नेप्सेमा तीन अंकको गिरावट

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सवा ३ अंकले घट्यो । बिहीबार तिहारपछिको पहिलो कारोबार दिन हो ।

नेप्सेमा तीन अंकको गिरावट

गत बिहीबार (तिहारअघि) करिब ७ अंकले बढेर १ हजार १ सय ४९.३४ अंकमा बन्द भएको नेप्से बिहीबार ०.२८ प्रतिशतले घटेर १ हजार १ सय ४६.१७ विन्दुमा ओर्लेको हो ।


चाडपर्वका कारण तिहारअघि नेप्से अपेक्षित रूपमा बढ्न सकेको थिएन । तिहारपछि भने सुधार हुने अपेक्षा गरिएको थियो । बिहीबार बजारमा अपेक्षा विपरीत प्रवृत्ति देखियो । यसकारण सेयर लगानीकर्ता उत्साहित हुन नसकेको ब्रोकरहरू बताउँछन् । बिहीबार तिहार बिदा पछिको पहिलो कारोबार भएकाले बढ्न नसके पनि आउँदा दिनमा नेप्सेले सुधारको बाटो समात्ने अर्का थरीको विश्लेषण छ ।


बिहीबार कारोबारमध्ये होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से बढ्न नसकेको हो । सो दिन होटल समूहको परिसूचक ०.३९, विकास बैंकको ०.१३, उत्पादन तथा प्रशोधनको ०.५८ र ‘अन्य’ का ०.५८ प्रतिशतले बढे ।


सामूहिक लगानी कोष समूहको परिसूचक सबैभन्दा बढी २.५४ प्रतिशतले ऋणात्मक रह्यो । सो दिन बैंकिङ, जलविद्युत्, वित्त, निर्जीवन बिमा, लघुवित्त र जीवन बिमा समूहका परिसूचक १ प्रतिशतभन्दा कमले घटे ।


बिहीबार करिब साढे ३ हजार कारोबारबाट १ सय ५५ कम्पनीका १० लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ । सो किनबेचबाट २५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब २२ प्रतिशतले कम हो । गत बिहीबार ३२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।


नेप्सेको गिरावटसँगै कुल बजार पुँजीकरण पनि घटेर १४ खर्ब ५६ अर्ब रुपैयाँ कायमा भएको नेप्सेको तथ्यांक छ ।

प्रकाशित : कार्तिक १४, २०७६ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?