कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गहुँ छर्ने सिजनमा मल अभाव

निर्मला खडायत

(धनगढी) — धान भित्र्याएर गहुँ छर्ने बेला सुदूरपश्चिममा रासायनिक मलको अभाव भएको छ । किसानहरू हिउँदेबालीका लागि मल खोज्न कृषि सामग्री र साल्ट ट्रेडिङका गोदाम धाइरहेका छन् । ‘हिउँदे बाली लगाउने समयमा मलको अभाव देखिएको छ,’ धनगढी उपमहानगरपालिका राजपुरका भानु रानाले भने, ‘जहिल्यै अभाव हुने गरेको छ, समयमा मल नपाउँदा सीमापारिबाट ल्याएको गुणस्तरहीन मलको भर पर्नुपर्छ ।’ 

गहुँ छर्ने सिजनमा मल अभाव

आवश्यकताअनुसार किसानहरूले कुनै पनि खेतीको सिजनमा मल नपाउने गरेको उनको भनाइ छ । प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने कुरा गरे पनि त्यसका लागि कुनै पनि काम गर्न नसकेको उनले बताए । ‘कृषिको नाममा करोडौं रकम बजेट छुट्याएका छन् । किसानहरूले भने चाहेको समयमा मल नै पाउँदैनन्,’ भानुले भने, ‘खेतीका बेला यहाँ नपाएपछि भारतीय बजारको गुणस्तरहीन मल प्रयोग गर्दा बर्सेनि उत्पादन कम हुन थालेको छ ।’


खेतीका बेला मल नपाएपछि किसान चिन्तित छन् । प्रदेशमा प्रत्येक वर्ष १५ हजार टन युरिया र १० हजार टन डीएपीको आवश्यकता हुन्छ । कैलालीको जोशीपुरका लालसिंह कठरियाले सहकारीका लागि मल लिन आउँदा जहिले पनि उस्तै समस्या भोग्दै आएको सुनाए । ‘किसानहरूले सहकारीमा मलको लागि धर्ना दिएर बसेका छन् । यहाँ आउँदा मल छैन भनेर फर्काइदिन्छन्,’ उनले भने, ‘किसानहरूले समयमा मल, उन्नत बीउ र सिँचाइ सुविधा पाउन सकेका छैनन् ।’


धान बाली भित्र्याएपछि गहुँ, तोरी, मसुरो, आलु लगायत हिउँदे बाली लगाउने समयमा मलको अभाव भएको हो । ‘युरिया त पाइयो । तर, डीएपी पाइएन,’ स्थानीय नवीन कुँवरले भने, ‘सरकारले किसानहरूको समस्या कहिल्यै बुझ्ने भएन । खेतीका बेला मल, बीउ र सिँचाइको अभाव हुँदा जहिल्यै उत्पादन घट्ने चिन्ताले पिरोल्ने गरेको छ ।’


यो वर्ष सुदूरपश्चिम प्रदेशमा ९ हजार टन युरिया र ७ हजार टन डीएपी ल्याइएको थियो । प्रदेशका ९ वटै जिल्लाका लागि १५ हजार टन युरिया र १० हजार टन डीएपी माग गरिएको थियो । त्यसको ७० प्रतिशत पनि आपूर्ति नहुँदा अभाव भएको हो । रासायनिक मलको मौज्दात सकिएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए । ‘कात्तिक मसान्ततिर कार्यालयमा डिएपी ल्याइनेछ । त्यसपछि सबै किसानले मल पाउनेछन्,’ प्रमुख बोगटीले भने । कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशमा चालु आर्थिक वर्षमा ९ हजार १७ टन युरिया र ६ हजार १ सय ४ टन डीएपी बिक्री वितरण गरेको जनाएको छ । ६८० टन युरिया र २ हजार ५ सय टन डीएपी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीलाई वितरण गरेको छ ।


प्रकाशित : कार्तिक १५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?