कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१५ करोडको फूल कारोबार

नुमा थाम्सुहाङ

काठमाडौँ — यो वर्षको तिहारमा १५ करोड रुपैयाँको तयारी फूलको कारोबार भएको छ । गत सालभन्दा यो वर्ष फूलको माग र खपत बढेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले दिएको जानकारीअनुसार २९ लाख वटा तयारी माला बिक्री भएको छ । गत वर्ष २२ लाख बिक्री भएको फ्यानका महासचिव विश्वमणि पोखरेलले बताए । 

आफ्नो घाँटीका लागि मात्र नभई घर, अफिस, पसल सजाउनलाई पनि फूलको प्रयोग गरिने हुनाले फूलको माग बर्सेनि बढ्दो रहेको उनले सुनाए । ‘अघिल्लो वर्ष १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो वर्ष १३ करोड रुपैयाँ बराबरको २५ लाख फूलको माग हुने अनुमान गरेका थियौं,’ उनले भने, ‘तर, माग र कारोबार बढ्यो ।’


२ लाख २५ हजार वटा भारतीय माला आयात हुने अनुमान थियो । ‘शनिबारसम्म ७ लाख वटा माला आयात भएको थियो, जसमा डेढ लाख माला खेर गएको छ,’ उनले भने । शनिबार आउनुपर्ने माला शुक्रबार नै बजारमा आएकाले र भारतीय माला कोल्ड स्टोरजमा राखेर बिक्री गरिने हुनाले खेर गएको उनले बताए । नेपाली फूल उत्पादनका किसानहरूलाई संगठित गर्न सके नेपाली उत्पादनले नै फूलको बजार धान्ने उनको भनाइ छ । नेपालको २२ जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ । गोदावरी र मखमली काठमाडौं उपत्याकाभित्र उत्पादन हुन्छ । यो तिहारमा २० हजार गोदावरी र ७ लाख वटा मखमलीका माला बिक्री भएको छ ।


भारतीय फूलको मालाको मूल्य ६० रुपैयाँ रहे पनि ५०/४० रुपैयाँसम्म बिक्री गरिएको थियो । ‘नेपाली फूलको मालाको होलसेल मूल्य ४५ रुपैयाँ रहेकामा खुद्रा मूल्य ६० रुपैयाँ तोकेका थियौं । त्यसमा व्यापारीहरूले पनि त्यही दरमा बिक्री गरेका थिए,’ उनले भने । ‘नेपाली किसानहरू बजारमा घुल्न सकेका छैनन् । आफैंले सामान बजारमा ल्याएर बेच्छन्,’ उनले थपे, ‘जसले गर्दा खुद्रा व्यापारीले नेपाली फूल किनेर बेच्न खोज्दा फूल छैन भन्छन् । होलसेलमा भन्दा बाहिर खुद्रामा बेच्दा बढी फाइदा लिने लोभले पनि प्रभाव पारेको छ ।’

प्रकाशित : कार्तिक १४, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?