११ सय २१ महिला उद्यमीले पाए सहुलियतको कर्जा

सरकारले सात प्रकारका कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिँदै आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्म कुल १९ हजार ५ सय २८ ऋणीले ३६ अर्ब ८४ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त गरेका छन् ।
यज्ञ बञ्जाडे

काठमाडौँ — १ हजार १ सय २१ जना महिला उद्यमीले सहुलियत दरको उद्यमशील कर्जा पाएका छन् । गत भदौसम्ममा ७६ करोड ७६ लाख रुपैयाँ कर्जा प्राप्त गरेका हुन् । यो कर्जामा सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिन्छ । बैंक तथा वित्तीय संस्थाले तोकेको ब्याजदरमा महिलाले पाँच प्रतिशत घटाएर बाँकी ब्याज मात्र तिर्नुपर्छ ।

महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेको हो । यो कार्यक्रमअन्तर्गत महिलाले १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित सात प्रकारका कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिँदै आएको छ । कृषि कर्जा पुरानै हो । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा ब्याज अनुदान दिने कार्यक्रम ०७३ मै आएको हो । सरकारले उक्त कर्जालाई पनि एकै ठाउँमा समेटेर गत वर्ष सात वटा कर्जामा सहुलियत दिने एकीकृत कार्यक्रम बनाएको थियो ।

सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । त्यसको केही महिनापछि मात्र उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । कृषिबाहेकका ६ वटा कर्जामध्ये सबैभन्दा बढी महिला उद्यमीका लागि प्रवाह भएको हो । गत असारसम्म ७ सय ९६ महिलाले उक्त कर्जा प्राप्त गरेका थिए । महिला उद्यमशील कर्जा अरूभन्दा धेरै प्रभावकारी देखिएको राष्ट्र बैंकको विश्लेषण छ ।

भदौसम्म १ हजार ५ सय ३५ जनाले ९२ करोड ५७ लाख रुपैयाँ मात्र कृषिबाहेकका क्षेत्रमा सहुलियत ऋण पाएका छन् । यसलाई अपेक्षाभन्दा धेरै कम रहेको राष्ट्र बैंकले जनाएको छ । अपेक्षाअनुसार ऋण प्रवाह नभएपछि कृषि, ऊर्जा र पर्यटनमा जस्तै सहुलियतपूर्ण कर्जामा पनि सीमा तोक्ने विषयमा राष्ट्र बैंकमा छलफल सुरु भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्म कुल १९ हजार ५ सय २८ ऋणीले ३६ अर्ब ८४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त गरेका छन् । सातवटै शीर्षकमा सबै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण हो । जसमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा मात्र १७ हजार ९ सय ९३ ऋणीले ३५ अर्ब ९१ करोड रुपैयाँ प्रवाह भएको छ ।

शिक्षित युवा स्वरोजगार कर्जा ३० ऋणीलाई १ करोड ५७ लाख, विदेशबाट फर्केका युवा परियोजनामा ६४ ऋणीलाई ४ करोड ५१ लाख, दलित समुदाय व्यवासाय विकासमा ९४ ऋणीलाई ५ करोड, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षामा ६५ ऋणीलाई १ करोड ५९ लाख र भूकम्पपीडितको निजी आवास निर्माणमा १ सय ६१ ऋणीलाई ३ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षसम्मको छ । कर्जाको अवधि व्यवसायको प्रकृतिअनुसार बैंक तथा वित्तीय संस्थाले तोक्न सक्ने छुट पनि सरकारले दिएको छ । कार्यविधिअनुसार सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्नेछ । यस्तो कर्जामा कर्जाको ब्याजभन्दा बाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन पाइँदैन ।

यसरी प्रवाह भएको कर्जाको अनिवार्य रूपमा बिमा (सुरक्षण) हुन्छ । कर्जाको सुरक्षणमा लाग्ने खर्च (शुल्क) मध्ये बैंकले २५ प्रतिशत र सरकारले ७५ प्रतिशत अनुदान दिन्छ । व्यावसायिक कर्जाको हकमा पनि सम्बन्धित उद्योग तथा व्यवसायको बिमा अनिवार्य रूपमा हुन्छ । यस्तो बिमामा पनि कुल प्रिमियम (बिमा शुल्क) को ७५ प्रतिशत सरकारले र २५ प्रतिशत मात्र सम्बन्धित व्यवसायीले भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

ब्याज अनुदानसम्बन्धी कर्जा सुविधा लिएका ऋणीले समयमै भुक्तानी गर्नुपर्नेछ । समयमै कर्जा भुक्तानी नगरेको अवस्थामा कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने, ऋणीको पासपोर्ट रोक्का, ऋणको नाममा रहेको चलअचल सम्पत्ति बित्रीमा बन्देज, बैंकमा खाता रोक्कालगायत सरकारी सुविधाबाट वञ्चित हुनेसम्म कारबाही हुने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित : कार्तिक १४, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

सातै प्रदेशका स्मारिका सिक्का निकालिने

यज्ञ बञ्जाडे

काठमाडौँ — राष्ट्र बैंकले सात वटै प्रदेशको स्मारिका सिक्का निकाल्ने भएको छ । हरेक प्रदेशका राष्ट्रिय विभूति, आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदामध्ये कुनै एक अंकित गरी स्मारिका सिक्का निकाल्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।

मुलुक संघीयतामा गएपछि बनेका प्रदेशको पहिचान र प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यले स्मारिका सिक्का छाप्ने योजना बनेको राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए । ‘हरेक प्रदेशका स्मारिका सिक्का फरकफरक हुन सक्छन्,’ उनले भने, ‘सम्बन्धित प्रदेशमा विशेष महत्त्व राख्ने विषय वस्तु अंकित गरेर सिक्का निकालिनेछ ।’

सिक्का निष्कासनअघि यसबारे सम्बन्धित प्रदेशको पनि राय मागिने उनले बताए । ‘सिक्कामा अंकित विषयवस्तु विवादित नहोस्,’ उनले थपे, ‘हाम्रो उद्देश्य स्मारिका सिक्कामार्फत हरेक प्रदेशको पहिचान देश विदेशमा प्रचारप्रसार होस् भन्ने हो ।’

सुरुमा किप्रोनिकल धातु (कपर र निकल मिश्रित) बाट १ सय रुपैयाँ अंकित सिक्का बनाइने र मागअनुसार त्यसलाई बढाउँदै लैजाने राष्ट्र बैंकले बताएको छ । तिहारलगत्तै स्मारिका सिक्का बनाउने योजना रहे पनि प्राविधिक कारणले ढिलाइ हुन सक्ने आचार्यले बताए । ‘सुन्धारा स्थित टक्सारबाट सिक्का बनाउने गरिएकामा हाल उक्त स्थान धरहरा निर्माणमा उपयोग हुँदै छ ।

यसकारण अब यो स्थान छोड्नुपर्ने भएको छ । अर्को ठाउँमा गएर मेसिन जडान गर्न कति समय लाग्छ । त्यसकै आधारमा स्मारिका सिक्का निर्माणका लागि समय तोकिने उनले बताए । राष्ट्र बैंकले यो वर्षदेखि बबरमहलबाट असर्फीलगायत अन्य सिक्का बिक्री गर्दै आएको छ । सिक्का छाप्नका लागि पनि सोही स्थानमा मेसिन जडान गर्ने राष्ट्र बैंकको तयारी छ ।

‘यसका लागि सरकारको अनुमति चाहिन्छ,’ स्रोतले भन्यो, ‘हेरै कति छिटो प्रक्रिया पूरा हुन्छ ? सामान्य आधारमा कुनै संस्था वा कम्पनीको आग्रह र स्मारिका सिक्का निकालिन्छ । प्रदेशका स्मारिका सिक्का राष्ट्र बैंक अफैंले बनाउन लागेको हो । ती सिक्का राष्ट्र बैंकले बिक्री गर्नेछ ।

राष्ट्र बैंकले धेरै पहिलेदेखि नै स्मारिका सिक्का निकाल्दै आएको हो । स्मारिका सिक्का निष्कासन गर्दा सरकारको अनुमति चाहिन्छ । यस्ता सिक्कामा राष्ट्रिय विभूति वा सरकारबाट अनुरोध भई आएका व्यक्तित्वसँग सम्बन्धित विषयवस्तु राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धि अंकित गरिन्छ ।

आर्थिक, सामाजिक वा सांस्कृतिक क्षेत्रमा क्रियाशील रही योगदान पुर्‍याउँदै आएको कुनै कम्पनी, संघ, संस्थाको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धिसँग सम्बन्धित विषयवस्तु पनि सिक्कामा अंकित गरिएको हुन्छ । विशेष आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदालगायत पनि स्मारिका सिक्कामा अंकित गरिएको हुन्छ । चाँदीलगायत अन्य धातु वा धातु सम्मिश्रण गरी स्मारिका सिक्का बनाइन्छ ।

स्मारिका सिक्का पनि अंकित मूल्यमा बिक्री गरिन्छ । यस्तो सिक्का एकपटक बनाएपछि पुन: निर्माण (टकमरी) गरिँदैन । एकपटक निर्माण गरिएको स्मारिका सिक्का बिक्री नभई बाँकी रहेको अवस्थामा त्यस्तो सिक्काको टकमरी गरिएको मितिले १० वर्षमा पुनर्मूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यो वर्ष राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशी, गुरु नानकदेव र धितोपत्र बोर्ड अंकित स्मारिका सिक्का निकालेको छ । २५ औं वार्षिकोत्सवको अवसरमा धितोपत्र बोर्ड अंकित २५ सय र १ सय दरका चाँदीका स्मारिका सिक्का निकालिएको थियो ।

संस्कृतिविद् सत्यमोहन जोशी र गुरु नानकदेव अंकित सिक्का पनि २५ सय, हजार र १ सय दरका छन् । यो वर्षको तिहारमा यी सिक्काको माग धेरै भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले असर्फी र मेडालियन सिक्का पनि बनाउँदै आएको छ ।

‘मेडालियन’ भन्नाले आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले टकमारी (निर्माण) गरिने सिक्का हो । हाल लक्ष्मी, गणेश र लक्ष्मी प्लस गणेश चित्र भएका सिक्काको माग धेरै रहेको बताइएको छ । यी सिक्कामा अंकित मूल्य उल्लेख हुन्छ । सोही दरमा सिक्का खरिद गर्न सकिन्छ ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्