२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

४२ प्रतिशत निजी घर पुनर्निर्माण बाँकी

एकैठाउँमा २ वटा घर भएका, जग्गाको विवाद, बहुस्वामित्व जस्ता समस्याले गर्दा पुनर्निर्माण सुरु हुन बाँकी छ
विमल खतिवडा

काठमाडौँ — भूकम्प गएको साढे चार वर्ष बितिसके पनि करिब ४२ प्रतिशत निजी घर पुनर्निर्माणको काम बाँकी छ । प्राधिकरणको सर्वेक्षणअनुसार ८ लाख १६ हजार ४ सय ५० निजी घरहरूमा भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । 

४२ प्रतिशत निजी घर पुनर्निर्माण बाँकी

यसमध्ये करिब ५८ प्रतिशत अर्थात् ४ लाख ७१ हजार ६ सय ९९ घरको निर्माण सम्पन्न भएको छ । अब करिब ४२ प्रतिशत (३ लाख ४४ हजार ८ सय ४१) घर बन्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सहरी क्षेत्रमा निर्माणको प्रगति केही कम देखिए पनि उपत्यका बाहिर भने तीव्र रूपमा काम भइरहेको छ ।


‘१४ महिना (०७७ पुस) भित्र निर्माणको काम सकिसक्नुपर्नेछ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने । ज्ञवालीका अनुसार अपांग, बालबालिका, ज्येष्ठ नागिरक मात्र भएका परिवारको घर पुनर्निर्माणका केही समस्या देखिएको छ । उनीहरूका लागि थप ५० हजार दिइनेछ । यसका लागि स्थानीय तह, गैरसरकारी संस्थासँग समन्वय गर्नुपर्ने हुन्छ । दोहोरोपन, नक्कली पीडितहरूको दाबीलगायत कारणले पनि कतिपय घरहरू बन्न नसक्ने र त्यो तथ्यांकमा हेर्दा प्रगति कम भएजस्तो देखिएको प्राधिकरणले जनाउँदै आएको छ । ‘लाभग्राही घर दोहोरिएका पनि हुन सक्छन् ।


कति घर बनेनन्

एकैठाउँमा २ वटा घर भएका, जग्गाको विवाद, बहुस्वामित्व जस्ता समस्याले गर्दा ठाउँठाउँमा पुनर्निर्माण सुरु हुन बाँकी छ । त्यस्तै सम्पदा झल्काउने निजी बस्तीहरूमा गुरुयोजना बनिरहेकाले त्यस्ता क्षेत्रमा घरहरू निर्माण सुरु हुन केही समय लाग्नेछ । केहीले पहिलो किस्ता बुझेर पनि घर बनाएका छैनन् । केहीले नक्कली पीडितका रूपमा समेत रकम बुझेका छन् । ‘यसबारे सबै बुझ्ने काम भइरहेको छ,’ उनले भने ।


निजी आवास पुनर्निर्माणमा १ खर्ब ५५ अर्ब ६५ करोड ४६ लाख खर्च भइसकेको छ । निजी आवासमा दोस्रो किस्ता लिने ७८ प्रतिशत र तेस्रो किस्ता लिने ६४ प्रतिशत छन् । समग्र पुनर्निर्माणमा अहिलेसम्म पौने ३ खर्ब खर्च भएको छ । निजी आवासतर्फ ७ लाख ७६ हजार ९ सय १६ ले अनुदान सम्झौता गरेका छन् । अहिलेसम्म पहिलो किस्ता लिने ७ लाख ६८ हजार ५ सय ५५, दोस्रो किस्ता लिने ६ लाख १२ हजार ३ सय ९७ र तेस्रो किस्ता ५ लाख ९ हजार ८ सय ८६ रहेको छ ।


अति प्रभावित १४ र कम प्रभावित १८ जिल्ला छन् । भूकम्प प्रभावित ३१ जिल्लामा ५८ प्रतिशत घर पुनर्निर्माण सम्पन्न भए पनि ललितपुरमा ३२ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । ज्ञवालीका अनुसार अहिलेसम्म सम्पदा निर्माणको काम ४० प्रतिशत मात्र भएको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?