१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गानो कुहिने रोगले केरा खेती नष्ट

अर्जुन राजवंशी

(बिर्तामोड) — गानो कुहिने रोगले केराका बोट मर्न थालेपछि झापाको बाह्रदशी गाउँपालिकाका किसान चिन्तित बनेका छन् । करिब ५० बिघा जमिनमा गरिएको व्यावसायिक केरा खेतीमा ६ महिनायता गानो कुहिने रोग देखापरेको छ । 

सरुवा रोग भएकाले बगानका अरू केराका बोटमा रोग सर्ने क्रम बढ्दो छ । गानो कुहिन थालेपछि केराको पात पहेंलो हुन्छ । केही सयमपछि बोट नै सुकेर ढल्छ । ‘कुन रोग हो भन्ने नै पहिचान भएन,’ किसान कुलप्रसाद चिमरियाले भने, ‘रोग बढ्दै जाँदा हामीले जानेसम्मको उपचार गरिरहेका छौं तर रोकथाम भएको छैन ।’


रोग लागेको बोटमा फल लाग्दैन । फल लागिसकेपछि रोगले भेटायो भने फल फस्टाउँदैन/बढ्दैन । उक्त रोगले नयाँ बिरुवालाई समेत संक्रमित बनाउने गरेको चिमरियाले बताए । ‘हाम्रो खेतीमा १५० भन्दा बोटको गानो कुहिएको छ,’ अर्का स्थानीय लक्ष्मी चिमरियाले भने, ‘रोग नै पहिचान गर्न नसकिएकाले समस्या भइरहेको छ ।’


रोग पहिचानका लागि कृषि ज्ञान केन्द्रका कृषि अधिकृतहरूले पनि बगान अवलोकन गरेका छन् । उनीहरूले पनि रोग पहिचान गर्न नसकेको चिमरियाले बताए । ‘रोग पहिचान गर्न ज्ञान केन्द्रको सहयोगमा बोटसहित केराका नमुना भारतीय ल्याबमा परीक्षणका लागि पठाउन लागेका छौं,’ चिमरियाले भने ।


बाह्रदशी गाउँपालिका–७ बत्तीसबिघामा झापा र मोरङका २५ जना किसानले ४८ बिघा जमिन लिजमा लिएर व्यावसायिक केरा खेती गरिरहेका छन् । धान खेती मासेर किसानले केराका बोट लगाएका हुन् । केरा खेतीबाट प्रतिबिघा ४ लाख रुपैयाँ आम्दानी हुने गरेको चिमरियाले बताए । चिमरिया दाजुभाइले १० बिघा जमिन लिजमा लिएर केरा खेती गरेका छन् । उनीहरूले गत जेठदेखि साउन महिनासम्म ७ बिघा खेतीबाट २८ लाख रुपैयाँको केरा बिक्री गरे । उक्त आम्दानी लिन प्रतिबिघा लिजबापत ३५ हजार, २० रुपैयाँ गोटा बिरुवा, मल, पानी, औषधिलगायत गरी १२ लाख रुपैयाँ लगानी गरेको लक्ष्मी चिमरियाले बताए । बत्तीसबिघाका किसानले उत्पादन गरेको सबै केरा काठमाडौंका व्यापारीले खरिद गरेर लाने गरेका छन् । ‘हामीले केरा उत्पादन मात्र गरिदिनुपर्छ । काठमाडौंका व्यापारी बगानसम्मै आउँछन् । आफैं काट्छन् । ढुवानी र लोड–अनलोड खर्च आफैंले बेहोरेर केरा किनेर लान्छन्,’ किसान मिलन संग्रौलाले भने । आम्दानीको हिसाबले केरा खेती १ नम्बरको व्यवसाय भएको अर्का किसान भीमबहादुर वाग्लेले बताए । ‘आम्दानी राम्रो भएकाले यो वर्ष आसपासका किसानले थप ५० बिघा जमिनमा केरा खेती लगाउँदै छन्,’ उनले भने ।


गानो कुहिने रोग पहिचान गरेर समाधानको उपाय देखाइदिन किसान कुलप्रसाद चिमरियाले सरकारसँग माग गरे । ‘हामीलाई बरु अनुदान चाहिँदैन । सरकारले विशेषज्ञ प्राविधिकबाट यो कुन रोग हो, पहिचान गरिदियोस् । त्यसपछि के गर्दा रोग निर्मूल पार्न सकिन्छ उपाय देखाइदियोस्,’ चिमरियाले भने, ‘अहिलेको अवस्थामा यत्ति गरिदियो भने हामीलाई सरकारले लाखौं रुपैयाँको अनुदान दिएको सम्झिनेछौं ।’ केराको बोटमा अनौठो रोग देखापरेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत शेषराज पौडेलले बताए । उनले रोग पहिचान गर्ने कार्य भइरहेको बताए । ‘रोग पहिचान गरेर समाधान गर्नैपर्छ । नत्र, बगान सबै सखाप पारिदिन्छ,’ पौडेलले भने ।

प्रकाशित : कार्तिक १७, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?