उडान गन्तव्य थप्दै वायुसेवा निगम

निगमले मंसिरदेखि ग्वोञ्जाओ उडान गर्ने
रासस

काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मंसिरको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो ।


'निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मंसिर महीनादेखि उडान शुरु हुनेछ,' मन्त्रालयका एक अधिकारीले भने । निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो । तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।


सोही बमोजिम निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा ग्वोञ्जाओ उडानका लागि ‘स्लट’ पाउने बताइएको छ ।

यसैबीच निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र सांङ्घाई उडानका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।


नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले यही कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।

पुसको दोस्रो सातादेखि जापानको नारिता उडान हुने


निगमले आगामी जनवरी महीना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजीकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको तयारी गरेको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको जनाइएको छ ।


निगमले जापान सिभिल एभिएशनले मागेको आवश्यक कागजात बुझाइसकेको छ, तत्पश्चात् उडान अनुमति पाउनेछ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ ।


गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान शुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ ।

प्रकाशित : कार्तिक १८, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उपनिर्वाचनमा कांग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ : देउवा

रासस

चितवन — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् ।

कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि कांग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उनको भनाइ थियो । पार्टीभित्रको आन्तरिक कलहका विषयमा कार्यकर्ताको जिज्ञासापछि सभापति देउवाले भने, 'उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।'

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र कांग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उनले उपनिर्वाचनमा यस्तो भए कारबाही गरिने चेतावनी दिए । अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा कांग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको उनले बताए ।

स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताउँदै उनले संघ र प्रदेशमा हुने निर्वाचनका लागि आइतबार साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने बताए । जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाइने उनको जिकिर थियो ।

कांग्रेसको जनमत अहिले पनि नघटेको बताउँदै सभापति देउवाले जनमतको कदर हुने गरी काम गरिने विश्वास व्यक्त गरे । भ्रातृ संगठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक १७, २०७६ १५:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×