१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

धानमा नेकब्लास्ट र फड्के किरा

हरिराम उप्रेती

गोरखा — भित्र्याउने बेला धानमा समस्या देखिएपछि यहाँका किसान निराश बनेका छन्  । पालुङटार नगरपालिका–९ खारखोला फाँट क्षेत्रका धान खेतमा नेकब्लास्ट (धानको बालामुन्तिर डढुवा) देखिएको छ  ।

पालुङटार नगरपालिका–५ गौंडाबगरमा खैरे फड्के किराले धान बाली सखाप पारेको छ । खारखोला फाँटको झन्डै ५ सय रोपनीमा साता दिनअघि आंशिक रूपमा देखिएको डढुवा (धानको बालामुन्तिर कालो दाग बस्ने) फैलँदै गएको किसानले बताए ।

सावित्री जातको धानमा यस्तो समस्या देखिएको हो । ३ वर्षदेखि डढुवा देखापर्न थालेको पालुङटार–९ पारिडिहीका किसान उमेश ढकालले बताए । चार रोपनी क्षेत्रफलमा धान खेती गरेका ढकालले यस वर्ष आधा उब्जनी पनि भित्र्याउन नपाउने गुनासो गरे । ‘अहिलै पूर्ण क्षति भन्न मिल्दैन, डढुवा आंशिक देखापरेको छ,’ उनले भने, ‘दिनदिनै बढ्दै जाँदो रहेछ ।’ बाला लाग्ने बेला यस्तो समस्या देखापरेको उनले बताए । ‘धानको घाँटी नै कालो हुन्छ काटेर पाँजा सुकाएपछि ठुन्किएर झर्छ, यसले दाना पनि लाग्न नदिँदो रहेछ,’ उनले भने । एकपछि अर्को गरामा रोग सर्दै गएको उनले बताए । हावाबाट पनि सर्ने उनको भनाइ छ ।

यस वर्ष उक्त क्षेत्रका किसानले चैतेधान भित्र्याउन पाएनन् । ‘बाला झुल्ने बेला झुलेको जस्तो देखिने तर दाना नलाग्ने सबै भुस हुने,’ उनले भने, ‘यतिका दुःख परालका लागि मात्र गरेजस्तो भयो ।’ फाँटको धौखोला दोभानदेखि चुतीखोला दोभानसम्मका क्षेत्रमा नेकब्लास्ट देखिएको उनले बताए । झन्डै एक सय बढी किसान प्रभावित बनेका छन् ।

‘हाइब्रिड धान लगाएका छिमेकीको धान पाकिसकेको छ, काट्न पनि थालेका छन्, त्यति समस्या छैन,’ उनले भने, ‘सावित्री जातको धान भर्खरै झुलेको छ, यही बेला रोग फैलियो ।’ रोगका कारण उब्जनी आधा कम हुने उनले बताए । ‘कृषि कार्यालयले सिफारिस गरेको हल्डिनाथ १ भन्ने धान ३ वर्षअघि लगाउँदा रोग भित्रियो,’ उनले भने, ‘त्यसयता राम्रोसँग धान भित्र्याउन पाएका छैनौँ, गत वर्ष चैते धानमा यस्तै समस्या थियो, धान नकाटी जोत्न नमिल्ने पराल काटेर बगरमा फाल्नुपर्‍यो ।’ दुईदेखि १५ रोपनी क्षेत्रफलमा धान खेती लगाएर वर्ष दिनभरि गुजारा गर्ने किसान भित्र्याउने बेलाको धान खेतीमा समस्या आएपछि चिन्तित बनेको उनले बताए ।

कृषि प्राविधिकले बाला झुल्नुअगावै विषादीको प्रयोग गर्न सुझाव दिएका छन् । तर, बाला झुलिसकेकाले यस वर्ष उपचार सम्भव भएन । किसानको गुनासोपछि आइतबार उक्त क्षेत्रमा कृषि ज्ञान केन्द्रका प्राविधिकले स्थलगत अध्ययन गरे । रोग परम्परागत भएको कृषि प्रसार अधिकृत भवनाथ देवकोटा बताउँछन् ।

स्थलगत रूपमा हेर्दा १० प्रतिशतमा नेकब्लास्ट देखिएको उनले बताए । ‘सावित्री धान छठपछि मात्र काट्ने हो, अहिले झुल्ने बेला छ,’ उनले भने, ‘यो फैलँदै जान्छ, यसले अझै नोक्सान गर्ला ।’ धान झुलेपछि विषादी नलाग्ने उनले प्रस्टाए । उनले भने, ‘उत्पादन भएको त्यही दाना बीउ भण्डारण गरे, ब्याड राख्दा त्यही बीउ प्रयोग भयो, बीउ नै रोगी पनि भयो ।’ आगामी वर्ष बीउ राख्ने बेलादेखि नै स्वच्छ बीउ राख्न र झुल्नु आगावै विषादीको प्रयोग गर्न उनले सुझाए ।

गौंडाबगर फाँटमा खैरो फड्के किराले धान सखाप पारेको छ । करिब ३२५ रोपनीमा यस्तो समस्या देखापरेको स्थानीय किसान निर्मल श्रेष्ठले बताए । ‘फाँटै सखापै बनायो,’ श्रेष्ठले भने, ‘धानको बोटै खाइदियो ।’ गरिमा जातको धानमा समस्या देखापरेको उनको भनाइ छ । ‘राम्रो फल्छ भनेर रैथाने बीउ नलगाई बजारबाट किनेर लगायौं,’ उनले भने, ‘अहिले दुःख भयो, केहीले आधा उब्जनी भित्र्याए, केहीमा बाला लागेन, बाला नपसाएको ६० रोपनी जतिमा आगो लगाउने तयारी हुँदै छ ।’

करिब ७० किसानले यस वर्ष धान खेतमा यस्तो समस्या देखिएको उनले बताए । ७५ प्रतिशत धान बाली नोक्सान भएको कृषि प्रसार अधिकारी देवकोटाले बताए । ‘किराले चुसिदिएपछि दाना फोस्रो हुन्छ,’ उनले भने । उक्त किरा नियन्त्रणमा समस्या देखिएको उनले बताए । ‘यस किरालाई नियन्त्रणभन्दा पनि व्यवस्थापन गर्न सकिन्छ, पानी हुँदा फेदमा फुल पार्छ, पानी लगाउने सुकाउने गरेर व्यवस्थापन गर्न सकिन्थ्यो,’ उनले भने ।

प्रकाशित : कार्तिक १०, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?