कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चाडवाडका लागि करिव २ अर्ब रुपैयाँको स्याउ मात्रै आयत

मूल्य मनपरी, अनुगमन शून्य
राजु चौधरी

पछिल्ला तीन महिनामा तिहार लक्षित ५ अर्ब ९ करोड रुपैयाँको सामग्री आयात भएको छ  । सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत वस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ  ।

चाडवाडका लागि करिव २ अर्ब रुपैयाँको स्याउ मात्रै आयत

(काठमाडौं) - पछिल्ला तीन महिनामा तिहार लक्षित ५ अर्ब ९ करोड रुपैयाँको सामग्री आयात भएको छ । सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत वस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १ अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३ अर्ब ७५ करोड रुपैयाँको तिहार सामग्री आयात भएको थियो ।
ती सामग्री भारत, चीन, थाइल्यान्ड, अमेरिका, क्यानडा लगायतबाट आयात भएको विभागले जनाएको छ । सबैभन्दा बढी स्याउको आयात भएको छ । ३ महिनाको अवधिमा १ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको स्याउ आयात भएको छ । अघिल्लो वर्षको तिहारमा १ अर्ब ७२ करोड रुपैयाँको स्याउ आयात भएको तथ्यांकमा छ ।
व्यवसायीका अनुसार स्वदेशी उत्पादनले मागको करिब १५ प्रतिशत मात्रै धान्छ । जसले गर्दा आयातमै निर्भर हुनु परेको फलफूल थोक व्यवसायी सघले जनाएको छ । ‘तिहारमा दैनिक ३ करोडभन्दा बढीको फलफूल आवश्यक पर्छ,’ संघका कोषाध्यक्ष काशीराम सापकोटाले भने, ‘२ महिना उत्पादन हुने स्याउले मागको करिब १५ प्रतिशत मात्रै धान्छ ।’ पछिल्लो समय मुस्ताङ/जुम्लाको स्याउले पनि बजार पाएको छ । तर, बजारीकरण नहुँदा बजारको पहुँच पुग्न सकेको छैन ।
विभागको तथ्यांकअनुसार सुन्तलाको आयात पनि उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार ३ महिनाको अवधिमा ४० करोड ४७ लाख रुपैयाँको सुन्तला आयात भएको छ । अघिल्लो वर्षको पहिलो ३ महिनामा ११ करोड रुपैयाँको आयात भएको थियो । जानकारका अनुसार सुन्तला उत्पदन मंसिरदेखि पुसको अन्तिमसम्म हुन्छ । माग भने भदौदेखि हुन्छ । जसले गर्दा आयात बढ्छ । सुन्तलाको कुल क्षेत्रफल २७ हजार १ सय ५० हेक्टर हो ।
उत्पादनशील क्षेत्रफल १६ हजार १ सय ५५ हेक्टर हो । उक्त क्षेत्रफलबाट गत वर्ष १ लाख ६१ हजार ४ सय ३४ टन उत्पादन भएको थियो । तर, उत्पादन पर्याप्त छैन । उक्त उत्पादनले मागको करिब १५ प्रतिशत मात्रै पूर्ति गर्ने कृषि विभागका अधिकारीहरू बताउँछन् । अमिलो फलफूल खरिदमा ३८ करोड ६६ लाख रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्ष ३४ करोड ७० लाख रुपैयाँको आयात भएको थियो ।
केराको आयात भने केही घटेको छ । ३ महिनाको अवधिमा ३९ करोड ७६ लाख रुपैयाँको केरा आयात भएको छ । अघिल्लो वर्षको पहिलो ३ महिनामा ४१ करोड १६ लाख रुपैयाँको केरा आयात भएको थियो । आयातित फलफूल बल्खु र कालीमाटी व्यवसायीले खरिद गरी बिक्री गर्छन् ।
तथ्यांकअनुसार ओखर खरिदमा २३ करोड ३१ लाख रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तिहारमा ६ करोड रुपैयाँको आयात थियो । बदाम तथा अलमन्डमा २१ करोड १८ लाख रुपैयाँको बाहिरिएको छ । अघिल्लो वर्ष १३ करोड ८६ लाख रुपैयाँको आयात भएको थियो ।


६ करोड ६१ लाख रुपैयाँको किसमिस आयात भएको थियो । अघिल्लो वर्षको ३ महिनामा ५ करोड ६५ लाख रुपैयाँको आयात भएको थियो । सुपारी आयातमा २७ करोड ६९ लाख रुपैयाँ बाहिरिएको छ । ३ महिनाको अवधिमा १० करोड रुपैयाँको पिस्ता आयात भएको छ ।
अघिल्लो वर्षको तीन महिनामा २ करोड ८२ लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, ३ महिनाको अवधिमा २६ करोड ८४ लाख रुपैयाँको नरिवल आयात भएको छ । अघिल्लो वर्षको ३ महिनामा २३ करोड ७८ लाख रुपैयाँको आयात भएको थियो । काजु खरिदमा ३४ करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्ष २७ करोड ८४ लाख रुपैयाँको आयात भएको थियो । आयातति वस्तुको मूल्य मनोमानी रूपमा बिक्री भए पनि तिहार लक्षित बजार अनुगमन भएन ।
मूल्यको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सरक्षण विभागले अनुगमन गर्ने हो । गुणस्तरको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्नुपर्छ । तर, यी निकायले अनुगमनमा चासो नदिँदा उपभोक्ता ठगिएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । ‘बजारमा चर्को मूल्य असुले पनि सरकारी निकाय मौन बसे,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘सरकारको गैरजिम्मेवारीले उपभोक्ताप्रति अन्याय भयो ।’

प्रकाशित : कार्तिक १५, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?