पेट्रोलियम अन्वेषणले बढायो चहलपहल

ज्योति कटुवाल

(दैलेख) — पेट्रोलियम पदार्थको अन्वेषणका लागि चिनियाँसहित विशेषज्ञको टोली दैलेख पुगेपछि चहलपहल बढेको छ । ४० चिनियाँसहित मजदुरको टोली पेट्रोलियम पदार्थको उत्खननस्थल पुगेको हो । चिनियाँ टोली पुगेपछि सदरमुकामसहित चुप्रा बजार, श्रीस्थान, नाभिस्थान, दुल्लुलगायत क्षेत्रमा चहलपहल बढेको हो ।

पेट्रोलियम अन्वेषणले बढायो चहलपहल

टोलीका कारण खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्रीको व्यापार बढेको व्यवसायीको भनाइ छ । टोली आएपछि सदरमुकामका होटल भरिभराउ छन् । होटल पार्कइनकी सञ्चालक बास्ना थापाले होटलका १० वटै कोठा एक महिनाअघिदेखि बुक भएको बताइन् । ‘हाम्रो होटलमा बस्ने कोठा नभएपछि अन्य होटलमा व्यवस्थापन गरिएको छ,’ उनले भनिन्, ‘होटल मात्र होइन बजारका चोकचोकमा टोली आएपछि चहलपहल बढेको छ, व्यापार व्यवसाय फस्टाएको छ ।’


सदरमुकामकै पञ्चकोसी र मानसरोवर होटलले टोलीले भरिएपछि अन्य ग्राहक राख्न समस्या भएको जनाएका छन् । थापाले अन्वेषणको पहिलो चरणमै स्थानीय उत्साही भएको बताइन् । उत्खनन सफल भए दैलेखको आर्थिक विकासले फड्को मार्ने उनको भनाइ छ ।


अध्ययनका क्रममा टोलीले १५ किलोमिटर आसपासमा फैलिएको पेट्रोलियम पदार्थको पहिचान गर्नेछ । पञ्चकोसी क्षेत्रमा अन्वेषणको काम सुरु भइसकेको टोलीले जनाएको छ । प्रारम्भिक चरणको अध्ययन गरेको अनुसन्धान टोलीले तीन महिनासम्म अन्वेषणस्थलमै विभिन्न अनुसन्धानको काम गर्नेछ । अन्वेषणका लागि दुई स्थानमा प्राविधिक र कामदार बस्ने क्याम्प नै खडा गरिएको छ । डुंगेश्वर गाउँपालिका र दुल्लु नगपालिकामा क्याम्प निर्माणको काम अन्तिम चरणमा पुगेको छ । क्याम्पमा कामदार र प्राविधिकको टोली बस्नेछ भने विशेषज्ञ टोलीलाई सदरमुकामका होटलमा राखिएको छ ।


पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजनाका वरिष्ठ विभागीय भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले टोलीलाई अन्वेषणको कामका लागि चार समूह विभाजन गरेको बताए । उनका अनुसार तत्काल तीन समूहले संयुक्त रूपमा काम सुरु गरिसकेका छन् । जियोलोजीकल सर्भेका लागि १५ जनाको टोली खटाइएको छ भने म्याग्नेटो टेलरिङ सर्भेका लागि २२ जनाको टोली तैनाथ छ । जियोकेमिकलका लागि ६ जनाले काम सुरु गरिसकेको भूगर्भविद् त्रिपाठी बताउँछन् ।


अन्वेषणका लागि चाहिने सबै सामान आइपुगेको उनको भनाइ छ । कामदारका लागि चुप्रामा १५ टेन्ट निर्माण गरिएको छ भने ६ शौचालय र ८ धारा निर्माणाधीन अवस्थामा छन् । चिनियाँ टोलीसँगै ६० जना स्थानीय मजदुरले काम गर्ने त्रिपाठीले जानकारी दिए । अन्वेषणका लागि आवश्यक ड्रिल मेसिनसमेत दैलेख पुगेको उनले जनाए ।

उद्योग वाणिज्य संघका सदस्य अशोक थापाले ज्वाला निभ्ने पिरमा रहेका स्थानीयवासी बजारको चहलपहलले आशावादी बनेको बताए । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले विस्फोटक पदार्थ र अन्य सामग्रीको सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए । उनका अनुसार अन्वेषणका लागि चिनियाँसहित २०१ जनाको टोली दैलेख आइसकेको छ । एक साताभित्र थप एक सय जनाको टोली आइपुग्ने उनको भनाइ छ ।

चीनको चाइना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व वरिष्ठ भूगर्भविद् ट्यान फुएनले गरेका छन् । अन्वेषणका क्रममा अनुसन्धान टोलीले ग्यास तथा पेट्रोलियम पदार्थ भएको जमिनमुनि कम्तीमा ५ देखि २० किलोमिटरसम्म अध्ययन गर्ने जनाइएको छ ।


प्रदेशसभा सदस्य अमरबहादुर थापाले दैलेखमा पेट्रोलियम पदार्थको उत्खननले कर्णालीको विकासमा ठूलो टेवा पुग्ने बताए । ‘पेट्रोलियम पदार्थको उत्खननपछि रोजगारीका प्रशस्त ढोका खुल्नेछन्,’ उनले भने, ‘कर्णालीको आर्थिक विकासले फड्को मार्नेछ ।’


प्रकाशित : कार्तिक १८, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?