबाहेक सबैको तथ्यांक संकलन भएको छ ।’ उनका अनुसार दुवै जिल्लामा १ हजार ७०८ कृषक परिवार प्रत्यक्ष रूपमा गरिमा धानबाट प्रभावित भएका छन् ।


ज्ञान केन्द्रले नक्कली बीउ बिक्री गर्ने विक्रेताहरूको तथ्यांक संकलनको काम जारी राखेको जनाएको छ । अहिलेसम्म किसानबाटै तथ्यांक संकलन भइरहेको थियो भने अब फिल्डमै गएर तथ्यांक संकलन गरिने निमित्त प्रमुख भट्टले जानकारी दिए । ‘हामीले प्राविधिकहरूलाई विक्रेताको तथ्यांक संकलनका लागि फिल्डमै खटाएका छौं,’ उनले भने, ‘त्यसको तथ्यांक पनि छिट्टै संकलन हुनेछ ।’


तथ्यांक संकलनसँगै विक्रेताहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन कृषकहरूबाट सामूहिक रूपमा निवेदन लिने काम पनि सुरु भएको भट्टले जानकारी दिए । उनका अनुसार हरेक स्थानीय तहका प्रमुख वा उपप्रमुखबाट प्रमाणित गरेर कृषकहरूको सामूहिक निवेदन संकलनका लागि प्राविधिकको टोली खटाउन थालिएको हो । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले पनि क्षतिपूर्ति वितरणसम्बन्धी निर्देशिकाबमोजिम कारबाही प्रक्रिया अघि बढाउन संयुक्त निवेदन संकलनका लागि निर्देशन गरेको छ । उक्त निर्देशनमा संयुक्त निवेदनसँंगै विक्रेताले बिक्री गरेको परिमाण, कृषक संख्या र बीउको आधिकारिक स्रोतलगायतको तथ्यांकसमेत संकलन गरिनेछ ।


बल्ल पसायो

जेठ पहिलो साता ब्याड राखेर जेठकै अन्तिमतिर रोपाइँ गरेको नक्कली गरिमा धान कात्तिक मध्यतिर पसाउन थालेको छ । गहुँ लगाउने सिजनमा पसाएको धान काट्ने वा नकाट्ने भन्ने विषयमा कृषकहरू अन्योलमा छन् । ‘अहिले पसाउन थालेको छ, अब काट्ने कि राख्ने अन्योल भयो,’ भीमदत्त नगरपालिका–२ उल्टाखामकी मीना भण्डारीले भनिन्, ‘रोग कीराले पनि बाला सेतै आउन लागेको छ, केही बाला भने राम्रा पनि छन् ।’ उनले २ बिघाभन्दा बढीमा गरिमा धानको बीउ रोपेकी थिइन् । धान काट्न ढिलाइ भएमा गहुँ खेती पनि प्रभावित हुने उनको चिन्ता छ ।


कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख भट्टका अनुसार धेरै ठाउँमा बल्ल गरिमा भनिएको धान पसाउन लागेको छ । अहिले पसाएको धानले उत्पादन दिन नसक्ने उनले बताए । घट्दो तापक्रम र रोग कीराको संक्रमणका कारण अब पसाएर पनि कुनै फाइदा नहुने उनको भनाइ छ । ‘चिसो बढ्दै गएको छ, पसाए पनि दाना लाग्न सम्भव हुँदैन,’ उनले भने, ‘धेरै ढिलो भए गहुँ बाली पनि प्रभावित हुन्छ ।’


प्रकाशित : कार्तिक १९, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?